केवल एउटा निर्णयको कारण…

केवल एउटा निर्णयको कारण…

सुनमा जन्मिएँ, हीरामा हुर्किएँ, अहिले काँडैकाँडाबीच बाँच्ने अभ्यास गर्दै छु । बाल्यकालमा कुनै दुःखको आभाष भएन ÷दुःखले छोएन । सम्पन्न परिवारमा जन्मिएर, हुर्किएकी चेली । धेरैलाई लाग्दो हो मारवाडीका छोरी/चेली सुख–सयल र मोजमस्तीको जीवन बिताउँछन् तर एउटा ‘अपवाद’ हुँ म । के छोरी भएर जन्मनु पाप हो ?

बुवाले १० कक्षापछिको पढाइमा उति रुचि देखाउनु भएन । स्कुलमा उति धेरै खर्च नहुने भएर मात्र हो । तर, मेरो जिद्दीका बाबजुद प्लस टु (साइन्स) सम्मको अध्ययन पूरा गरेँ ।

हुर्कंदै गरेकी एउटी चेलीको इच्छा र आकांक्षामाथि परिवारबाटै खुँडा चलाइयो । बुवा/आमा र आफन्त नै बैरी भइदिए । मैले भोगिरहेको सास्तीको पहाड, यो मनभरि कति चोट र व्यथा सँगालेर राखेको छु । त्यो कतै छ भने दैवलाई थाहा होला ।

मनमा त इच्छा थियो दाजुले जस्तै इञ्जिनियरिङ शिक्षा अध्ययन गर्ने । डराइ/डराइ प्रस्ताव बुवासँग राखेँ । उहाँले नाइँ भन्नु भएन, तर कम खर्चमा अध्ययन गर्न सकिने गरी भारतको एउटा कलेजमा भर्ना गरिदिनुभयो । मन खुशी थियो । पुतलीझैं उडेको थियो मन । तर, जब कलेजले नागरिकताको प्रमाणपत्र माग्यो, त्यो पेश गर्न नसकेपछि त्यहाँ अध्ययन गरिरहनसक्ने अवस्था रहेन । अध्ययनकै सिलसिलामा बेङलोरसम्म पुगेँ । आफूले भनेको कलेजमा अध्ययन नगरेका कारण बुवा रिसाउनुभयो, बोल्न छाड्नुभयो । दुःख–सुख गरेरै भए पनि ब्याचलर लेभलको पढाइ सकाएँ र स्वदेश फर्किएँ । जब घरमा आएँ जतिखेर पनि पिताजी मेरो कारणले कलेजमा यति पैसा डुब्यो, उति पैसा डुब्यो मात्र भन्नुहुन्थ्यो । बिहानै, दिउँसै, बेलुकै एउटै कुराले टोक्न थालेपछि दिक्क लाग्दोरहेछ । उहाँकै कारण मानसिक स्थिति ठीक भएन । सधैं एकै प्रकारको टोकसो भएपछि छुट्टै बसेर काम गर्न थालेको थिएँ ।

सँगैको कोठामा रहेको एक जनाको बुवा गाउँबाट सिकिस्त भएर आउनुभएको रहेछ । उनीहरूको स्थिति हेर्दा मन थाम्नै सकिनँ । कोमल मन मैनझैँ पग्लिहाल्यो ।

दिनरात सकेको सहयोग गर्न थालेँ । एक महिनापछि उनी ठीक पनि भए । जब उनलाई शहरबाट बिदाइ गर्ने समय भयो । तब ती वृद्धले हात समाएर भने, ‘तपाईंले मेरो सेवा आफ्नै छोराले भन्दा बढी गर्नुभयो । केही संकोच नभए, मेरो छोराको हात थाम्नुभयो भने साह्रै खुशी हुनेछु । यति भन्दा नभन्दै उनको आँखाबाट अश्रुधारा बग्न थाल्यो ।’

बुवा/आमा, आफन्त छैनन् भनौं जीवितै छन् । छन् कसरी भनौं । एक्लै थिएँ । केही सोच्नै सकिनँ । कसैसँग केही सल्लाह पनि लिइन/लिइरहन आवश्यक पनि ठानिनँ । ‘हुन्छ’ भनी स्वीकार गरेँ उक्त प्रस्तावलाई । यसरी मन्दिरमा टीकाटालो लगाएर विवाह भयो तिनै वृद्धको छोरासँग । घर कहाँ हो पनि थाहा थिएन, के गर्छन् पनि थाहा थिएन । तैपनि, शुरुमा आफू ‘गौतम’ भएको बताए ।

