यसरी जुटे बुटवलमा मान्छे !

यसरी जुटे बुटवलमा मान्छे !

विकसित मुलुकहरूमा कोरोना संक्रमण फैलिन सक्ने भन्दै अहिले पनि धेरै भीडभाड हुन रोक छ । तर, नेपाल मात्रै यस्तो देश हो जहाँ यतिबेला राजनीतिक प्रचारको अगाडि कोरोना कहर फितलो भएको छ । तथापि संक्रमितको संख्या शून्य हुन सकेको छैन ।

यसैबीच, सत्ताधारी दल नेकपाभित्रको आन्तरिक द्वन्द्व पार्टी फुटको तहसम्म पुगेको छ । जसले गर्दा एकातिर नेकपा सत्ताधारी र अर्कोतिर नेकपा सडकधारी शक्ति भएर जनताको भीड देखाउने प्रतिस्पर्धामा छन् ।

नेकपा कुन आधिकारिक हो भन्ने विषय निर्वाचन आयोगले समेत निक्र्याेल गर्न सकेन । आयोगले ठिमाहा (बीचको) फैसला गर्‍यो । त्यही फैसलाको कारण यतिबेला नेकपा कुन आधिकारिक हो भनेर निक्र्याेल गर्न पार्टीको विधानअनुसार केन्द्रीय सदस्यको मापनभन्दा भीड देखाउन थालिएको छ । जसको ठूलो भीड उही आधिकारिक भन्ने निर्वाचन आयोगको लुप्त सन्देशझैँ देशभर प्रतिस्पर्धा चलेको छ ।

यसैबीच, शनिबार बुटवलमा प्रधानमन्त्री केपी ओली समूहको नेकपाले सिद्धेश्वरी माविको प्रांगणमा देशभरबाट मान्छे उता¥यो । उक्त समूहको लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको भीडमा लुम्बिनी प्रदेशको १२ जिल्लाका जनता मात्रै सहभागी भएको दाबी गरिए पनि देशभरबाट मान्छे ल्याइएको थियो ।

बुटवल नेपालको पूर्व–पश्चिमको करिब केन्द्रमा पर्छ । औद्योगिक, व्यापारिक महत्वको केन्द्र उक्त ठाउँ पछिल्लो समय राजनीतिक महत्वको पनि केन्द्र बन्दै गएको छ ।

विगतमा नेकपा एमालेको गढसमेत मानिएको उक्त ठाउँ डा. बाबुराम भट्टराईलाई पराजित गरेपछि विष्णु पौडेलको गढ मानिन थाल्यो । यसैले यतिबेला मान्छेहरू नेकपा पार्टीको भन्दा पनि विष्णु पौडेलको क्षेत्र भन्न थालेका छन् । जसरी सरकारी नेकपामा केपी ओलीको व्यक्तित्व हाबी भएको छ, यसैगरी बुटवलको निश्चित बजार क्षेत्रमा विष्णु पौडेलको व्यक्तित्व बलशाली छ । उनले उक्त ठाउँमा खन्याएको सरकारी बजेट, मान्छेलाई जागिर दिलाउनेदेखि चीन भ्रमण गराउनेजस्ता कार्यले यतिबेला कांग्रेसीसमेत उनको फ्यान भएका छन् ।

लुम्बिनी प्रदेशको राजधानी भालुवाङ जाँदा सामुहिक राजीनामा दिएका बुटवलका उद्योगी व्यवसायीको मुख्य नेतृत्व समूहलाई केबुलकारको अनुमति दिलाएर पौडेलले खुशी पार्ने कोसिस गरेका छन् । शनिबारको भेलामा सहभागी हुन आएकाहरूमध्ये करिब हजार जनाभन्दा बढी केबुलकारका लगानीकर्ता र उनीहरूका शुभचिन्तकले जम्मा गरेका मान्छे हुन् ।

यसैगरी, शनिबार नै पूर्व जनमुक्ति सेनाको राष्ट्रिय भेला आम्रपालीमा राखियो । संघीय सरकारका मन्त्री टोपबहादुर रायमाझी, लेखराज भट्ट, मुख्यमन्त्री शंकर पोखरेललगायतले मन्तव्य राखेको उक्त भेलामा देशभरबाट सात सय जना पूर्व लडाकु भेला गराइए । तिनीहरूलाई पनि बिहानको भोजन आम्रपालीमै गराइसकेपछि सिधै सिद्धेश्वरीको चौरमा ल्याइयो ।

कपिलवस्तु, नवलपरासी, दाङ, बर्दिया, रूपन्देही र बाँकेमा अव्यवस्थित तथा भूमिहीन सुकुम्बासी आयोगको नाममा फारम भर्ने काम चलिरहेको छ । उक्त फारम भरेकाहरू जो–जो बुटवल जान्छ उसले लालपुर्जा पाउँछ भन्दै प्रचार गरेर करिब दुई हजार मान्छे यसरी बुटवल उतारेको आरोप छ ।

