यातना शिविरको त्यो अमर प्रेम « janaaastha.com
१३ फाल्गुन २०७७, बिहीबार

यातना शिविरको त्यो अमर प्रेम



लुडबिग लेल सोलोकोभको जन्म स्लोभाकियामा सन् १९१६ मा भएको हो । उनी यहुदी थिए । सन् १९४२ को एकदिन हिटलरको नाजी प्रहरी उनको घरमा पुग्यो । त्यसो त लेल २६ वर्षको भइसकेका थिए तर पनि बेरोजगार नै थिए । विवाह पनि भएको थिएन । नाजी प्रहरीले केही कुरा बताउनुअघि नै उनले आफू नाजीहरुको निम्ति काम गर्न तयार रहेको बताए । उनले नाजी अत्याचारबाट परिवारलाई बचाउन त्यसो भनेका थिए ।

नाजी प्रहरीले पक्रेर लेललाई पोल्याण्डस्थित अस्वित्ज शिविरमा लग्यो । अस्वित्ज पोल्याण्डको दक्षिणमा अवस्थित शहर हो । सन् १९३९ को सेप्टेम्बरमा पोल्याण्ड जर्मनीको नियन्त्रणमा गइसकेपछि जर्मनीले अस्वित्जमा आफ्नो ब्यारेक खडा ग¥यो । पछि सन् १९४० को मेदेखि यो ब्यारेकलाई कैदीहरु राख्ने यातना शिविरमा परिणत गरियो । सन् १९४५ को जनवरी २७ मा रुसी सेनाले बल्ल शिविरमाथि नियन्त्रण जमाई त्यहाँका कैदीहरुलाई मुक्त पारेको हो । सन् १९४० देखि १९४५ सम्म नाजी सेनाले यो शिविरभित्र ४० वटा यातना गृह, श्रम शिविर, ग्यास च्याम्बर सञ्चालन गरे । रुस, पोल्याण्ड, रोमानियालगायत अन्य युरोपेली मुलुकबाट पक्रेर ल्याइएकाहरुलाई राखे । कूल १३ लाख कैदी यहाँ बसे, त्यसमध्येका ११ लाख शिविरभित्रै मारिए । मारिनेमा ९० प्रतिशत यहुदी थिए ।

राजेन्द्र स्थापित

हिटलरले दोस्रो विश्वयुद्धताका युरोपभरि यस्ता हजारौं यातना शिविर खडा गरेका थिए, तीमध्ये सबैभन्दा बदनाम शिविर अस्वित्ज थियो । यहाँ ल्याइएका प्रायः कैदीलाई ल्याउनेबित्तिकै ग्यास चेम्बरमा राखेर सामूहिक हत्या गरिन्थ्यो । त्यसरी मारिएका यहुदीहरुको संख्यामात्र ८ लाख ६५ हजार थियो । तत्काल नमारिनेहरु महिनौंसम्म मृत्यु कुरेर बस्थे । उनीहरुलाई जीवित रहन पुग्ने खानामात्र दिइन्थ्यो । पुरुष, महिला, वृद्धवृद्धा, केटाकेटी जो भए पनि कपाल काट्न लगाइन्थ्यो । कपडा फुकाल्न लगाउँथे र च्यातेर धुजाधुजा पारी फेरि लगाउन दिइन्थ्यो । रातदिन शिविरभित्रै खोलेको कारखानामा श्रम गर्न लगाइन्थ्यो । काम गर्न नसक्नेलाई सिधै ग्यास चेम्बरमा लगेर मारिन्थ्यो । कैदीहरुको नम्बर हुन्थ्यो । नम्बर हातमा खोप्न लगाइन्थ्यो । नम्बर खोपेपछि उनीहरुको नाउँ स्वतः मेटिन्थ्यो ।