विवाह भएपछि पनि काम गर्न छाडेको थिइनँ । समय क्रमसँगै एउटा सन्तान (छोरी)को जन्म भयो । थाहा भयो ऐलानी जग्गामा एउटा झुपडी । न त उनी उनले भनेझैँ गौतम थिए, परियार रहेछन् । जात र भातले त हुने केही थिएन । जे हुनु भइसकेको थियो । आफैँबाट भएको गल्ती सम्झेर चुप लागेँ । रोएर हुने पनि केही थिएन, कराएर पनि हुनेवाला केही थिएन । छोरीका लागि भए पनि बाँच्नुपर्छ भन्ने सोच्न थालेँ । छोरी अलि ठूली भएपछि फेरि काम गर्न थालँे । मैले सोचेजस्तो सहज रेखामा चलेन जिन्दगी । श्रीमान्को एक रूपैयाँ कमाइ कस्तो हुन्छ देख्न पाइएन, जति कमाउँछन्, खाने, पिउने रमाउने र उडाउने स्वभाव रहेछ । बुवाबाट पीडा भोगेर भाग्दै हिँडेकी म झनै ठूलो पहाडमा आएर ठोक्किएँ । भनौं न, तावाबाट खसेको माछा भुंग्रामा परेँ । श्रीमान्बाट झनै पीडामाथि पीडा खेप्न बाध्य भएँ । उनलाई सुधार्न लाख प्रयास गरें । सबै बालुवामा पानी खन्याएजस्तै भयो । उल्टै पिट्ने र दुव्र्यवहार गर्न थाले ।

मानसिक तनावको ग्राफ यसरी प्रतिदिन बढ्दै गइरहेको थियो त्यही बीचमा कोखमा बच्चा आयो । बच्चा फाल्ने कुरा भएन । छोराको जन्म भयो । एकातिर गरिबी, त्यहीमाथि तनाव । छोरा जन्मिएपछि स्वास्थ्य अवस्था झन् बिग्रियो । श्रीमान्को पुरानो बानी सुध्रिने छाँटकाँट कहिल्यै देखिएन । महँगो काठमाडौंले टिक्न दिएन । उनकै गाउँतिर खेद्यो काठमाडौंले । त्यहाँ पुगेपछि थाहा पाएँ, सासूको मानसिक अवस्था एकदमै ठीक थिएन । जतिखेर पनि झम्टने, झर्कने । म आफैं त उनीसँग डराउँथेँ, मेरा बच्चाहरू बस्न सक्ने अवस्थै रहेन । छुट्टै कोठा लिएर बस्न थालेँ । यही बीचमा श्रीमान्ले अरूसँग ऋण गरी–गरी त्यही जग्गामा घर बनाउनुभएको थियो ।

त्यो ऋण तिर्न सक्ने अवस्था थिएन । मेरो कामबाट आएको पैसासमेत उनीहरू नै लैजान्थे । एउटा जालबाट उम्केको मान्छे, म अर्काेपछि अर्काे जालको जञ्जालमा फस्दै गएँ । केही जोर नलागेपछि अन्ततः आफ्नै काकालाई अनुनय–विनय गरी खबर पठाएँ मलाई यो जालबाट निकालिदिनुहोस् भनेर । काकाले काठमाडौं लिएर आउनुभयो । श्रीमान्सँग टिकेर बस्न सक्ने अवस्था थिएन । माइती नेपालका केही अग्रजसँग सल्लाह र सुझावमा छोडपत्रको आवेदन दिएँ । वकिलले श्रीमान्लाई बोलाउनुभयो । आफ्नै गल्तीका कारण मेरा छोराछोरीसँग अब भेट्न पनि नपाउने भएँ भन्दै वकिलहरूकै अगाडि विष सेवन गर्नुभयो । अस्पताल लगेर पनि बचाउन सकिएन । बेला–बेला मनमा बुवा, आमा दाजु, भाइ आफन्त सम्झन्थँे । आफ्नो जिन्दगी सम्झन्थेँ ? हाय ! कहाँको म, कहाँ जान हिँडेकी ? जिन्दगीले ओरालै, ओरालो भीरको बाटोमा कहाँ लगेर एक्लै छाडिदियो । निर्झर जिन्दगीमाथि हेर्दा ठाडो भीर देख्थेँ, तल हेर्दा भीरै भीर देख्थेँ । बाँच्न मन फिटिक्कै थिएन । तर थिए, दुई लालाबाला । तिनकै लागि भए पनि बाँच्नु छँदै थियो ।

