स्टालिन माओसँग किन सशंकित

स्टालिन माओसँग किन सशंकित

रुसी नेता जोसेफ स्टालिनको शासनकालमा गुप्तचर विभाग ‘एनकेभिडी’ खुब सक्रिय थियो । लेनिनको पालामा एनकेभिडीले गर्ने जासुसी कार्य खुफिया प्रहरी (ओजिपियु) ले गथ्र्यो । सन् १९४० मा गुप्तचर विभागका प्रमुख थिए– लाभरेन्टी बेरिया । स्टालिनका विश्वासपात्र । उनकै सुझावमा स्टालिनले एउटा अचम्मको प्रयोगशाला बनाउने अनुमति प्रदान गरे । त्यसबेलासम्म सोभियत संघसित कुराकानी रेकर्ड गर्ने यन्त्र थिएन । त्यसैले आफ्नो देशमा आउने विदेशी राजनेता तथा कूटनीतिज्ञहरुको जासुसी गर्न सो प्रयोगशाला बनाउन थालियो । बेरिया स्वयं प्रमुख रहने गरी बनाइएको प्रयोगशालामा विदेशी नेताहरुको दिसा जाँच गरिन्थ्यो । ६० को दशकमा पश्चिम युरोपतिर पलायन भएका सोभियत जासुस इगोर अटामानेनका अनुसार जाँचमा दिसामा धेरै मात्रामा एमिनो ट्रिप्टोफैन एसिड पाइएमा त्यस्ता व्यक्ति शान्त र अत्यन्त मिलनसार हुन् भन्ने व्याख्या गरिन्थ्यो । त्यस्तै दिसामा पोटासियमको मात्रा कम देखिएमा त्यस्ता व्यक्ति डरछेरुवा र अनिँदो रहने अनुमान गरिन्थ्यो ।

चीनमा माओत्सेतुङको उदय भई नवगणतन्त्र बनेकामा स्टालिनलगायत रुसी नेताहरु त्यति खुशी थिएनन् । रुसले चिनियाँ कम्युनिष्टहरुका शत्रु च्याङ काइसेकसँग मजबुत दौत्य सम्बन्ध स्थापना गरेको थियो । च्याङ काइसेक जब फार्मोसा (ताइवान) तर्फ भागेर त्यहाँको सत्ता सम्हाले, माओले ताइवानमाथि आक्रमण गर्न रुसी सहयोग खोजेका थिए तर स्टालिनले मौखिक बचन मात्र दिए, सहायता गरेनन् । माओ रुस र चीन दुवै साम्यवादी मुलुक भएकाले सबै क्षेत्रमा सहयोग चाहन्थे तर रुस दुई देशको सम्बन्धमा आफूलाई चीनको ‘दाजु’ सरह व्यवहार गर्न चाहन्थ्यो । माओ यस्तो व्यवहारको विपक्षमा थिए । उनी समानतामा आधारित सम्बन्धको पक्षपाती थिए । रुसको व्यवहारबाट क्षुब्ध माओले सन् १९५८ मा रुसी राजदूत पाभेल युडिनलाई भने पनि, ‘रुसी नेताहरुले चिनियाँहरुलाई कहिल्यै विश्वास गरेनन् । चिनियाँहरुलाई विश्वास नगर्नेमा एक नम्बरका रुसी नेता स्टालिन हुन् ।’

सन् १९४९ को अक्टोबरमा माओको नेतृत्वमा सम्पन्न क्रान्तिले चीन नवजनवादी मुलुक बन्यो । यसको दुई महिनापछि करिब दुई महिना लामो भ्रमणमा माओ मस्को गए । १६ डिसेम्बरमा पुगेका उनी र स्टालिनबीच पर्सिपल्ट एक घण्टा भेटघाट भयो । त्यसपछि लामो समय पर्खनुप¥यो । माओलाई जुन पाहुनाघरमा राखिएको थियो, त्यहाँको शौचालयमा ढलको व्यवस्था थिएन । दिसा एउटा बक्सामा संकलित हुन्थ्यो । माओलाई त्यहाँ रहन कुनै असुविधा थिएन । खाना र पानीको उत्तम व्यवस्था थियो । माओको दिसा संकलित बक्सा दिनहुँ फेरिन्थ्यो । उठाइएको बक्सा गुप्तचर विभागद्वारा स्थापित प्रयोगशालामा लगिन्थ्यो । अत्यन्त गोप्य तवरबाट निर्मित उक्त प्रयोगशालामा माओको दिसा जाँच गरिन्थ्यो । यो जाँच प्रक्रिया १० दिनसम्म चल्यो ।

