शरणार्थीको नाममा फेरि षड्यन्त्र

‘र’को उच्च ओहदामा बसेका, तिनीनिकटलाई भजाएर नक्कली भुटानी शरणार्थी बनाई अमेरिका र क्यानाडा लैजान्छौं भन्दै करोडौं असुल्ने एउटा ‘भिआइपी’ मानव तस्करको गिरोहले झापा, मोरङलगायत अन्य केही स्थानका युवाको बिल्लीबाठ बनाएको छ ।

खासगरी भुटानीहरू सात समुद्रपारि उडिनसक्दै अमेरिका र क्यानाडा लैजाने सपना देखाएर पाँच÷सात लाखदेखि बाह्र÷पन्ध्र लाखसम्म उठाएको गिरोह हाल भुटानी शरणार्थीलाई हेर्ने राष्ट्रसंघीय मिसन आइओएम उठेर हिँडेपछि इन्तु न चिन्तु भएको छ । एक गिरोहले मोरङका पथरी, कानेपोखरी, बेलबारी र आसपासका दुई सयभन्दा बढीलाई ठगेको छ । ३५ लाख दिए शरणार्थी बनाएर कसैलाई क्यानाडा त कसैलाई अमेरिका पु¥याइदिने भन्दै प्रायःबाट १० लाख लिन भ्याइसकेको गिरोहका नाइके कांग्रेस नेत्री सुजाता कोइरालाका पूर्व पिए तथा नेविसंघका पूर्वकेन्द्रीय सदस्य केशव दुलाल हुन् । त्यसैगरी, गृहमन्त्री बादल र टोपबहादुर रायमाझीको नजिकको मान्छे बताउने काठमाडौंतिरका साने भण्डारी पनि सो गिरोहमा संलग्न छन् । सो गिरोहले मोरङ पथरी, शनिश्चरे १० का वडाध्यक्ष सागर थुलुङ, कानेपोखरीका धीरेन राई, बेलबारीका विक्रम राईलगायत मोरङका कांग्रेसनिकट केही युवा नेता तथा जनप्रतिनिधिलाई कमिसनको लोभ देखाई युवाबाट पैसा उठाउन लगाएको पाइएको छ । चरम बेइज्जत हुने डर बढेपछि उत्तरी मोरङका एक वडाध्यक्षले त केही युवाबाट उठाएको पैसा फिर्ता नै गरिदिएका छन् ।

गिरोहका नाइके सुजाताका पूर्वपिए केशव दुलालले युएन र युएनएच सीआर मिलाउने तथा साने भण्डारीले गृह मन्त्रालय मिलाउने भन्दै पैसा उठाइएको थियो । मोरङ बेलबारीका एक पास्टरलाई प्रयोग गरी दुई दर्जन क्रिश्चियन युवाबाट दश–दश लाख उठाइएको थियो । क्यानाडा, अमेरिका उड्ने सपना देखेर दुई तीन वर्षयता आठ÷दश लाख गुमाउनेमा केही क्रिश्चियन युवासमेत छन् । पथरीशनिश्चरे १० का वडाध्यक्ष सागर थुलुङले सयभन्दा बढी युवाबाट दश÷दश लाख उठाएका थिए । दुई दर्जनभन्दा बढी युवाबाट पैसा उठाएका विक्रम राई हाल पैसा फिर्ता माग्नेहरूको दबाबले तनावमा काठमाडौंतिर बसेका छन् । त्यसैगरी, झण्डै तीन दर्जन युवाबाट पैसा उठाएका कानेपोखरीका धीरेन राईको हालत पनि उस्तै छ । उनीहरूले अरू केही व्यक्तिलाई पनि पैसा उठाउन लगाएका थिए । कार चढेर हिँड्ने एजेण्टहरू सागर र विक्रमहरू तनावमा भइरहँदा सब एजेण्टहरू पनि पिरलोमा छन् ।

मोरङमा डेढदेखि दुई सय युवाबाट दश–दश लाखका दरले पैसा उठाएको स्रोतले जनाएको छ । ३५ लाखका दरले उता पठाउने भनिएअनुसार करिब ७० करोड असुल्ने इरादा भए पनि १० लाखका दरले करिब २० करोड उठाएको देखिएको छ । सो रकम क–कसले कति–कति झ्वाम पारे भन्ने यकिन नभए पनि उठाइएको सबै पैसाको केही हिस्सा गृहमन्त्रीको ‘नजिकको मान्छे’ भनेर चिनाउने साने भण्डारीले लगेको खुलेको छ ।

त्यसो त भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै ठग्ने गिरोह झापामा मोरङमा भन्दा झन् बढी सक्रिय रहेको पाइएको छ । दुई÷तीन वर्षभन्दा अगाडि भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा ठगिएका थुप्रैले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी नै दिएका छन् । सरकार र युएनएचसिआरले केही वास्तविक भुटानी प्रमाणीकरणमा छुटाएको मौकाको फाइदा उठाउँदै उनीहरूले भुटानी शरणार्थी र नेपाली नागरिकसँग पैसा असुलेका थिए । गृहमा त्यस्ता मान्छेलाई भुटानी शरणार्थी प्रमाणित गर्न लबिङ गर्ने सो गिरोहले सयौंलाई डुबाएको खुलेको छ । तस्करहरूको योजनाको कुरो सरकारी स्तरमै पुगेपछि गृह मन्त्रालयमार्फत दुईवटा बेग्लाबेग्लै समिति बनाएर अनुसन्धान नै गरिसकिएको छ ।

गृह मन्त्रालयका अधिकांश उच्च अधिकारीहरूसँग हिमचिम र उठबस गर्ने मन्त्री सचिवालयसम्मै पहुँच भएका राजेन्द्र कार्की र सिंहराज केरुङ तथा झापास्थित शरणार्थी समन्वय इकाइ (आरसीयु) का तत्कालीन संयोजक शाखा अधिकृत यज्ञ निरौला र राजमान गुरुङसमेत छन् । एक÷डेढ वर्षसम्म हरेक दिनजसो गृह परिसरमै भेटिने कार्की र केरुङको अत्तोपत्तो छैन ।

गृह मन्त्रालय र शरणार्थीलाई सघाउने संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) र अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) सँग पनि कुनै साइनो नभएका यिनीहरूले नयाँ व्यक्तिलाई भुटानी शरणार्थीको रूपमा प्रमाणीकरण गराउने र अमेरिका पठाइदिने भन्दै पैसा असुलेका थिए । झापास्थित शरणार्थी समन्वय इकाइ (आरसीयु) का तत्कालीन संयोजक शाखा अधिकृत यज्ञ निरौला र राजमान गुरुङसहितको पहलमा ०७५ साउनमा यही समूहको सेटिङमा थप १२ शरणार्थीको प्रमाणीकरण भई त्यो निर्णय शंकाको घेरामा परेपछि तेस्रो देश पुनर्वासका नाउँमा अमेरिका पठाउने योजना खल्बलिएको थियो ।

– महेन्द्र क्षेत्रीबाट

टिप्पणीहरू