लेलको नम्बर थियो– ३२४०७ । उनलाई कैदीहरु राख्ने घर निर्माणमा काम लगाइयो । त्यहाँ पुगेको केही दिनपछि नै टाइफाइड भयो । पेपेन नाउँ गरेकी फ्रान्सिसी कैदीले रेखदेख गरिन् । उनले लेललाई नजरबन्दको समयमा नबोल्न, सेनाहरुसँग झगडा नगर्न र चुपचाप दिइएको काम गर्दै जान सल्लाह दिइन् तर केही दिनपछि नै उनी गायब भइन् । पेपेनले उनलाई ट्याटु बनाउने कला सिकाएकी थिइन् । त्यसैले पछि उनले कैदीको हातमा ट्याटु खोप्ने काम पाए । त्यसपछि अरु कैदीसरह घाममा बसेर दिनभरि काम गर्नुपरेन । कोठामा बसेर काम गरे हुने भयो । खाना पनि भरपेट खान पाइयो । उनको निगरानी गर्न एकजना सिपाही खटाइयो । जीवनस्तर राम्रो भयो तर कुन दिन मारिने हो टुंगो भने भएन । त्यहाँका कैदीहरु राति सुतेर उठ्दा जिउँदो हुन्छ कि हुन्न कुनै ठेगान हुँदैनथ्यो ।

लेल दिनहुँ त्यहाँ ल्याइने कैदीहरुको भीड हेरी बस्थे । उनीहरुको हातमा नम्बर खोपिदिन्थे । उनीहरुको परिचय मेटिदिन्थे । शिविरमा ल्याउनेबित्तिकै ग्यास चेम्बरमा हाल्ने कैदीलाई नम्बर खोप्नु पर्दैनथ्यो । त्यसैले कसको आज अन्तिम दिन हो ? भन्ने लेललाई थाहा हुन्थ्यो । शिविरका कमाण्डर जोसेफ मेंगल त्यहाँ ल्याइने कैदीहरुको छनोट गर्थे । कसलाई तत्काल ग्यास चेम्बरमा लगेर मार्ने र कसलाई केही दिन श्रममा लगाउने, कसलाई भोकै मर्न दिने सबै निर्णय उनैले गर्थे । उनले कैदीहरुलाई नांगै पारेर चर्को घाममा दिनभरि काम गर्न लगाउँथे । शिविरभित्रका सबै कैदीले लाजशरम पचाइसकेका हुन्थे किनभने छोराछोरी, बाउआमाकै अगाडि सबै नांगै बस्नुपथ्र्यो । कहिलेकाहीं सैनिक जवानहरुले मनोरञ्जनार्थ सामुहिक मैथुनसम्म गर्न लगाउँथे । वृद्धसँग नातिनी उमेरकी युवती र वृद्धासँग नाति उमेरका युवकलाई मैथुन गर्न लगाउँथे । लेलले त्यहाँ बसेर, डराउँदै यी सबै दृश्य हेरे ।

सन् १९४२ जुलाइको एकदिन लेलको हातमा एउटा पर्चा प¥यो । कैदी नम्बर ३४९०२ को । शिविरमा आइपुगेकी ती कैदी महिला थिइन् । त्यसो त उनले धेरै महिलाको हातमा नम्बर खोपिसकेका थिए । तर ती महिलाको हात समाउँदै उनको हात काँप्न थाल्यो । त्यसबेलासम्म पेपेन गायब भइसकेकी थिइनन् । पेपेनले लेलको काँपेको हात देखिन् र हौसला बढाइन् । लेलले ती युवतीको हात समातेर त्यसपछि नम्बर खोप्न थाले । युवतीको पाखुरामा नम्बर खोप्दै गर्दा एकछिन लेललाई लाग्यो– युवतीको नजर उनमा गढेको छ । निहुरेर नम्बर खोप्दै गरेको टाउको सर्लक्क उठाए । हो पनि, युवतीले एकटक उनलाई नै हेरिरहेकी रहिछन् । अचानक आँखा जुधे ।