यसैगरी, आगामी निर्वाचनमा जो नेता जुन क्षेत्रबाट संसद्को उम्मेदवार हुने हो उसले कम्तीमा ५ बस मान्छे भरेर ल्याउनुपर्ने बाध्यकारी नीति थियो । रूपन्देहीमा क्षेत्र नम्बर ५ बाट संघीय सभाको उम्मेदवार बन्ने आकांक्षा बनाएका खिमलाल भट्टराईले सात बस मान्छे बाजागाजासहित उतारेका थिए । यसैगरी, क्षेत्र नम्बर ४ बाट ओमप्रकाश यादव गुलजारीले तीन बस मान्छे बुटवल ल्याए । क्षेत्र नम्बर एक बाट छविलाल विश्वकर्माले सोही संख्यामा मान्छे उतारे भने बुटवलको सुकुम्बासी क्षेत्रका बहुसंख्यक जनता लालपुर्जा पाउने लोभमा सिद्धेश्वरी पुगे ।

अर्कोतिर महेश बस्नेतसहितको टिम एक हप्तादेखि रूपन्देहीको टोलटोलमा युवाहरूलाई भेला गर्दै युवा परिचालनमा जुट्यो । गणेश बस्नेतसहित पत्रकारको टोलीले लुम्बिनी प्रदेशका सबैजसो अनलाइनलाई कम्तीमा ८ हजार, सबैजसो एफएमलाई कम्तीमा १० हजार र सबैजसो टेलिभिजनलाई कम्तीमा ३० हजार रकम तिरेर लाइभ प्रसारण गराउने भन्दै हरेक मिडियाबाट एकजना सभास्थलमा अनिवार्य आउनुपर्ने रणनीति तय ग¥यो । कोरोना कहरबाट आर्थिक रूपले धराशयी भएका मिडिया उक्त रकम पाएपछि के प्रतिगमन, के अग्रमन हामी सबै व्यवसायी भन्दै बुम, क्यामेरा बोकेर बुटवलमा भेला भए । त्यति मात्रै होइन, सरकारी मिडिया नेपाल टेलिभिजन, गोरखापत्र, रासस र रेडियो नेपालमा संलग्न पत्रकारलाई अनिवार्य रूपमा अघिल्लो दिनको प्रेस संगठनको भेलामा सहभागी हुन ह्विप लगाइयो । ती पत्रकारलाई होटल पौवामा भोज दिएर अर्को दिन कार्यक्रममा सहभागी गराउने काम भयो । नेपाल टेलिभिजन, गोरखापत्र, रासस र रेडियो नेपालको स्टिन्जरमा हरेक पालिकामा पत्रकार थप्ने रणनीतिसहित नयाँ पत्रकारलाई पनि स्टिन्जर जागिरमा लगाइदिने भन्दै कार्यक्रममा आउने वातावरण तय गरियो ।

भर्खरै नियुक्त भएका पार्टीका केन्द्रीय सदस्य बुटवल सभाको कारण सबैभन्दा बढी दबाबमा थिए । उनीहरूलाई कम्तीमा एक केन्द्रीय सदस्य एक बस मान्छे जम्मा गर्न नसके उक्त पद खोसिने चुनौती थियो । जिन्दगीमा कहिल्यै नपाइने पद पाएकाहरूलाई उक्त पद जोगाउन आफ्ना घरका मान्छे भरेर भए पनि एक बस बनाउनुपर्ने बाध्यात्मक अवस्थाले पिरलेको चर्चा खुब सुन्न पाइन्थ्यो ।

ओली समूहका गाउँपालिका प्रमुख तथा उपप्रमुख भएकाहरू मात्रै होइन, वडाध्यक्ष र वडा सदस्यहरूले पनि खुब दबाब झेल्नुप¥यो । निर्वाचित वडाध्यक्ष र सदस्यहरू घरघरमै पुगेर नामावली तयार गर्दै थिए । उनीहरूले ओली सरकारको सभामा जानेहरूको नामावली प्रधानमन्त्री ओलीलाई पठाउने र तिनीहरूलाई सरकारले विशेष सुविधा दिने भन्दै सर्वसाधारणमा भ्रमसमेत फैलाएको पाइएको छ ।

जसरी भारतमा ‘र’ सँग त्यहाँको सरकारले खर्चको हिसाब–किताब माग्दैन तर छिमेकमा भारतीय प्रभाव फैलाउन निर्देशन दिइन्छ, त्यसैगरी खर्चको कुनै पर्वाह नगरी जसरी पनि मान्छे बुटवलमा ल्याउनुपर्ने रणनीतिअनुसार उक्त संख्यात्मक प्रदर्शनी भएको हो ।

