सेयर दलाल र ठूला लगानीकर्ताले सेयर बजार घटाए

सेयर दलाल र ठूला लगानीकर्ताले सेयर बजार घटाए

सेयर बजारमा कुनै समस्या नहुँदा पनि आजको कारोबारमा नेप्से ४५ अंकले घटेको छ । सेयर ब्रोकर र केही ठूला लगानीकर्ताले फैलाएको हल्लाको कारण नेप्से घटेको विश्लेषकहरुले बताएका छन् । मंगलबार दिउँसोदेखि फैलाइएको राजनीतिक अस्थिरताको समाचारको प्रभाव आजको सेयर बजार कारोबारमा परेको हो ।

प्रतिनिधिसभा पुनस्थापना भएको अवस्थामा सेयर बजारमा ह्रास आउने हल्ला नियोजित रुपमा मंगलबार दिउँसोदेखि चलाइएको थियो । त्यसैको परिणाम अस्ति र हिजोझैँ आज पनि देखिएको बताइन्छ । ठूला लगानीकर्ताले आफ्नो स्वार्थअनुकूल बनाउन सेयर बजारमा संसद पुनस्थापना भएमा स्थीर सरकार नबन्ने, सरकारको नेतृत्वमा हारालुछ हुने सन्देश प्रवाह गरेपछि साना तथा मझौलास्तरका लगानीकर्ताहरु हच्चेका हुन् ।

नेप्से आइतबार अहिलेसम्मकै उच्च २ हजार ६ सय ४० अंकमा पुगेको थियो । आजसम्म आइपुग्दा घटेर ८६ अंकले घटेर २ हजार ५ सय ५४ दशमलब १३ अंकमा सीमित भएको छ । अरु दिन नेप्से घटेपनि कारोबार रकममा कमी आएको थिएन । तर आज कारोबार रकम समेत घटेको छ । आज जम्मा ६ अर्ब ९ करोड ८१ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसअघि साढे १० अर्ब रुपैयाँ सम्मको कारोबार भएको थियो ।

केहि दिनदेखि सेयर बजारमा सबैभन्दा धेरै पूर्वाधार बैंक (निफ्रा) को सेयर किनबेच भएको छ । आज निफ्राको मात्रै कुल कारोबारको १५ प्रतिशत अर्थात् ९० करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेशनल हाइड्रो र चन्द्रागिरी हिल्सको सेयर मूल्यमा भने आज उल्लेख्य वृद्धि भएको छ ।

टिप्पणीहरू