युवतीको नाम गिना रहेछ । लेलले गिनालाई अस्वित्जसँगैको बिर्केनु शिविरमा पठाएको एक सुरक्षाकर्मीमार्फत जानकारी लिए । उनले विश्वस्त उनै सुरक्षाकर्मीको हातबाट प्रेमपत्र पठाउन थाले । कैदीहरुलाई भरपेट खाना दिइन्नथ्यो । खाना अभावमा कैदीको शरीर सुक्दै जान्थ्यो । शरीर कमजोर परेर काम गर्न नसक्ने भएपछि ग्यास चेम्बरमा हालेर मार्थे । लेल गिनाले यस्तो दिन देख्नु नपरोस् भनी कामना गर्थे । उनले त राम्रो र पुग्दो खाना पाउँथे, त्यसैले सबै खाना नखाई गिनाको लागि बचाउन थाले र कहिले लुक्दै आफैंले त कहिले तिनै विश्वासपात्र सुरक्षाकर्मीमार्फत बचेको खाना गिनालाई पठाउन थाले । गिना एक्लै बस्दिनथिन्, समूहमा बस्थिन् । समूहमा बस्ने गरेकै कारण एक्लैले लेलले पठाएको खाना खान अप्ठेरो मानेको जानकारी पाएपछि लेलले गिनासँग बस्ने अरु महिला कैदीहरुलाई पनि सहयोग गर्न थाले । उनीहरुसित भएको गहना बजारमा बेचेर खाद्य सामग्री ल्याइदिन थाले ।

यसरी नै दुई वर्ष बित्यो । यो बीचमा लेल र गिनाको प्रेम उत्कर्षमा पुगिसकेको थियो । सन् १९४५ को शुरुकै दिन रुसद्वारा जर्मनी पराजित हुन शुरु भयो । जर्मनीले विश्वयुद्धमा पराजित हुने सम्भावना देखेपछि अस्वित्जमा रहेका कैदीहरुलाई अन्यत्र सार्न शुरु ग¥यो । कैदी सरुवामा गिना पनि परिन् । लेललाई आफ्नी प्रेमिकाको नाउँ गिना फुर्मानोभा भन्ने मात्र थाहा थियो, उनीबारे अरु कुरा थाहा थिएन । न गिनालाई कहाँ लगियो भन्ने नै थाहा भयो । त्यसैले बिछोडको पीडा सहेर बसे ।

सन् १९४५ को जनवरी २७ मा सोभियत सेना पोल्याण्ड पस्यो । अस्वित्जलाई मुक्त पा¥यो । त्यहाँभित्र रुसी सेनाले ७ हजार कैदी खान नपाई छट्पटाएर बसेको भेट्टायो । कैदीहरुको जुत्ता र कपडाको पहाड फेला पा¥यो । ६ हजार ५ सय किलो कपाल मात्र बरामद ग¥यो । त्यहाँ एउटा केमिकल कारखाना रहेछ, जहाँ काम गर्दागर्दै १० हजारको मृत्यु भएको रहेछ । काम गर्न असक्षम हुँदै गरेकालाई इन्जेक्सन दिएर मारिने रहेछ । रुसी सेनाले पोल्याण्डमाथि आक्रमण गर्दैछ भन्ने जानकारी पाएपछि त्यहाँबाट ६० हजार कैदीलाई रातारात अन्त सारिएको थियो । तिनीहरुलाई ३० माइल हिँड्न लगाइएको थियो, जसको कारण बाटैमा १५ हजारको ज्यान गयो । हिँड्न नसकेर पछि परेकालाई गोली हानेर मारियो । रुसी सेनाले कब्जा गर्दा शिविरमा रहेका अधिकांश कैदी सुत्केरी महिला र नवजात शिशुहरु थिए । शिविरभित्र जन्मेका शिशुलाई जर्मन सेनाले मुसालाई खान दिन्थ्यो । सुत्केरी महिलालाई पनि खाना लिन अरुसरह ८ घण्टा लाइनमा उत्रिन लगाउँथ्यो । एक कप सुप र दुई टुक्रा पाउरोटी दिइन्थ्यो ।

