हामी मोरल्ली पदमा रहन्नौं : प्रदीप ज्ञवाली

हामी मोरल्ली पदमा रहन्नौं : प्रदीप ज्ञवाली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सम्भावित फैसलाबारे बोल्दै परराष्ट्र मन्त्री तथा नेकपा ओली गुटका प्रवक्ता प्रदीप ज्ञवालीले संसद पुनर्स्थापना भएमा प्रधानमन्त्रीलगायत आफूहरू मोरल्ली पदमा नरहने बताउनुभएको थियो । एपी वान टेलिभिजनसँग ज्ञवालीले संसद पुनर्स्थापनालाई काल्पनिक ठहर गर्दै ‘त्यसपछि प्रधानमन्त्री रहनुहुन्न,त्यो स्वाभाविक हो । मोरल्ली उहाँलाई रहन मिल्दैन,हामी पनि मोरल्ली रहँदैनौं । किनभने यी सबै प्रक्रियामा हामी पनि सहभागी छौं ’भन्नुभएको थियो ।

हिजो प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला आएको २४ घण्टा बितिसक्दा समेत ज्ञवालीले केही समयअघि दाबी गर्नुभएको ‘मोरल ग्राउण्ड’ देखिएको छैन । उल्टै बालुवाटारका सल्लाहकारहरूले सामाजिक सञ्जालमा प्रधानमन्त्रीले संसद फेस गर्ने चुनौती दिन थालेका छन् ।

यता,लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा केपी गुटका स्थायी समिति सदस्य शंकर पोखरेलले सर्वोच्चको फैसलापछि राजनीतिक अस्थिरताको खेल शुरु हुने भन्दै ट्वीट गर्नुभएको छ । पोखरेलको ट्वीटमा भनिएको छ ‘सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ । हिम्मत र धैर्यताका साथ अघि बढौं ।’

ओली क्याबिनेटका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वोच्चको आदेशले प्रधानमन्त्रीको राजनीतिक प्रयत्नलाई कानुनी आवरणमा निस्तेज बनाउने काम भएको आरोप लगाउनुभएको छ । उहाँले पनि ट्वीट गर्दै लेख्नुभएको छ ‘सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउनेछ । निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न ।’ पोखरेलको ट्वीटपछि एउटा प्रश्न उठेको छ क्याबिनेटका उपप्रधानमन्त्रीले सर्वोच्च अदालतको निर्णय र आदेशको पालना गर्दिंन वा सम्मान गर्दिंन भन्छ भने अरुले के गर्ने ?

प्रधानमन्त्रीको क्याबिनेटमा रहेका पूर्व सञ्चारमन्त्री तथा सरकारका पूर्व प्रवक्ता गोकुलप्रसाद बाँस्कोटा बाट अदालतको फैसलापूर्व रन्किएको ट्वीटमा लेखिएको छ ‘अदालतमा विचाराधीन मुद्दालाई बोलेर लेखेर प्रभावित पार्ने हो भने मैले पनि लेखेँ ल ! एक–दुई–तीन संसद पुनर्स्थापना हुँदैन । चुनावपछि नयाँ संसद बन्छ । साथै,सूर्य चिन्ह पनि ओलीकै हुन्छ । किनभने वस्तुगत सत्यबाहेक बाँकी सबै भ्रम हुन् । प्रतिक्रिया त जे लाग्छ सो देऊ न !’

टिप्पणीहरू