कम्युनिष्ट पार्टीमा नयाँ काइदा « janaaastha.com
१८ फाल्गुन २०७७, मंगलवार

कम्युनिष्ट पार्टीमा नयाँ काइदा



लुम्बिनी प्रदेशको अस्थायी मुकाम रहेको रूपन्देही जिल्लालाई बढी महŒवको रूपमा लिँदै नेकपाको ओली खेमाले जिल्लाको हरेक पालिकाको हरेक वडा तहका नेता कार्यकर्तालाई भेट्ने तथा आफ्नो समूहमा राख्ने कोसिस गरिरहेको छ । ओली समूहका महासचिव तथा अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, माधव– प्रचण्ड समूहका प्रभावशाली नेता तथा पूर्वमन्त्री घनश्याम भुसाल र पूर्वमन्त्री छविलाल विश्वकर्मा, सत्तारुढ दलमा राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईको गृहजिल्लासमेत रहेको रूपन्देहीलाई आफ्नो पक्षमा पार्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, सोही समूहका प्रदेश अध्यक्ष तथा प्रदेशमन्त्री लीला गिरी मात्रै होइन संघीय सरकारका मन्त्री टोपबहादुर रायमाझी, मणी थापालाई समेत ओली समूहले जिम्मेवारी दिएको छ ।

उक्त समूहले कुनै पनि पक्षमा नदेखिएका पूर्वमाओवादी तथा पूर्वएमाले समर्थक व्यक्तिहरूको पहिचान गर्ने अनि उनीहरूलाई आफ्नो समूहमा ल्याउने, यसैगरी सामाजिक सञ्जालमा अलि सक्रियहरूको पहिचान गरी तिनलाई घरघरमै पुगेर भेट्नेसमेत गरिरहेको छ ।

विगतमा रूपन्देहीको मर्चवारको नामसमेत लिँदा नाक खुम्चाउने मुख्यमन्त्री शंकर पोखरेल पार्टी विस्तारको लागि जिल्लाको दक्षिणी क्षेत्रलाई बढी केन्द्रित गरिरहेका छन् ।

कोभिडको कारण विदेशी पर्यटक गाडीलाई सीमापारि रोक्दा व्यवसायीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तथा दसगजामा हप्ता दिनसम्म प्रदर्शन गरिरहँदा बेवास्ता गर्ने प्रदेश सरकारले यतिबेला गाउँगाउँमा भेला र सभा भने गरिरहेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले हरेक पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष मात्रै होइन वडा सदस्यसमेतलाई भेटी कहाँ कति बजेट चाहिन्छ भन्नुस् भन्दै दैनिक सोधिरहेका छन् । एकजना पालिका प्रमुखले भने, ‘विष्णुजी पहिले पनि अर्थमन्त्री हुनुहुन्थ्यो तर यतिबेला दैनिकजसो नजिकका मान्छेले फोन गरेर कति बजेट चाहिन्छ भनिरहेका छन् । यस्तै सधैँ भए त हुन्थ्यो । तर, उनीहरूको एउटा सर्त छ, ओली समूहमा लाग्नुपर्छ ।’ टोल समूह, आमा समूह वा अन्य कुनै पनि क्लबका पदाधिकारीलाई रोजेको पद दिने गरिएको छ ।

भुसालनिकट तिलोत्तमाका मेयर वासुदेव घिमिरेलाई भविष्यमा बन्ने महानगरमा मेयरको टिकट दिने र तिलोत्तमालाई आवश्यक बजेट उपलब्ध गराउने शर्तमा आफ्नो समूहमा प्रवेश गराउन सफल भएपछि पौडेल र पोखरेलहरू झनै हौसिएका छन् ।

पूर्वमाओवादीको हकमा भने पहिलो चरणमा प्रदेश सांसद दधिराम न्यौपाने, अनुप बरालसहितले छलफल गर्ने, त्यहाँबाट नहँुदा सिधै टोपबहादुर रायमाझी र मणि थापालाई भेटाउने काम भइरहेको छ । ओली समूहले भैरहवामा होटल मौर्य र बुटवलमा ड्रिमल्यान्डलाई बैठकस्थल बनाउने गरेको छ । डिम्रल्यान्ड अर्थमन्त्री विष्णु पौडेलको समेत लगानी भएको होटल हो भने होटल मौर्यामा टोपबहादुर रायमाझीको समेत लगानी रहेको बताइन्छ ।

केन्द्रीय अध्यक्ष र महासचिवको हस्ताक्षरसहित केन्द्रीय सदस्यको नियुक्ति दिन मिल्न सक्ने ढाँचाको आफँै नाम भर्न मिल्ने पत्र, विभिन्न भ्रातृ संगठनका अध्यक्षले हस्ताक्षर गरेको आफ्नो नाम आफैँ भर्न मिल्ने पत्र बोकेर उक्त समूहका नेता कार्यकर्ता यतिबेला प्रचण्ड नेपाल समूहमा लागेका नेता–कार्यकर्ताकोमा पुग्ने गरेका छन् ।

यसैगरी, विभिन्न पत्रकारका श्रीमतीलाई जागिर लगाइदिने, नियुक्ति दिलाइदिने भन्दै घरघरमा पुगी परिवारमा बेरोजगारको संख्या, योग्यता के कति छ, कस्तो जागिर चाहिन्छ भन्दै उधारोमा जागिरसमेत बाँड्ने गरेका छन् । पद चाहिए नगद र जागिर चाहिए उधारो दिने गरेको देखिन्छ । यसैगरी, जनप्रतिनिधिहरूलाई ओली समूहमा नआए अख्तियार लगाएर ठेगान लगाउने धम्कीसमेत दिने गरिएको छ ।

नेकपामा विवाद भएपछि शुरुका केही दिन माधव–प्रचण्ड समूहमा सक्रिय भएका अनुप बराल ओली समूहको जिल्ला सचिव हुने शर्तमा फर्किए । उनले जिम्मेवारी सम्हालिरहेका छन् । त्यति मात्रै नभएर उनकी श्रीमती गंगा कार्की (पूजा) लाई जिल्ला भूमि आयोगको सदस्यसमेत बनाइएको छ ।

यसैगरी, उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष नारायण भण्डारी सहितलाई राष्ट्रिय उद्योग महासंघको केन्द्रीय सदस्य पद दिइएको छ भने उद्योग व्यापार संगठनको भवन निर्माणको लागि १ करोड रकम अर्थमन्त्री पौडेलले दिने भएका छन् । यसैगरी, महासचिव पौडेलले भण्डारीलाई सिद्धार्थनगरमा मेयरको टिकट दिने आश्वासन दिएका छन् ।

यता, ओली समूहइतरका पत्रकारलाई राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्रमा जागिर लगाइदिने भन्दै आफ्नो समूहमा आउन लबिङ भइरहेको छ । सरकारी स्वामित्वको उक्त सञ्चारगृहमा स्ट्रिङजरको रूपमा हरेक पालिकाका एक पत्रकार राख्नेगरी पत्रकारलाई कन्भिन्स गरिरहेको छ भने जसले सरकारी स्वामित्वको मिडियामा काम गर्छन् तिनीहरू संसद् विघटनविरुद्ध लागेको पाएमा तत्काल जागिरबाट बर्खास्त गर्ने चेतावनीसमेत दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पशुपतिमा कि राष्ट्र बैंकमा पहिले ‘क्युआर कोड’ बाट दक्षिणा ?
सरकारसंग वार्ता गर्न काठमाडौँ छिरे प्रकाण्ड
विप्लव मनाउने जिम्मा बादललाई
विप्लवसँग बादलको वार्ता