आईपीएलमा बिकेनन् सन्दीप

आईपीएलमा बिकेनन् सन्दीप

लक्ष्मी काफ्ले

वहुचर्चित क्रिकेट प्रतियोगिता ईण्डियन प्रिमियर लिग (आईपीएल)को १४औँ संस्करणका लागि नेपालका लेगस्पिनर सन्दिप लामिछाने कुनै पनि टोलीमा आवद्ध हुन सकेनन् । बिहीबार सम्पन्न लिलामी (अक्सन)मा सन्दीपप्रति आईपीएलका कुनै पनि टोलीले बोली लगाएनन् ।

सन्दीपका लागि न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ तोकिएको थियो । विश्वका अन्य चर्चित् क्रिकेट लिगहरुमा नछुट्ने सन्दीपलाई आईपीएका टोलीहरुले भने यसपटक खासै महत्व दिएनन् । आईपीएलमा यसअघिका वर्षहरुमा सन्दीप दिल्ली क्यापिटल्समा आवद्ध थिए । दिल्लीले सन्दीपलाई प्रति सिजन २० लाख भारतीय रुपैयाँ दिएर तीन वर्षसम्म अनुबन्धित गरेको थियो । यसपटक दिल्लीले सन्दीपलाई फुकुवा गरेपछि उनको नाम लिलामीमा गएको थियो । र, न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ कायम गरिएको थियो ।

सन्दीपले सन् २०१८ बाट आईपीएलमा सहभागिता जनाउँदै आएका थिए । सन्दीप आईपीएल खेल्ने एक मात्र नेपाली क्रिकेटर हुन् । यसपटकको अक्सनमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएपनि अन्तिम सूचीमा सन्दीप मात्रै परेका थिए । सन् २०१८, २०१९ र २०२० मा गरी तीन सिजन आइपीएलमा सहभागी भए पनि सन्दीपले दुईवटा सिजनका केही मात्र खेल खेल्ने मौका पाए । २०२० को अन्त्यतिर युएईमा भएको आईपीएलमा भने सन्दीपले कुनै पनि खेलमा मौका पाएनन् ।

आईपीएलका तीन वर्षहरुमा सन्दीपले जम्मा नौ खेल खेले । र, १३ विकेट लिए । २०१८ को आईपीएलमा ३ खेलमा मात्र मौका पाएका सन्दीपले २०१९ मा ६ वटा खेल खेले । दिल्ली क्यापिटल्सको वेभसाइटका अनुसार २०१८ मा सन्दीपले ३ खेलबाट पाँच र २०१९ मा ६ खेलबाट ८ विकेट हात पारेका थिए ।

सन् २०१८ मा पहिलोपटक आईपीएलमा सहभागिता जनाएसँगै विश्वभरका क्रिकेट लिगमा सन्दीपका लागि ढोका खुलेको थियो । उनले उत्कृष्ट प्रदर्शन गर्दै दाम र नाम दुबै आर्जन गरिरहेका छन् । तर, यसपटक आईपीएलमा उनी छनौट नहुँदा सन्दीपका समर्थकहरु निराश बनेका छन् ।

आइपीएलमा चेन्नई सुपर किङ्ग्स, दिल्ली क्यापिटल्स, किङ्ग्स–११ पञ्जाब, कोलकाता नाइट राइडर्स, मुम्बई ईण्डियन्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद गरी कुल आठवटा टोलीले सहभागिता जनाउँदै आएका छन् । आइपीएल क्रिकेट यसअघि निरन्तर १३ सिजन सम्पन्न भइसकेको छ । १३ सिजनमा सबैभन्दा धेरै मुम्बई इण्डियन्सले ५ पटक उपाधि उचालेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गर्ने आईपीएल क्रिकेट प्रतियोगिता सन् २००८ बाट हरेक वर्ष सञ्चालन भइरहेको छ । कोरोना महामारीको कारण देखाउँदै बीसीसीआईले २०२० मा भने युएईमा प्रतियोगिता सञ्चालन गरेको थियो । गत १९ सेप्टेम्बरबाट जुन ६ सम्म भएको प्रतियोगिताको उपाधि मुम्बई इण्डियन्सले जितेको थियो ।

टिप्पणीहरू