अमेरिकी पत्रकार, लेखक र इतिहासकार डेभिड हालबेस्टमले एउटा पुस्तक लेखेका छन्, ‘दि कोल्डेस्ट विन्टर ।’ सन् २००७ मा प्रकाशित पुस्तक कोरिया युद्धको बारेमा छ । जसमा उल्लेख छ, ‘जोसेफ स्टालिनसँग भेटेर रुस र चीनबीच मजबुत ढंगको दौत्य सम्बन्ध स्थापना गर्ने लक्ष्यसहित माओ मस्को पुगेका थिए । उनले पहिलो भेटमै स्टालिनसित भने, ‘आफूलाई त्यसैअनुरुपको व्यवहार गर्नु, जस्तो आफू समानकासँग गरिन्छ ।’

सायद माओको यो भनाइबाट शुरुमै रुसी नेता क्षुब्ध बने । फेरि भेट गर्ने र दौत्य सम्बन्ध स्थापनाको सम्झौतामा हस्ताक्षर गर्ने नामै लिएनन् । माओ त्यहाँ १० दिनसम्म कैदी–पाहुना बनिरहन विवश बने । माओलाई पनि शंका लाग्यो, रुसीहरुले भित्तामा जासुसी यन्त्र लगाएका छन् । त्यसैले एकपटक चिच्याउँदै भने पनि, ‘म यहाँ खान र मल त्याग्न मात्र आएको हो ? म कति महत्वपूर्ण काम सम्पन्न गर्न आएको छु !’

अन्त्यमा १० दिनसम्म माओको दिसाको सूक्ष्म जाँचपछि स्टालिन बल्ल माओसँग पुनः भेट्न र सम्झौतामा हस्ताक्षर गर्न राजी बने । ३० करोड डलर ऋण सहयोगलगायत विभिन्न बुँदामा हस्ताक्षर भयो । माओ फेबु्रअरी १३ (सन् १९५०) मा मात्र मस्को भ्रमण सकाएर चीन फर्किए । रुसी दैनिक पत्रिका ‘कोम्सोमोल्स्काया प्राभ्दा’ का अनुसार स्टालिनको समयमा स्थापना गरिएको विशेष प्रकारको ‘मल परीक्षण प्रयोगशाला’ उनको निधनपछि सोभियत संघको नेतृत्व गर्न पुगेका निकिता खु्रस्चेभले सन् १९५६ मा बन्द गर्न लगाए ।

दिल्लीमा महारानीको देहावसान

कपुरथला भारत पञ्जाबभित्रको एउटा राज्य । भारतमा बेलायतको इष्ट इण्डिया कम्पनीले शासन चलाएको बेला त्यहाँ अहलुवालिया (सिख) हरुको शासन थियो । कपुरथला स्वतन्त्र भारतको अंग बन्नुअघि त्यहाँका महाराजा थिए– जगतजित सिंह । जगतजितले ७० वर्ष शासन गरे । महाराजा बन्दा उमेर मात्र पाँच वर्ष थियो । सन् १८९१ मा १९ वर्षको भएपछि विवाहयोग्य केटी खोज्न शुरु गरियो । महाराजाको शरीर एकदम मोटो थियो । दरबारियाहरुलाई सन्तान जन्माउन सक्दैनन् कि भन्ने चिन्ता थियो । तैपनि सल्लाहकारहरुले २ सय ५० जना युवती विभिन्न नगर र गाउँबाट छाने । सबै राजपुत घरानाका । कोही पनि १७ वर्षभन्दा माथिका थिएनन् ।

दरबारियाहरु महारानी छान्न लावालस्करका साथ गाउँतर्फ लागे । ब्याण्ड बाजा अगाडि थियो । दरबारियाहरुले युवतीहरुको जाँचपड्ताल शुरु गरे । महिला चिकित्सकहरुले युवतीहरुको यौनांग र गर्भाशयको परीक्षण थाले– भविष्यमा सन्तान उत्पन्न गर्न सक्षम छन् कि छैनन् भनेर । पुरुष डाक्टरले थुक, रगत र पिसाब जाँच्न थाले । चार–पाँच जना दरबारियाले युवतीको उचाइ र शरीरको नाप लिए । शरीरको नाप लिने बहानामा आफ्नो स्तनमा खेल्ने गरेको कतिपय युवतीले आरोपसमेत लगाए । अन्तिममा पार्वती कौर छनोटमा परिन् । उनी रानी पार्वती कौर साहिबा बनिन् । स्मरणीय छ, महाराज १४ वर्ष हुँदै हरवंश कौरसँग बिहे भएर उनी महारानी घोषित भइसकेकी थिइन् ।

