मन मिल्दा चाटाचाट, नमिल्दा काटाकाट ?

मन मिल्दा चाटाचाट, नमिल्दा काटाकाट ?

– तीर्थ सिग्देल

नेकपा एमाले र माओवादीबीच एकता हुँदाका आधार के थिए ? र, फुट्दा के कारण आइलाग्यो, जसले तिनै नेतालाई एकै ठाउँमा राख्न सकेन ।

मानिसमा भ्रम र यथार्थ छुट्याउने मगज हुनुपर्छ । नत्र सत्ताको उल्टो यात्राले सँगसँगै लैजाने निश्चित छ । जतिबेला यी दुबै पार्टीबीच एकता र सहमतिको बिउ रोपियो, त्यसको फल लाग्न नपाउँदै बिरुवा म¥यो । नेपाली जनताको चाहनामा तुषारापात भयो । कारकतत्व के हो ? पद वा महत्वाकांक्षा ? वा, जनमतको अवमूल्यन ? जे–जस्ता शब्दजालमा परे पनि विभाजनको कुनै सैद्धान्तिक आधार भेटिँदैन, जसले जनतालाई चित्त बुझाओस् ।

यतिबेला विगतका तीतो औषधि सेवन गरेर कार्यकर्ता रमाइरहेका छन् । योगेश भट्टराईलाई भोट माग्न ताप्लेजुङ पुगेकोदेखि, चितवनमा मतपत्र च्यात्ने र प्रचण्डका लागि बाक्सा साँटेसम्मका उदाहरणले कुनै एउटा यो दिनको खोजी गरिरहेको भान हुन्छ, जतिबेला माले–एमाले विभाजन भएको थियो । त्यतिबेलाका पनि उस्तै कथा छन् । के विगतले आजलाई निरन्तरता दिन सक्छ ? वा विगतका गल्तीले वर्तमानलाई पाठ पढाउन सक्दैन ? फरक यत्ति हो, जब हामी लाचार बनेर नेताहरूका भुत्ते तर्कमा पालिस लगाइरहेका हुनेछाँै, उनीहरूका च्यातिएका बोलीमा लोली मिलाइरहेका हुनेछौं ।

प्रसंग नेताहरूका विषवमन र ओकलाइमा केन्द्रित छ । जतिबेला छोरा प्रकाशको निधन भएको खबर प्रचण्डले थाहा पाए, उनी त्यतिबेला ओलीको प्रचारका निम्ति झापामा थिए । मार्सी चामलको भात खुवाएर अचानक चर्चित र विवादित बनेका बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको अस्पतालमा दुबै नेता थिए, त्यति नै बेला प्रकाशको निधन भएको खबर पाएर उनी त्यति नै बेला काठमाडौं उडे । तर, ओली गएनन् । अस्ति भर्खरै प्रचण्डले एउटा भाषणमा त्यो कुरा कोट्याए र भने, ओली कति निष्ठुरी रहेछन्– मेरो छोरो मर्दा पनि सहानुभूति प्रकट गरेनन् ।

जतिबेला केपी ओलीले बहुमत ल्याउने छाँट देखेनन् त्यसपछि प्रचण्डसँग हिमचिम बढाए । त्यति नै बेला प्रचण्डले एउटा अवसर देखे– ठूलो कम्युनिष्ट पार्टीको नेता बन्ने । दुबै नेतामा सैद्धान्तिक स्खलन र पार्टीको बिंडो थाम्ने सम्भावना नदेखेपछि पार्टीलाई एउटा भीडमा मिसाए । एउटा भीरमा लगेर उभ्याए । आज त्यो प्रश्नले मानिसलाई बढी चिमोट्छ । यी दुबै पार्टी एक नभएका भए के हुन्थ्यो ?

खासगरेर दक्षिण एसियाको राजनीतिमा एउटा रोग छ । त्यो आज नेपालमा पनि सर्लक्कै सरेको छ । भारतमा नेताहरूको बर्थडे मनाउन कार्यकर्ताको भीड लागेको देखिन्छ । पार्टीमा नीतिभन्दा पनि नेताको मुख ताक्ने प्रवृत्ति छ । भर्खरै म्यानमारमा प्रजातन्त्र खोसियो । सेनाले फेरि सत्ता कब्जा ग¥यो । बंगलादेश, पाकिस्तान आज पनि सैन्य सत्ताका कारण त्रसित छन् । आन्तरिक लोकतन्त्र छैन, त्यहाँ । बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाहरू नजरबन्दमा छन् ।

ओलीको कदम गलत भए पनि हामीसँग विकल्प नै भएन । जुन पार्टीमा जिन्दगीभरि बसियो । अब त्यो लगानीलाई माया मारेर कता जाऊँ ?’

