भिल्लको राजनीतिमा माटोको मणि « janaaastha.com
१८ फाल्गुन २०७७, मंगलवार

भिल्लको राजनीतिमा माटोको मणि



– राजकुमार दिक्पाल

नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यको हैसियतले महासंघको २३ औं महाधिवेशनको पूर्वसन्ध्यामा रसुवा जिल्लाको पहिलो अधिवेशन सम्पन्न गर्नुपर्ने दायित्व थियो । त्यसैले धुञ्चे जान सुरसार कस्दै थिएँ ।

माया गरेर मेरा प्रेरक गाउँले दाजु रेख ब्लोनले ०४६ सालको जनआन्दोलनको पूर्वसन्ध्यामा काठमाडौंबाट पठाइदिनुभएको ‘लहर’ पत्रिकामा छापिएको रघु पन्तको दुई कविता पढेको थिएँ, धुन्चेमा उहाँ राजबन्दीका रूपमा बस्दा लेख्नुभएको । नेपाल पत्रकार महासंघ (त्यतिखेर संघ)को भूतपूर्व महासचिव यी वामनेताका कविता पढेको सम्झनाले पनि त्यहाँ जाऊँ जाऊँ लागिहाल्यो ।

रसुवाकै रेन्जिन दोर्जे तामाङ भाइलाई मैले बीए दोस्रो र तेस्रो वर्षमा पढाएको थिएँ । उनीबाट रसुवाको तापक्रम र यात्रा दूरीबारे सूचना बटुलेँ ।

इतिहास शिरोमणि बाबुराम आचार्यको ‘नेपाल–चीन–तिब्बत’ इतिहास–कृति भर्खरै पढिसिध्याएको थिएँ । त्यहाँ, नेपाल र तिब्बतबीचको युद्धमा चिनियाँ र तिब्बती फौज काठमाडौंसम्म आउनका लागि अघि बढेको र नेपाली सेनाले बेत्रावतिमा रोकेको अनि त्यहीँ सम्झौता भएको पढेको थिएँ । त्यहाँ युद्धको वर्णन यति मज्जाले लेखिएको छ कि पढ्दा लाग्छ, आफँैले युद्ध प्रत्यक्ष हेरेजस्तो । तिब्बती भूमि केरुङबाट नेपाली सेना पछि हट्दै बेत्रावतिसम्म आइपुग्दा त्यहीँ छेकेर विक्रम सम्वत १८४८ मा चिनियाँ–तिब्बती सेनाको निकै ठूलो क्षति गरी सन्धि गर्न बाध्य बनाएको इतिहास उक्त पुस्तकमा पढ्न पाइन्छ ।

म पनि बेत्रावति पुगिसकेपछि पुस्तकमा उल्लेख भएका तत्कालीन सामरिक महत्वका स्थलहरूको अवलोकन गर्दै धुन्चेतर्फ हाँकिँदै थिएँ । बेत्रावति नदी पार भइसकेपछि एक जना मित्रलाई सोधेँ, ‘…सरले पढाउने स्कुलको नाम के रे मित्र ?’

उमेरमा भाइ, अनि भूगोलमा जिल्लाबासी । कुनै बेला हामी दुवैको बिहानै पसिना बगाउने ठाउँ थियो, काठमाडौं खाल्डोको सामाखुसी गोँगबू । दुवै त्यसबेला एउटै कलेज पढाउने ।

नारायण तिमिल्सिना नामका ती मित्रले कुराकानीकै क्रममा एक दिन भन्नुभयो, ‘सर, हामी एउटै घरमा डेरा गरी बस्छौँ, उहाँ बेलाबेला मात्र डेरामा आउनुहुन्छ । रसुवातिर पढाउनुहुन्छ । उहाँसँग खासगरी माक्र्सवादी दर्शनको ज्ञान त कति हो कति छ । उहाँले कुरा शुरु गर्न थाल्नुभएपछि सुनिरहुँ लाग्छ । तर, समय हुँदैन, आफूसँग पनि उहाँसँग पनि ।’

मैले नारायणजीलाई सोधेँ, ‘उहाँको नाम मणिलाल राई हो ?’

