छोरीको चरित्रचाहिँ सधैं उधिनिरहनुपर्ने ?

छोरीको चरित्रचाहिँ सधैं उधिनिरहनुपर्ने ?

सहनशिला शर्मा झा, पुजारी, श्री असन अन्नपूर्ण नारायण मन्दिर

गुठी संस्थाले श्री असन अन्नपूर्ण नारायण मन्दिरमा पुजारी नियुक्त गरेसँगै चर्चा र विवादमा एकैसाथ तानिएकी छन् सहनशिला शर्मा झा । पहिलो महिला पुजारी नियुक्त भएको खुशी उनले सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेसँगै धेरैले बधाई दिए भने केहीले उनको चालचलनमाथि प्रश्न उठाउन थालेका छन् । पूर्वसचिव भीम उपाध्यायले उनले मदिरा सेवन गरेको, हुक्का तानेको तस्बिर सामाजिक सञ्जालमा हालिदिएपछि उनी एकसाथ चर्चा र विवादमा तानिएकी हुन् । गुठी संस्थान शाखा कार्यालय, काठमाडौंबाट पुजारी पदमा १ वर्ष परीक्षणकाल रहने गरी बढीमा ५ वर्षको नियुक्ति दिइएकी उनी पेशाले पत्रकार हुन् । रासस, हिमालयन टाइम्समा लामो समय काम गरेर युटर्न भइन् र पत्रकारलाई तालिम दिने संस्था नेशनल इन्स्टिच्युट फर करियर डेभलपमेन्ट कमाण्ड गर्न थालिन् । यो बीचमा झण्डै ६ सय बढी पत्रकारलाई पत्रकारितासम्बन्धी तालिम दिइन् । प्रसिद्ध संगीतकार हुतराज शर्माको सुपुत्री हुन् ।

० तपाईंलाई पहिलो महिला पुजारी भन्ने आधार के हो ?

– म दिनदिनै मन्दिर जाने पुजारी होइन, श्री असन अन्नपूर्ण नारायण मन्दिरको छेउमै रहेको मन्दिर हो जहाँ पर्व–पर्वमा पूजा हुन्छ र त्यसकै लागि पुजारी नियुक्त गरिन्छ । वर्षमा तीनचोटि पूजा हुन्छ । कृष्णजन्माष्टमी, दसैंको नवमी र एकादशीको दिन । यो हामी आफैंले स्थापना गरेको । मेरो जिजुबुबा, हजुरबुवा, बुवा हुँदै भाइ पुजारी भएको । बुवा बितेपछि जिम्मेवारी भाइ प्रमोद शर्मामा सरेको थियो तर पनि बेलायतमा बसोबास गर्न थालेपछि पूजाआजाको काम प्रभावित भयो । परिवारमा अर्को छोरा नभएपछि मैले पुजारी नियुक्त गर्न माग गर्दै निवेदन दिएकी हुँ । गुठी संस्थानले वडाको सिफारिस ल्याउन भन्यो । त्यसपछि काठमाडौं महानगरपालिका– २७ मा सिफारिसका लागि निवेदन दिएँ र वडाले बनाइदियो । त्यही आधारमा गुठीले १५ गते नियुक्त गरेको हो । पूजा त महिलाले पनि गर्छन् सम्भवतः गुठी संस्थानबाट पत्र लिएर नियुक्त हुनेचाहिँ मै पहिलो हुँला कि ? यसअघि पूजाआजाको अधिकार छोरालाई मात्र दिइन्थ्यो । मैले त्यो परम्परालाई जितेँ ।

यसअघि छोरामा स्थान्तरण हुँदै आएको थियो यसपटक छोरीमा स्थान्तरण भयो ।

० १५ माघमा पुजारी नियुक्त हुँदा जुन खुशी थियो त्यो २४ घण्टा पनि टिकेन । निराशामा बदलियो, किन ?

– गुठी संस्थान यसको संरक्षक । हाम्रो परिवारबाट जसले पूजा गर्दा पनि हुन्छ । हाम्रो खानदानले गर्दै आएको पूजालाई निरन्तरता दिन माथिको पुस्ताबाट मेरो पुस्तासम्म सरेको मात्रै हो । यसअघि छोरामा स्थान्तरण हुँदै आएको थियो यसपटक छोरीमा स्थान्तरण भयो । १५ माघमा गुठी संस्थानले नियुक्ति दिएपछि सामाजिक सञ्जालबाट खुशी साँटेँ, धेरैबाट बधाई पाएँ, केहीले विवादमा तान्न खोजे । समाजमा सबै एकै सोच र चिन्तन भएका मान्छे त हुन्नन् । केहीलाई पचेन । छोरी अगाडि बढेको कहाँ हेर्न सक्छ र हाम्रो समाजले ?