जब सत्ताले उल्टो यात्रा तय गर्छ, त्यतिबेला सत्ता संकट शुरु हुन्छ । अमेरिकामा देखिएको राजनीतिक संकट त्यसकै एउटा उदाहरण हो । ट्रम्पको पतनदेखि भारतमा मोदीविरोधी लहरले अबको विश्वमा सत्ता संकटको अभ्यास भइरहेको छ भन्दा हुन्छ । त्यसको लहर नेपालसम्म आइसकेको छ । यतिबेला केपी ओलीविरुद्ध चर्केको आन्दोलनले यसै कुरालाई पुष्टि मात्र गर्दैन, प्रमाणित नै गर्छ । जब सत्ताले आफूलाई मात्र देख्छ, त्यसको परिणाम दर्दनाक हुन्छ । आजको विश्वमा सत्ताहरूले गलत शैली अपनाएर धेरै लामो यात्रा तय गर्न सक्दैनन् । समाज विकासको चरित्रले त्यस्तो शैलीलाई अस्वीकार गर्छ । प्रविधिको प्रयोग र सामाजिक सञ्जालको प्रयोगले आज कसैले पनि गरेको झुट टिक्दैन । सत्य डग्दैन, झुट टिक्दैन । ढिलो–चाँडो मात्र हो ।

काटाकाट प्रवृत्तिलाई जबसम्म कार्यकर्ताले साथ दिनेछन्, त्यतिञ्जेलसम्म नेताहरूको व्यापार राम्रैसँग चल्नेछ ।

फेरि पनि प्रसंग उही दोहोरिन्छ । आज नेकपाको फुटलाई सही मानेर हिँड्ने साइबर सेनाहरू कुन मनोविज्ञान लिएर हुर्केका छन् ? जब कुनै पनि कार्यकर्ता विचार र तर्कमा विश्वास गर्न सक्दैन, त्यो कार्यकर्ताले नेतृत्व गर्न सक्दैन । अन्ततः त्यस्तो कार्यकर्ताले भरिएको पार्टी पनि उस्तै भुंग्रोजस्तै हुन्छ । आगो तापेर छाडिएको खरानीजस्तो बन्छ । आज पार्टीलाई त्यस्तो खरानी बनाउने कि तात्तातो आगोजस्तो ? यो प्रश्न गर्नुपर्नेमा साइबर सेनाहरू भारततिरजस्तै नेताहरूका जन्मदिनमा केक काटिरहेका छन् । र, त्यही केक खाएर मुख मिठ्याइरहेका देखिन्छन् ।

पूर्वतिरका एक जना कम्युनिष्ट कार्यकर्ताले एकदिन भने, ‘अब के गर्नु ओलीको कदम गलत भए पनि हामीसँग विकल्प नै भएन । जुन पार्टीमा जिन्दगीभरि बसियो । अब त्यो लगानीलाई माया मारेर कता जाऊँ ?’

उनको अनुहारमा पीडा थियो । उनले प्रतिनिधिसभा विघटनगलत्तै भए पनि पार्टी बचाउने पक्षमा आफू लाग्ने लक्षण देखाएबाट पुष्टि हुन्छ कि अबको गन्तव्य के हो । जहाँसम्म नेताहरूको सत्तोसराप र गालीले कार्यकर्तामा एकअर्काबीच उत्पन्न गराउने प्रतिरोधात्मक क्षमता छ, त्यो केही हदसम्म बढाउला । तर, अन्ततः जब कार्यकर्ताले त्यो अन्तरविरोधको कारण पत्ता लगाउनेछन्, त्यसबेला चेत खुल्नेछ । त्यतिबेला उनीहरूमा चेतना आउनेछ, कारण नेताहरूले हामीबीच झैझगडा गराएर खाइरहेका छन् । मन मिल्दा चाटाचाट, नमिल्दा काटाकाट गर्ने प्रवृत्तिलाई जबसम्म कार्यकर्ताले साथ दिनेछन्, त्यतिञ्जेलसम्म नेताहरूको व्यापार राम्रैसँग चल्नेछ । जब कार्यकर्ता आफँै नेता बन्नेछ, त्यतिबेला उसले कुरा बुझ्नेछ र भन्नेछ, ओ…नेताज्यू, तिम्रा कदमहरू सही छैनन् । पाइलाहरू सच्याऊ वा साथ छोड ।

टिप्पणीहरू