‘हो नि सर, कसरी थाहा पाउनुभयो ?’, नारायणजीको उल्टो जिज्ञासा ।

नारायणजीको जिज्ञासालाई समाधान गर्दै मित्र कवि देवविक्रम राईको ‘म भीष्म धिमाल’ शीर्षक कविताको एउटा हरफ याद गरेँ,

… थियौं सँगै हामी
थिए साथमा
आदिवासी गाउँको
एउटा सुन्दर फूल मणिलाल राई
मणिलाल पनि कतै ओइलाए

सतिसालजस्तै टिक्नलाई त
सयौं बिघा मौजा हुनुपर्दाेरहेछ पुर्खाको
धेरै दाइजो हुनुपर्दाे रहेछ श्रीमतीको
फाँड्न सक्नु पर्दाेरहेछ
सिन्दूरबारी साथी शहीदको…

यसअघि कुनै बेला एउटै कार्यकक्षमा सहकार्य गरिएका अग्रज साहित्यकार पत्रकार तथा पूर्वसांसद नारायण ढकालसँग पनि मणिलाल राईबारे सोधिखोजी गरिसकेको थिएँ । नारायण दाइको भनाइअनुसार मणिलाल राई सिपी मैनालीको कोपभाजनका कारण राजनीतिबाट अलग हुनुभयो ।

म आफू ‘अन्नपूर्ण पोस्ट्’मै कार्यरत हुँदा यसले केही महिना टेलिभिजन कार्यक्रम चलायो, ‘आजको नेपाल’ नामको । त्यसको टिममा मलाई पनि राखिएको थियो । प्राडा कृष्ण हाथेछुको नेतृत्वमा रहेको अनुसन्धान समूहले सर्वेक्षण गरिल्याएको अनुसन्धानको परिणाममाथि टिप्पणी गर्नुपर्ने त्यस कार्यक्रमको एउटा श्रृंखलामा मैले तत्कालीन एमालेका संविधानसभा सदस्य तथा पार्टी नेता प्रदीप नेपाललाई निम्ता, स्वागत र बिदाइ गर्नुपर्ने जिम्मेवारी पाएँ । उहाँलाई सिंहदरबारको दक्षिणी गेटसम्म पु¥याउँदै गर्दा सोधेँ, ‘कमरेड, मणिलाल राई नाम गरेका एक जना प्रतिभाशाली नेता थिए रे नि पार्टीमा, चिन्नुहुन्छ ?’

प्रदीपको भनाइअनुसार मणि सिपीसँग टिक्न सकेनन् । पछि मदन भण्डारीले पार्टीमा फर्काउन खोज्दा एक जना राई थरकै वरिष्ठ नेता मणिलाई पार्टीमा फर्काउन अनिच्छुक देखिए । राई थरका ती नेता लामो समयसम्म सिपीकै पछि लागेको यो लेखकले पनि देखेको छ ।

यस्तो रहेछ कारण

इतिहासकार प्राडा राजकुमार पोखरेलका अनुसार त्यसबेला विभिन्न कम्युनिष्ट समूह मिलेर बनेको कोअर्डिनेसन केन्द्रमा सिपी मैनाली, झलनाथ खनाल, माधव नेपाल, अमृतकुमार बोहरा, रामचन्द्र यादव, मुकुन्द न्यौपाने, गोविन्द न्यौपाने र मणिलाल राईलगायतको हाइकमाण्ड थियो । पार्टीभित्र एउटा विवाद थियो । नक्सलाइट आन्दोलनबाट ज्यादै प्रभावित रामचन्द्र यादवचाहिँ तत्कालै हतियार उठाइहाल्नुपर्छ भन्ने मान्यता राख्थे भने मणिलाल राई हतियार उठाउनका लागि समय परिपक्व भइसकेको छैन भन्थे ।

इतिहासकार पोखरेलका अनुसार त्यसबीच सिपी मैनाली नेतृत्वमा आए । उनको पछिल्लो व्यवहारचाहिँ रामचन्द्र यादवप्रति सहानूभूतिशील देखिन्थ्यो । रामचन्द्र यादव भारततिर गए, नक्सलवादीसँग मिसिन । तर उनलाई जासुसको रूपमा शंका गरेर नक्सलवादीले नै मारिदिए ।

मैले मणिलाई रसुवाको कालिकास्थानमा भेट्दा फरक मतबारे जिज्ञासा राखेको थिएँ । तर उहाँले अन्तर्वार्ताका रूपमा होइन, बातचितका रूपमा मात्र लिने गरी कुराकानी गर्न इच्छा देखाउनुभयो ।