महाराज जगतजितका दुईवटा शौख थिए । एउटा युवती, अर्को फ्रान्स भ्रमण । पेरिस र लण्डनको भ्रमण मामाघर यात्राजस्तै थियो । युरोपकै भ्रमणका क्रममा चेकोस्लोभाकियाको राजधानी प्राग पुगे । त्यहाँ उनको भेट युजिन मारी ग्रोसुपोभासँग भयो । उनी हंगेरीको काउन्टका अवैध सन्तान थिइन् । प्रागको नाट्यघरमा अभिनेत्री भएर खेल्थिन् । भेटपछि महाराजाले उनलाई भारत आउन निम्तो थिए । युजिन आमा र बज्यैसँग भारत पुगिन् र महाराजाको दरबारमा बसिन् । दरबारको अतिथिगृहमा बसाइकै क्रममा एकदिन महाराजाले युजिनलाई बहुमूल्य रत्न र वस्त्र उपहार दिए र विवाहको प्रस्ताव राखे । युजिन दरबारमा महाराजाको ‘रखैल’ बनिसकेकै थिइन्, त्यसैले विवाहको प्रस्तावलाई सहर्ष स्वीकारिन् ।

विवाहपछि महाराजा रानी तारादेवी बनेकी युजिनलाई लिएर युरोप भ्रमणमा निस्के । स्वदेश फर्कंदा दरबारभित्रको परिस्थिति पूर्णतः बिग्रिसकेको थियो । महाराजाकै निजी सचिव मथुरादास र उक्त राज्यका प्रधानमन्त्री सिकन्दरले महाराजालाई युजिनकी आमा र बज्यैविरुद्ध उक्साउन थाले । यसबीच युजिन उर्फ तारादेवीकी आमा र बज्यैको मैसुरमा अचानक निधन भयो । तारादेवी शोकमा डुब्न थालिन् । उनलाई बाँच्न मन लागेन । महाराजाले ठूलो प्रेम प्रकट गर्दा पनि महाराजासँग रात बिताउन तयार भइनन् । महाराजाले निजी चिकत्सक एम. दाससँग परामर्श गरे । दासलाई महाराजाको यौन क्षमताबारे पूर्णतः जानकारी थियो । त्यसैले खुलस्त भनिदिए, ‘रानी शारीरिक भोकबाट ग्रस्त छिन् र महाराजा उनको भोक शान्त पार्न सक्षम हुनुहुन्न । त्यसैले उनी कहिल्यै तपाईंसँग सुत्न आउँदिनन् अब ।’

डाक्टरले कुनै जवान युवकसँग रानीलाई बाहिर घुम्न पठाइदिनुस् ताकि उनको नशामा आइरहेको तनाव कम होस् भने । महाराज मनले नमान्दा नमान्दै पनि डाक्टरको सल्लाह मान्न विवश बने । उनले मेजर वाइबी सिंहको साथमा रानी तारादेवीलाई दिल्ली पठाइदिए । दिल्ली पुगेपछि उनीहरु मेडन्ज होटलको सबैभन्दा माथिल्लो तलाको कोठामा बसे । त्यसबेलासम्ममा तारादेवीको तनाव उच्चविन्दुमा पुगिसकेको थियो । नशामा तनाव अत्यधिक बढिसकेको थियो । त्यसैले मेजर सिंहले तारादेवीसँग शारीरिक सम्बन्ध राख्न सकेनन् ।

एकदिन बिहानको खाना खाइसकेपछि मध्याह्नको समय तारादेवी आफ्ना दुईवटा कुकुरसहित कुतुबमिनार हेर्न होटलबाट निस्किन् । त्यहाँ ट्याक्सी छाडेर कुतुबमिनार चढ्न थालिन् । र, त्यहाँबाट हाम्फालेर ज्यान गुमाइन् । उनी कति उचाइबाट हाम्फालिन्, कसैले थाहा पाएनन् तर उनको लास दोस्रो तलाको रेलिङमा अड्केर झुण्डिरहेको अवस्थामा फेलाप¥यो । आत्महत्या गरेकी रानी तारादेवीको लासलाई पछि दिल्लीकै सेन्ट जेम्स चर्च परिसरको चिहानमा गाडियो । यो सन् १९४६ को घटना हो । उनी महाराज जगतजित सिंहकी छैटौं रानी थिइन् । तारादेवीले महाराजसँग जम्मा चार वर्ष बिताइन् । तारादेवीसँगै दुईवटै कुकुर पनि हामफालेका थिए । पाँचौं रानी पनि विदेशी नै थिइन् । प्रेम कौर उर्फ अनिता डेल्गाडो स्पेनी नर्तकी हुन् ।

टिप्पणीहरू