रुसी सेनाको मद्दतबाट अस्वित्ज यातना शिविरबाट मुक्त भएपछि लेल एउटा घोडा गाडा चढी चेकोस्लोभाकियास्थित आफ्नो शहर क्रोमपाचीतर्फ रवाना भए र गिनालाई खोज्न थाले । संयोगवश उनको घर नाजीहरुले कब्जा जमाएको रहेनछ । त्यहाँ उनले आफ्नी दिदी गोल्डीसँग भेटे र, पछि गिनालाई खोज्न स्लोभाकियाको शहर ब्रातिस्लावातर्फ गए । त्यहाँ महिनौं दिनसम्म रेलवे स्टेसनमा बसेर गिनालाई खोज्न थाले । प्रत्येक दिन त्यहाँ आउने रेलबाट ओर्लने यात्रुहरुमा गिनालाई खोजिरहेका उनलाई एकजना अफिसरले रेडक्रसमा जान सल्लाह दिए । उनी घोडा गाडाबाटै रेडक्रस भवनतर्फ जाँदै गर्दा बीच बाटोमा एक जना महिलालाई देखेर रोकिए । युवती अरु कोही नभई गिना फुर्मानोभा नै रहिछन् । दुवैको सुखद पुनर्मिलन भयो र सन् १९४५ को अक्टोबरमा बिहे गरे ।

तर एकदिन सरकारले दुवैलाई पक््रयो । त्यसबेला इजरायल देश बन्ने तरखरमा थियो । विश्वमा छरिएर बसेका यहुदीहरुले इजरायल निर्माणार्थ आर्थिक सहयोग गर्थे, लेल र गिनाले पनि सोही काम गरेकै कारण उनीहरुलाई देशद्रोही मानियो । जसोतसो जेलबाट भाग्नसफल भए । उनीहरु अष्ट्रियाको भियना हुँदै पेरिस पुगे । त्यहाँ पनि पक्राउ पर्ने डर भएपछि युरोपभन्दा टाढाको मुलुक अष्ट्रेलिया भागे । त्यहाँ लेलले कपडाको व्यापार र गिनाले ड्रेस डिजाइनको काम थाले । दुवैजना आ–आफ्नो व्यवसायमा सफल भए । पछि गिना दुई–तीनपटक युरोप गइन् तर लेल कहिल्यै गएनन् । नाजी यातना शिविरमा कैदीहरुको पाखुरामा ट्याटु खोप्ने आफ्नो विगतबारे अरुले थाहा पाउलान् भन्ने डरले उनी नगएका हुन् । यो कुरा संसारलाई थाहा नदिन गिनाले पनि सधैं उनलाई रोकेर राखिन् ।

सन् २००३ मा गिनाको निधनपश्चात् न्युजिल्याण्डकी लेखिका हिडर मोरिसससँग उनको भेट भयो । हिडरले उनको विश्वास जित्न सफल भइन् । हिडरले पुस्तक नै लेखिन्, ‘दि ट्याटुइष्ट अफ अस्वित्ज ।’ यो पुस्तक सन् २०१८ मा प्रकाशित भएपछि बल्ल लेल ट्याटु खोप्ने कर्मी भएको रहस्य मात्र होइन, उनको र गिनाको प्रेम पनि सार्वजनिक भयो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टोपबहादुरले थाले धमाधम टप्काउन
राजदूतहरुको दौडादौड शुरू
फेरि वामदेवको दौडधुप शुरू: हिजो बिचौलिया भट्टसङ्ग, आज प्रचण्डसङ्ग
विदेशमा रहेका नेपालीले स्वागत गरे सर्वोच्चको फैसला