खर्च र व्यवस्थापन

सभामा टेन्टको खर्च मात्रै १५ लाख बढी लागेको छ । पटवा टेन्ट हाउसले सभास्थलमा टेन्ट लगाएको थियो । यसैगरी, साउण्ड सिष्टम ताम्रिङ साउण्ड सिष्टमले लगाएको थियो । उक्त सिष्टमले पनि १० लाखभन्दा बढी रकममा सम्झौता गरेको बुझिएको छ ।

ब्यानरिङ र प्रधानमन्त्री ओलीको तस्बिर जोगीकुटीदेखि गोलपार्क अनि गोलपार्कपारि बुटवलसम्मका हरेक पोलपोलमा टाँगिएका थिए । कम्युनिष्ट पार्टीको सभास्थल शाहीकालमा राजा ज्ञानेन्द्र शाहको भन्दा कुनै कम थिएन । भव्य रूपमा माला र फूलले सजाइएको थियो । सजावटमा विशेष ध्यान दिएको देखिन्थ्यो ।

सभास्थलमा आउने जानेहरूले गरेर करिब साना–ठूला गरी दुई हजार सवारी साधन (बस÷कार) शनिबार आयोजकले परिचालन गरेको ट्राफिक प्रहरीको अनुमान छ । करिब पन्ध्र सय बसमा ३० जनाको दरले ४५ हजार र ५ सय साना सवारीमा ७ जनाको दरले बढीमा चार हजार र बाइकमा तथा पैदल गरेर १ हजार गरी बढीमा ५० हजार मान्छे बुटवल सभामा भेला भएको अनुमान छ । सिद्धेश्वरीको मैदान विगतमा ठूलो क्षेत्रफलको भए पनि यतिबेला भवन निर्माण र अन्य कारणले संकुचित हँुदै करिब डेढ बिघामा फैलिएको छ ।

हजार हाराहारीमा मोटरसाइकल र केही स्कुले बसमा पनि मान्छे आएका देखिन्थे । प्रधानमन्त्री ओलीको ठुल्ठूला होडिङ बोर्ड र तस्बिर सभास्थल वरिपरि राखिएको थियो । सूर्य अंकित झन्डाहरूले सभास्थल सजिएको थियो ।

ओलीको तस्बिरसहितको टिसर्ट र क्याप छ्यापछ्याप्ती बाँडिएको थियो । सबैजसो भ्रातृसंगठनका केन्द्रीय नेतृत्व हप्तादिनदेखि बुटवलको विभिन्न होटलमा डेरा जमाएर बसेको थियो । उनीहरूको खानपान र बसाइको खर्च पनि उत्तिकै महँगो छ । ओली समूहले यतिबेला मिडिया उपयोग नीतिलाई बढी महत्व दिएको देखिएको छ । अघिल्लो दिन होटल पौवामा भएको प्रेस संगठनको प्रदेशस्तरीय भेला र शनिबारको सभाको विभिन्न मिडियाको लाइभले उक्त कुरा पुष्टि हुन्छ । मिडिया उपयोग नीतिअनुसार विभिन्न मिडियामा लाइभ र पत्रकारलाई होटल व्यवस्थापनमा मात्रै करिब १० लाखभन्दा बढी खर्च भएको छ ।

यसैगरी, जनमुक्ति सेनाको राष्ट्रिय भेलाको खर्च आम्रपालीमा पनि लाखौं रकमको रहेको छ । प्रधानमन्त्रीको हेलिकप्टर खर्चदेखि केन्द्रीय सदस्यहरू समेतको खर्च गरी करोडौं रकम खर्चेर करिब ५० हजार मान्छे बुटवलमा उतारेर सत्ता पक्ष नेकपाले सूर्य चिह्न आफ्नो र आधिकारिक नेकपा आफूहरू भएको सन्देश दिन खोजेको छ ।

ओलीका राइट ह्यान्ड शंकर पोखरेल र लेफ्ट ह्यान्ड विष्णु पौडेल रहेको लुम्बिनी प्रदेशमा ५० हजारभन्दा बढी मानिस उतार्नु ओली पक्षीयका लागि खासै ठूलो विषय नभएको विश्लेषकहरू तर्क गर्छन् । उनीहरू भन्छन्, ‘प्रधानमन्त्री ओलीका खास–खास मान्छे अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, मुख्यमन्त्री शंकर पोखरेल र ऊर्जामन्त्री टोपबहादुर रायमाझी रहेको क्षेत्रमा मान्छे भेला भएनन् भने उनीहरूको अर्थ के ?’

टिप्पणीहरू