ओली समूहमा ‘नेम्वाङ’ प्रवृति

ओली समूहमा ‘नेम्वाङ’ प्रवृति

दुई वटा संविधानसभाको अध्यक्ष भएर आफ्नै कार्यकालमा संविधान जारी गराउनुभएका सुवासचन्द्र नेम्वाङ सबैको स्वीकार्य र सम्मानित पात्र हुनुपर्ने हो । तर, अहिले उहाँ नेपाली राजनीतिमा सबैभन्दा आलोचित पात्र बन्नुभएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध सिंगो मुलुक आन्दोलित हुँदा नेम्वाङ भने बालुवाटारमा आफ्नो राजनीतिक भविष्यको हिसाबकिताब गरिरहनुभएको थियो । उहाँ संविधानको रक्षार्थभन्दा आफ्नो राजनीतिक भविष्यको रक्षार्थ उत्रिएको देखियो ।

प्रतिनिधिसभा विघटन सम्बन्धमा आफ्नै पुरानो अभिव्यक्तिको खण्डन हुने गरी प्रधानमन्त्री केपी ओलीको पक्षमा उभिँदै उहाँ दोधारे र अस्पष्ट कुरा गर्दै पन्छिनुभयो । अदालतमा विचाराधीन मुद्दामाथि टिप्पणी नगर्ने भनी तर्किंदै आए पनि नेम्वाङले फैसलापछि समेत त्यस्तै दोधारे,अस्पष्ट र अलमले कुरा गरिरहेको पाइन्छ ।

कतिपयले ओली समूहमा नेम्वाङ एउटा पात्र नभई चरित्रकै रुपमा विकास भैसकेको बताउन थालेका छन् । केपी ओलीलाई खुशी बनाएर आफ्नो राजनीति टिकाउन गम्भीर संवैधानिक प्रश्नमा पनि दोधारे कुरा गर्ने नेम्वाङजस्तै अरु पनि ओली समूहमा रहेको बताइन्छ । प्रधानमन्त्री ओलीका कानूनी सल्लाहकार अग्नि खरेल र सरकारको समेत प्रवक्ता रहेका ओली समूहका प्रवक्ता प्रदीप ज्ञवाली मौसमी कुरा गरेर नेता खुशी बनाउने प्रतिस्पर्धामा रहनुभएको देखिन्छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सम्भावित फैसलाबारे बोल्दै ज्ञवालीले संसद पुनर्स्थापना भएमा प्रधानमन्त्रीलगायत आफूहरू ‘मोरल्ली’ पदमा नरहने बताउनुभएको थियो । एपी वान टेलिभिजनसँग मन्त्री ज्ञवालीले संसद पुनर्स्थापनालाई काल्पनिक ठहर गर्दै ‘त्यसपछि प्रधानमन्त्री रहनुहुन्न, त्यो स्वाभाविक हो । मोरल्ली उहाँलाई रहन मिल्दैन, हामी पनि मोरल्ली रहँदैनौं । किनभने यी सबै प्रक्रियामा हामी पनि सहभागी छौं’ भन्नुभएको थियो ।

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला आएको २४ घण्टा बितिसक्दा समेत मन्त्री ज्ञवालीले केही समयअघि दाबी गरेजस्तो ‘मोरल ग्राउण्ड’ देखिएको छैन । उल्टै बालुवाटारका सल्लाहकारहरूले सामाजिक सञ्जालमा प्रधानमन्त्रीले संसदमा फेस गर्ने चुनौती दिन थालेका छन् ।

प्रधानमन्त्रीलाई मोरल्ली पदमा रहन नमिल्ने बताएका ज्ञवालीले आज नेम्वाङ र खरेलले जस्तै बोली फेर्नुभएको छ । आफ्नो भविश्यलाई ध्यानमा राखेर प्रधानमन्त्रीमा ओलीको विकल्प नदेखेपछि ज्ञवालीले राजीनामा दिनु नपर्ने आशय व्यक्त गरेको बताइन्छ । प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मागप्रति कुटिल जवाफ फर्काउँदै ज्ञवालीले उचित समयमा निर्णय गरिने अमूर्त कुरा गर्नुभएको छ । ‘प्रधानमन्त्रीले राजीनामा दिनेमात्र भन्दा पनि राजीनामा दिएपछिको सम्भावित अवस्था मूल्याङ्कन गरेर निर्णय गर्छौँ,’ ज्ञवालीले ओली समूहको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा भन्नुभएको हो ।

टिप्पणीहरू