बालुवाटारको किचेन क्याबिनेटमा भुईंचालो

बालुवाटारको किचेन क्याबिनेटमा भुईंचालो

आफ्नै सहभागितामा बनाइएको संविधानविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको घातबारे प्रारम्भमा मौन र पछि दुई सय प्रतिशत समर्थक बन्नुभएका पूर्व सभामुख सुवास नेम्वाङ्गले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभएको छ ‘मैले प्रधानमन्त्रीलाई जे कुरा भनेको थिएँ,त्यो स्थापित भएको छ ।’

सामान्यतया दोहोरो अर्थ लाग्ने गरी आफ्ना धारणा राख्ने संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुखले दिनुभएको पछिल्लो प्रतिक्रियाले पनि दोहोरो अर्थ लगाएको छ ।

उहाँले प्रधानमन्त्रीलाई के सल्लाह दिनुभएको थियो भन्नेबारे सार्वजनिक रुपमा बाहिर आएको छैन । तर,बालुवाटारको किचेन क्याबिनेट सदस्यको नातामा नेम्वाङ्गको सल्लाह विना प्रधानमन्त्रीले उक्त असँवैधानिक कदम चाल्नुभएको थियो भनेर कसैले पनि निश्कर्ष निकाल्न सक्दैन । अदालतको फैसलापछि उहाँले भनेको कुरा स्थापित भएको भए प्रधानमन्त्रीको कदम स्वत: गलत साबित भएको कुरा सतप्रतिशत सत्य हो ।

तर,उहाँले प्रधानमन्त्रीलाई पुस ५ गतेको उक्त असंवैधानिक सिफारिश अगावै प्रतिनिधिसभा विघटन नगर्न सल्लाह वा सुझाव दिनुभएको थियो भने यसबीच सार्वजनिक मञ्चमा राख्नुभएका अधिकांश धारणा प्रधानमन्त्रीको गलत सिफारिश अनुकूलका थिए ।

गत शनिबार विराटनगरमा आयोजित सरकारवादी नेकपाको सभामा नेम्वाङ्गले दिउँसै रात पारेर प्रधानमन्त्री ओली आफ्नो सिफारिश सदर हुनेमा २ सय प्रतिशत ढुुक्क रहनुभएको तर आफूले भने उक्त विषयमा अदालतको फैसलापछि बोल्ने ‘उभयलिङ्गी’ भाषा प्रयोग गर्नुभएको थियो ।

आज आएको उहाँको प्रतिक्रिया त्यहि ‘उभयलिङ्गी’ शैलीको भाषाभन्दा कुनैपनि अर्थमा फरक नभएको देखिन्छ । प्रतिनिधिसभा विघटनको सिफारिशपछि संविधान र कानुनको विषयमा प्रष्ट विचार नराखेको भन्दै सामाजिक सञ्जालमा सबैभन्दा धेरै आलोचना नेम्वाङ्गको भएको छ ।

टिप्पणीहरू