म फेरि एक्लो भएँ । जाने ठाउँ कतै रहेन । कस्ता निष्ठुर पिताहरू पनि हुन्छन् यो धर्तीमा । म कष्टको भुमरीमा पौडी खेल्दै छु । बाबाले घर लैजान चाहनु भएन । आफ्नो कार्यालयमा बस्ने ठाउँसम्म दिनुभयो तर बच्चाहरू सानै थिए । म काम गर्न सक्ने अवस्थामा थिइनँ । बुवाले पर्याप्त खर्च दिनुहुन्नथ्यो । मनमा लाग्थ्यो, बुवाको अगाडि देखिएर तनाव नदिऊँ । त्यही सोचले त्यहाँबाट बौद्ध क्षेत्रमा बस्न थालँे । त्यतै काम पनि गर्न थालँे । तर, त्यही समयमा प्रलयकारी कोरोना कहर भित्रियो । धेरैका सन्तान बिते । कति अस्पताल पुगे । सम्झँदा मात्र पनि आँखाबाट बलिन्द्र आँशुका धारा छुट्छन्, अरुका बुवा/आमाले आफ्ना छोरीहरूलाई फोन गरेको सुन्दा, देख्दा । मेरो बुवा–आमाले कहिल्यै छोरी कस्तो छ ? सुरक्षित तवरले रहु है भनेनन्, सोधखोज गरेनन् । कसैको बुवा–आमाको मन पत्थरको हुँदो रहेछ ।

तर, यही धर्तीमा देवतारूपी मानव पनि हुन्छन् । मेरा बुवाले बेवास्ता गरे पनि काकाले सदैव सोधखोज गर्नुहुन्थ्यो । नजिकबाट हेरिरहनुभएको थियो मलाई । सक्दो सहयोग गर्नुहुन्थ्यो । उहाँले नै काम खोजेर लगाइदिनुभयो । समयक्रमसँगै, आफ्नो योग्यताअनुसार काम पाउन नसके पनि बोर्डिङ स्कुलमा बच्चा पढाउने काम पाएको थिएँ । ती बच्चालाई पढाएर कति नै तलब हात लाग्थ्यो र ? यही बीचमा कोरोना भित्रियो । कोरोनाकै कारण देखाएर जागिर गयो । तनाव त जस्ताको तस्तै थियो । तनावकै बीचमा एक दिन काकालाई म्यासेज छाडेँ ‘मेरा बालबच्चालाई कुनै अनाथालयमा लगिदिनुहोला अंकल, मलाई बाँच्न मन लागेन ।’ यति टेक्स्ट गरी विष सेवन गरेकोसम्म याद छ । पछि होसमा आउँदा आफूलाई अस्पतालको बेडमा पाएँ । मलाई बचाउन काकाले कुनै कसर बाँकी राख्नु भएन । तर, आमा बुवा भने मरे पनि हुन्छ त्यो भन्नुहुन्थ्यो रे मेरो कानमा परिहाल्थ्यो । रुन मन लाग्थ्यो तर रुनका लागि आँखामा आँशु नै कहाँ बाँकी थियो र ? कुरुवा बस्नसमेत भाडाका मान्छे पठाउनुहुन्थ्यो । बुवा÷आमालाई पैसा भए सबै चिज पाइन्छ भन्ने लागेको हुँदो हो ? कुनै दिन यो छोरीलाई सम्झेर बुवा आमाको आँखाबाट आँशु अवश्य आउनेछ । मलाई यति धेरै दुःख व्यथा र पीडा दिनु थियो भने जन्मँदै घाँटी निमोठोर किन फालिदिइनौ आमा ? कहिलेकाहीँ प्रश्न सोध्न मन लाग्छ । बुवा निर्दयी भए पनि आमा निर्दयी नहुनुपर्ने हो । ढुंगाको हृदय भएका आमाहरू पनि हुँदा रहेछन् । अनाथ हुँ भनौं म अनाथ होइन । आफन्त छन् भनौं, बुवा÷दाजुहरूको व्यवहार कहिल्यै पनि फेरिएन । नचाहेर पनि बाँच्नै पर्ने रहेछ जिन्दगी । दुनियाँको चोट र पीडा त मान्छेले सहजै सहन सक्ला तर सक्दैन रहेछ आफन्तले गरेको छिःछि र हेयको व्यवहार सहन ।

– सीमा जैसवाल, घट्टेकुलो

टिप्पणीहरू