मतपत्र च्यात्नु अहिले बेठिक, लडाकु च्याप्नु अहिले ठीक « janaaastha.com
१८ फाल्गुन २०७७, मंगलवार

मतपत्र च्यात्नु अहिले बेठिक, लडाकु च्याप्नु अहिले ठीक



– दिनेश रायमाझी

प्रचण्ड, माधव, झलनाथ, शेरबहादुर र हालका कामचलाउ प्रधानमन्त्री स्वयं सत्ताबाट निस्किएका वा निकालिएका थिए विगतमा । तर, यिनीहरूमध्ये कसैले पनि सत्ता छाड्दा कुनै किसिमको गलफत्ती खडा गरेनन्, सहजै सत्ता हस्तान्तरण भयो । हृदयमा सत्ताप्रति जतिसुकै ठूलो आशक्ति रहे पनि त्यसको प्रदर्शन कसैले गरेनन् । तर, अहिले कुरा बेग्लै देखिएको छ, सत्ताबाट निकालिएको अवस्था होइन र स्वयंले सत्ता छाडेको अवस्था पनि होइन । तर, देशमा भयंकर ठूलो गलफत्ती उत्पन्न भएको छ । यो केका खातिर ?

देशवासीको जनजीवन कसरी चलिरहेको छ अथवा के साँच्चै सबैको घरको चुलो जलेको होला ? महँगी उकालो लाग्दो छ, गरिबको आम्दानी छैन । कसरी बाँचेका होलान् ? यसबारे कतै विमर्श छैन । तर, देशमा खुशीयाली छाएजस्तो छ । मानौं चुच्चे रेलको उद्घाटन हुँदै छ भनेजस्तो बस, जीप, मोटरसाइकल टुँडिखेलमा भीड जम्मा गर्न गुडेका गुड्यै छन् । पेट्रोल पम्पमा तेल भर्नेको लर्को छ, होटलहरू खचाखच छन् । साँच्चै देशमा कोरोना सकिएकै हो र यो विधि भीड ? सरकारले करोडौं रूपैयाँ (जनताको करको पैसा) खर्चेर सामाजिक दूरी कायम राखौं, आफू बचौं र अरूलाई पनि बचाआँै भन्ने सन्देश बाँडिरहेको थियो रेडियो, टिभी र फोनको रिङटोनमार्फत । अरू त अरू खोप लगाएकालाई पनि सामाजिक दूरी कायम गर्न अपिल गरिरहेको हो । एकातिर खोप लाइसकेकालाई पनि सामाजिक दूरी कायम राख्न अनुरोध गर्ने तर अर्कोपट्टी भने लाखौंको भीड जुटाउने र तिनका अगाडि उभिएर यस्तो हुनुपर्छ र उस्तो हुनुपर्छ भन्दै अर्को पक्षलाई भीड जुटाउन उक्साउने काम स्वयंमा डरलाग्दो विरोधाभाष होइन र ?

निर्मला र भागरथीका हत्यारा कहाँ घुमिरहेका छन् कसैलाई थाहा छैन । तिनको गिरफ्तारीप्रति कहीँ–कतै सक्रियता देखिन्न भाषणहरूमा बाहेक । तर, विषबमनको यो रेसमा केही कडा आलोचना गर्नेलाई गिरफ्तार गर्न प्रहरी घरघरै पुगिरहेका छन् । हामी आफू लोकतन्त्रमा भएको दावा गर्छौं । लोकतन्त्रको एउटा ठूलो मजा के हो भने यसमा असहमत हुन पाउने सहमति हुन्छ अघोषित । लोकतान्त्रिक प्रणालीमा अर्को रमाइलो यो हुन्छ कि धेरैजसोले अरूलाई राम्रोसँग सुन्छन्, के भन्न खोजेको रहेछ भनेर बुझ्ने प्रयत्न गर्छन् र आफ्नो कुरा मीठो तरिकाले सुनाउँछन् । झाँक्रीको भाषण वास्तवमा पोलिटिकल रेटोरिक थियो, त्यसकारण सुन्नुपथ्र्याे । हरेक कुरालाई हाँस्यरसमा भन्न सक्नेले नौटंकी नै हो भनेजसरी सुनाइदिएको भए साढे पाँच घण्टाको प्रहसनको जरुरत नै पर्थेन । आफ्नाले अस्मिता लुट्ने धम्की दिँदा मौन रहने तर पोलिटिकल रेटोरिकप्रति प्रहरी र अरिँगाल खटाउने कुरा पनि डरलाग्दो विरोधाभाष नै हो नि !

मन मिल्दा पाद बसाउने, मन फाट्दा सास गन्हाउने ! मन मिल्यो, मकसद मिल्यो टाउकाको मूल्य तोकिएकासँग घाँटी जोडियो र संसद्मा मेजोरिटी हात लाग्यो । कसका बाध्यता के थिए र गला जोडियो त्यसको लेखाजोखा इतिहासले गर्ला नै ! तर, यही गठजोडबाट सत्तामा पुगेको कुरा त सत्य नै हो । यो गठजोडको दर्मियानमा को–को के–के हुन् र क–कसले के–के गरेका थिए भन्ने कुरा सबैलाई जानकारी नभएको होइन । तर, को के थिए भन्ने कुरा मन फाटेपछि बयान गरिँदै छ । आज देखिरहेका छन् १७ हजार मानिस मरेको, मतपत्र च्यातेको, लडाकु योग्य भएको । आफँैले अनुमोदन गरेको कुरालाई मन फाट्दाबित्तिकै रिजेक्ट गर्नु इमानदारी होइन । तराईतिर पुराना मानिसहरू भन्छन् कि डाँकाहरूले पनि न्यूनतम नैतिकताको पालना गर्छन् । एउटैै समूहमा रहेर डकैती गरेका तिनीहरूले पछि छुट्टिएर एकअर्काको भयंकर ठूलो दुश्मन बने पनि सँगै मिलेर डकैती गरेको कुरा प्रहरीसामु गएर एकअर्काविरुद्ध झोसपोल गर्दैनन्, सिक्ने कुरा छ यो ।

अन्त्यमा, हालसालै कपिलवस्तुका व्यापारीहरूको संगठनमा चुनाव भयो । दुई झगडियाका आ–आफ्नै उम्मेदवार थिए, अरूको नहुने त कुरै भएन । तर, यी झगडियालाई आफूहरू हार्छौं कि भन्दा पनि उनीहरूले जित्लान् कि भन्ने पीर ठूलो थियो । आफ्नो टाउको त फुटेकै थियो, मीतको टाउको बेलैसरी ! चुनावमा भोट आफैँलाई हालेनन् झगडिया दुबैले । भोट अन्तै हाले र अर्कोले सानदार जित हासिल ग¥यो । यी दुबैले आ–आफ्नो पत्तासाफ स्वयंले गरे । पिंडुलोको पीलो बनेर आफूले आफँैलाई पीडामा पु¥याउने काम गरे । यो काष्टिङ हो । यदि, अवस्था यथावत् रह्यो र राजनीतिक जुवाको खालमा देश साँच्चै होमियो भने नतिजा कपिलवस्तुका व्यापारीको चुनावको जस्तो आउने पक्का छ । किनभने यो जुवाको खालमा चित् पनि र पोट् पनि अर्कैको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देउवाको यो हो नि दाउ
कसैका कथा सुन्दा कति कहालिलाग्दा
पशुपतिमा कि राष्ट्र बैंकमा पहिले ‘क्युआर कोड’ बाट दक्षिणा ?
सरकारसंग वार्ता गर्न काठमाडौँ छिरे प्रकाण्ड