म्यानमार प्रेस काउन्सिलबाट राजीनामा

म्यानमार प्रेस काउन्सिलबाट राजीनामा

म्यानमार प्रेस काउन्सिलका १२ जना सदस्यले राजीनामा दिएका छन् । सेनाले हालै गरेको ‘कू’ लगत्तै त्यहाँको प्रेस स्वतन्त्रतालाई प्रतिबन्धित गराउँदै धेरै वटा नियम जारी गरिएपछि आफूहरु सञ्चारकर्मीको सुरक्षा गर्न असमर्थ रहेको बताउँदै काउन्सिलका सदस्यहरुले राजीनामा दिएका हुन् ।

सैन्य शासनपछि विभिन्न सञ्चारगृह र संस्थाबाट सञ्चारकर्मीहरुले समेत धमाधम राजीनामा दिएको बताइन्छ । फेब्रुअरी १ मा सूचना मन्त्रालयले त्यहाँको प्रेस काउन्सिललाई दिएको निर्देशनमा भनिएको छ ‘मिडियालाई नैतिक र सार्वजनिक अशान्तिबाट समाजलाई जोगाउने किसिमले मात्र समाचारको रिपोर्टिङ्ग गर्न अभिप्रेरित गर्नु ।’ सबै खालका मिडियालाई लागू हुने उक्त निर्देशनअनुसार सैन्य शासन वा जुन्टाको बारेमा केहि पनि उल्लेख गर्न पाइने छैन ।म्यानमार प्रेस काउन्सिलका संयुक्त सचिव यू मिन्ट क्याले हालको अवस्थामा सञ्चारकर्मीहरूलाई सुरक्षा प्रदान गर्न निकै गाह्रो भएको बताउनुले पनि म्यानमारको पछिल्लो अवस्थालाई दर्शाएको छ । त्यहाँबाट प्राप्त समाचारहरुमा जनाइएअनुसार पछिल्ला केही दिनमा पक्राउ परेका सञ्चारकर्मीलाई सुरक्षाकर्मीहरुले निर्घात् कुटपिट गर्ने क्रम बढेको छ ।

‘अहिलेको अवस्थामा पत्रकारहरूको सुरक्षा गर्न सजिलो नभएकाले हामीले काउन्सिलबाट राजीनामा गर्यौं,’ यू मायन्टले भनेका छन् । यसैबीच सैन्य शासकले आयोजना गरेको प्रेस सम्मेलनमा आयोजकको तर्फबाट भएको हस्तक्षेपपछि म्यानमार टाइम्सका दर्जनौं सम्पादक र पत्रकारले समेत राजिनामा दिएका छन् ।

म्यानमार टाइम्सका एकजना सम्पादकले भने ‘त्यस्तो सैन्य सेन्सरशीपअन्तर्गत काम गर्न लाजमर्दो भएको छ ।’ तर सरकारी अधिकारीहरुले भने न्यूजरूममा सेन्सरशीपको आरोपलाई अस्वीकार गर्दै भनेका छन् ‘हामीले उनीहरूलाई सूचना मन्त्रालयका निर्देशनहरूको पालना गर्न र मिडियाको रूपमा तटस्थ रहन आग्रह गरेका हौं ।’

टिप्पणीहरू