सन्तानलाई पनि तान्दै सिनेमातिर

सन्तानलाई पनि तान्दै सिनेमातिर

दुःख छ पुराना सेलिब्रेटीको । निर्माता, निर्देशकले पत्याउन छाडिहाले । फिल्म पाउन छाडेपछि आफँै लगानी गरेर भए पनि रहर त पूरा गर्नैपर्ने । अहिले पुराना कलाकार धमाधम मुर्गा खोजेर तिनलाई लगानी गर्न लगाउने, फिल्म बनाउने र सन्तानलाई नायक÷नायिका बनाएर खेलाउने रहर पूरा गर्दै छन् । झरना थापाझैं यही भीडमा थपिएकी छन् करिष्मा मानन्धर । नेपाली सिने क्षेत्रमा एउटा दुर्लभ संयोग छ, आमाले जुन चलचित्रबाट चर्चा कमाइन् त्यसैको सिक्वेल फिल्मबाट छोरीको डेब्यु । ‘ए मेरो हजुर’ बाट झरनाको चर्चा चुलिएको थियो । सोही चलचित्रको सिक्वेलमा सुहानीलाई खेलाइयो ।

झरना निर्देशक, सुनिल निर्माता भएर छोरीका लागि ‘ए मेरो हजुर’ बनाउन भ्याए । आमा निर्देशक, बाबु निर्माता, छोरी हिरोइन । फेरि पारिवारिक क्लबमा अर्काे फिल्म बन्दै छ । एक समयका चर्चित करिष्मा बनबास फिल्म बनाउने तयारी गर्दै छिन् । जसको निर्देशन उनैले गर्नेछिन् । यसअघि फागूले पानीसमेत भन्न पाएन । बनबास फिल्म पिता र छोरीको कथा वरपर घुम्नेछ । नायकका रूपमा पुराना अभिनेता सरोज खनाल अनुबन्धित भइसकेका छन् । यसरी बाउ निर्माता, आमा निर्देशक बनेर चलचित्र निर्माण गर्ने र सन्तानलाई नायक वा नायिकामा खेलाउने रोग नेपाली चलचित्रमा बढ्न थालेको छ । पछिल्लो समय भुवन केसीले छोरा अनमोललाई लिएर पारस द अनलक्की म्यान निर्माण गर्दै छन् । यस्तै, टीका पहारीले छोरा गौरवका लागि सिनेमा बनाए । यस्तै, छोरा सलोन बस्नेतका लागि सोभितले चलचित्र निर्माण गर्न भ्याए । नारायण पुरी निर्देशक रहेको आगोमा छोरा संयमलाई हिरो बनाए । यस्तो एउटा प्रेम कहानीमा शिव श्रेष्ठले शक्तिलाई नायक बनाउन भ्याए । अहिले नेपाली सिने क्षेत्रमा मौलाएको र थपिएको एउटा विकृति हो ‘नेपोटिज्म’ ।

हस्ताक्षर गर्दै, हराउँदै

केही नायिकाले फिल्म नपाएर रुवाबासी छ । कसैलाई हात लागेको फिल्म छाड्न भ्याइ नभ्याई । शुरुमा स्क्रिप्ट र भूमिका चित्त बुझेर फिल्म साइन गर्ने र छायांकन चल्दै गर्दा वा बीचमा फिल्म छाडेर हिँड्ने वर्षा शिवाकोटीको बानीका कारण निर्माता–निर्देशक हत्तु छन् । उनले हालै सुदूर नामक चलचित्र छाडिदिएपछि निर्देशक रमेश बुढाथोकी तनावमा परेका छन् । सुदूर डेढ वर्षअघि नै साइन गरेकी थिइन् वर्षाले । कोरोना कहरका कारण छायांकन हुन सकेको थिएन । आगामी चैतबाट छायांकनको तयारीमा थिए रमेश तर वर्षाले काम गर्न नसक्ने बचन फर्काएपछि रमेश नयाँ नायिकाको खोजीमा जुटेका छन् । यसअघि पनि वर्षाले फिल्म खेल्छु भनेर अनुबन्धित गरेको मेरो पैसा खोइ छाडिन् । त्यो रोज रानाले निर्माण गरेको फिल्म हो । गणेश सापकोटाहरूले बनाएको रानी महल उसैगरी बीचमै छाडिन् । आरोही केसी र श्रीधर पौडेलहरूले निर्माण गरेको गोपीलाई पनि लात्ती हान्न भ्याइन् । यस्तो रोग वर्षामा मात्र होइन, जल शाह, अनमोल केसीहरूमा पनि रहेको बताइन्छ ।

टिप्पणीहरू