दलको नेताबाट ओलीलाई हटाउन झन् जटिल

दलको नेताबाट ओलीलाई हटाउन झन् जटिल

आज बोलाइएको नेकपा संसदीय दलको बैठकमा यसअघि हस्ताक्षरको क्रममा छुटेका मुगुका सांसद गोपालबहादुर बम सामेल हुनुभएको छ ।

प्रधानमन्त्रीबिरुद्ध अविश्वास प्रस्ताव दर्ताको समयमा उहाँ काम विशेषले राजधानीमा नरहनुभएको हुँदा छुट्नुभएको थियो । आज संसदीय दलको बैठकमा उहाँ आइपुग्नुभएको बताइन्छ । तर बैठकमा नेकपा प्रचण्ड–माधव समूहका घनश्याम भुसाल, योगेश भट्टराई, जनार्दन शर्माहरू नदेखिनुभएको स्रोतले बताएको छ ।

सम्भवतः नयाँ राजनीतिक परिस्थितिमा भएको विभिन्न तह र तप्काको छलफलमा सहभागी भएको कारण उहाँहरूको अनुपस्थिति हुनसक्ने अड्कल लगाइएको छ । पुस १ गते शीतल निवासमा बुझाइएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ९० जनामध्ये सबैजसो माननीयको उपस्थिति थियो ।

पूर्वमन्त्री सुरेन्द्र पाण्डेसँगै गंगा बेलबासेहरू चितवनबाट काठमाडौं आइपुग्दा नै साढे चार बजेको थियो । आज चितवनमा आयोजित विजयसभालाई सम्बोधन गरेर फर्कंदा ढिलो भएको बताइएको छ ।

अब भोलिबाट औपचारिक रूपमा बैठकको प्रक्रिया अघि बढ्ने स्रोतको दाबी छ ।

हाल संसदीय दलको नेता रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुमतको आधारमा हटाइने निश्चित छ । तर, बैठकको प्रक्रिया अलि लामो र झण्झटिलो भएकाले केही दिन लाग्नसक्ने देखिएको छ । संसदीय दलको नेता हटाउने बैठक उपनेता (सुवाष नेम्वाङ्ग) को उपस्थितिमा गर्नुपर्ने कानुनी व्यवस्था छ । उहाँ सजिलै बैठक बोलाउन तयार हुने सम्भावना देखिन्न ।

यता आज दिउँसो बूढानिलकण्ठमा भएको काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल अझै केही दिन जारी रहने नेकपाका एकजना नेताले बताएका छन् । देउवाले भने आवश्यक निर्णयको लागि काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पर्सिलाई बोलाउनुभएको छ।

टिप्पणीहरू