पहिले त शंकालु नजरले हेर्नुभयो । हामीले आफ्नो परिचय दियौँ र धुन्चेबाट फर्कंदा भेट गर्ने बाचा बाँध्यौँ । उहाँ विद्यालयको बैठकमा त्यस दिन व्यस्त हुनुहुँदोरहेछ ।

धुन्चेबाट फर्कंदा अन्तर्वार्ता लिने धोको थियो । तर, अन्तर्वार्ताका लागि तयार हुनु भएन । अन्य अन्तरंग कुरा भए । मैले जिज्ञासा पस्किएँ, ‘तपाईं र सिपी मैनालीबीच विवादको चुरोचाहिँ के हो ?’

उहाँले बताएअनुसार त्यतिखेर आठ जना थिए, तत्कालीन कोअर्डिनेसन केन्द्रका संस्थापकहरू । तीमध्ये सिपी नेतृत्वमा थिए । पार्टीले लिने नीतिबारे उहाँहरूबीच मदभेद भएछ । खासगरी झापा आन्दोलनमा चारु मजुमदारलाई हेर्ने दृष्टिकोणबारे यी दुईबीच मतभिन्नता भएछ ।

‘सिपीले आफ्नो दस्ताबेजमा माक्र्सवाद, लेनिनवाद, माओ त्सेतुङ विचारधारा र चारु मजुमदार लाइन ल्याए, मैले चारुको लाइन सफल भइनसकेको अवस्थामा चारुलाई कसरी सक्सेसरको रूपमा मान्ने ? त्यसैले चारुको लाइन भन्ने शब्द हटाऊँ भनेँ’, मणिलाल राई २०३० सालतिर फर्कनुभयो ।

पछि चारुको नाम नराख्ने तय भएछ । तर, प्रकाशित भएर आएको दस्तावेजमा त्यो नबदलिइकन आएपछि मणिलालले फेरि कुरा उठाउनुभएछ । ‘तर सिपीले छापिएर आइहाल्यो, कुरा चल्दै जाला, खास फरक पर्दैन, यस्तै हो मिलाउँदै जाऊँला भने’, मणिलालले सुनाउनुभयो ।

त्यसपछि उहाँले पनि आफ्नै ढंगले दस्तावेज बाँड्नुभएछ । गिरफ्तार भएपछि सिपीको समूहले उहाँको बारेमा नचाहिँदो अनेकौं भ्रम फैलाएपछि पार्टीबाट विरक्तिएर उहाँ राजनीतिमा होइन, शिक्षण पेशामा रमाउन थाल्नुभएछ ।

‘यो देशमा अब राजनीति कमाई खाने भाँडो भयो’, मणिलालले भन्नुभयो । थप्नुभयो, ‘अहिले म राजनीतिमा सक्रिय छैन, यदि सक्रिय हुँदो हुँ त, मलाई प्रयोग गर्ने कति हुन्थे कति?’

उहाँले नेपालको खास नेतामा तीन जनाको नाम लिनुभयो । भन्नुभयो, ‘राजा महेन्द्र, काँग्रेसको बीपी र कम्युनिष्ट पार्टीको मदन भण्डारी बाहेक अरु कोही नेता जन्मन सकेनन् यो देशमा ।’

राजनीतिबाट अलग भएपछि कालिकास्थानलाई रसुवाकै शैक्षिक केन्द्र बनाउनुभयो । त्यहाँका बासिन्दालाई सोधियो भने उनीहरूले भन्ने गर्छन्, ‘मणिलाल सर हाम्रो मनका मणि हुनुहुन्छ ।’

मैले धुन्चेमा केही विश्वासयोग्य सञ्चारकर्मीलाई सोधेँ, ‘मणिलाल सरलाई एमालेका नेताहरूले कसरी हेर्छन् ?’ उनीहरूले भने, ‘रसुवा आएका जो–कोही नेता उहाँलाई नभेटी जाँदैनन् ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देउवाको यो हो नि दाउ
कसैका कथा सुन्दा कति कहालिलाग्दा
पशुपतिमा कि राष्ट्र बैंकमा पहिले ‘क्युआर कोड’ बाट दक्षिणा ?
सरकारसंग वार्ता गर्न काठमाडौँ छिरे प्रकाण्ड