० तपाईं पत्रकारिता पृष्ठभूमिको मान्छे, गुठीका हाकिमहरूलाई प्रभावित पारेर नियुक्ति लिनुभएको आरोप छ । के भन्नुहुन्छ ?

– लाग्दो हो धेरैलाई, यो राजनीतिक नियुक्ति हो । म त राजनीतिमा रुचि नै नभएको मान्छे । लाग्दो हो, पुजारी भएपछि मनग्यै तलब भत्ता, सुविधा पाइएला भन्ने भ्रम होला । त्यस्तो केही सेवा–सुविधा छैन । मन्दिरले पूजा खर्च भनेर दिँदो रहेछ, एक हजारदेखि बाह्र सय । २० औं वर्षदेखि हामीले लिएका छैनौं । भाइ विदेश भएपछि पूजाआजा नै रोकिने भयो । त्यही भएर गुठीले नियुक्ति दियो ।

महिलाले जे काम गरे पनि होच्याउने । । म भनेर मेरो दिदीको फोटो हालिएको छ । के आधुनिक मान्छे पुजारी नियुक्त हुनै सक्दैन ?

० गुठी संस्थानमा महिला पुजारी नियुक्त गर्ने नियम नै छैन भने तपाईंको नियुक्ति कसरी भयो त ?

– भाइ विदेश पुगेपछि मन्दिरमा ताला लाग्ने भयो । पुजारी नियुक्तिका लागि पढाइलगायत कुनै मापदण्ड छैन । सोही सम्प्रदायको हुनुपर्ने र पहिले पुजारी काम गरेको हुनुपर्ने मात्र उल्लेख छ । म रहरले पुजारी बनेको होइन । फेरि यो नित्य पूजा हुने ठाउँ पनि होइन ।

० तपाईंलाई अहिले विवादमा किन तानिएको होला ?

– महिलाले जे काम गरे पनि होच्याउने । सधैँभरि छोरालाई मात्र दिनुपर्छ भन्ने । मैले छोरी भएर पनि पाएँ । समाजमा सकारात्मकभन्दा नकारात्मक सोच भएका साथीहरू धेरै हुनुहुँदोरहेछ । समाजमा सबै कुरा सबैलाई चित्त बुझ्दैन । चित्त नबुझ्नेका लागि म केही गर्न सक्दिनँ । हाम्रा जिजुबाजेहरूले नै त्यहाँ मूर्ति स्थापना गरेर पूजा हुँदै आएको हो । प्रत्येक कृष्णजन्माष्टमीका दिन कृष्ण भगवान्लाई घरमा लैजाने, सजाउने र नयाँ जामा लगाई मन्दिरमा ल्याएर स्थापना गरिन्छ । पहिले हामीले पूजाआजा गरेपछि मात्र टोलबासीले पूजा गर्छन् ।

० तपाईं पुजारी नियुक्त भएसँगै मदिरा र हुक्का सेवन गरेका तस्बिर सामाजिक सञ्जालमा छरपष्ट भए । तपाईंको चालनचल्तीमाथि प्रश्न उठाइएछ । यो विवाद किन उठ्यो ?

– एक जना पूर्वसचिवले यस्तो हर्कत गर्नुभएछ । म भनेर मेरो दिदीको फोटो हालिएको छ । उहाँले आइतबार मात्र साइबर क्राइमको मुद्दामा सफाइ पाउनुभयो क्यारे ! उहाँलाई मेरो तर्फबाट धेरै–धेरै धन्यवाद । रातारात सेलिब्रिटी बनाइदिनुभयो । सायद उहाँले परिवारको दिदी–बहिनीलाई पनि यस्तै व्यवहार गर्नुहुन्छ होला । उहाँ जिन्दगीमा कुनै गल्ती नै नगर्ने, धेरै महान् मान्छे होला । तर, सय जनाले विरोध गरे पनि मैले हजारौँको माया सद्भाव पाएको छु । हरेक मान्छेको व्यक्तिगत जीवन हुन्छ । म हुर्किएँ असन, काठमाडौंमा । पत्रकारिताबाटै करिअर शुरु गरेकी हुँ । देशपरदेश घुमेकी छु । स्वाभाविक रूपमा रेस्टुराँमा बसेर खानपिन गरेकी छु । तिनै फोटो उधिनेर मानिसहरू मलाई नानाथरी गाली गरिरहेका छन् । मैले धर्म मास्न खोजेँ रे ? के आधुनिक मान्छे पुजारी नियुक्त हुनै सक्दैन ? मान्छेको व्यक्तिगत र पेशागत जीवन अलग हो । हेर्नुहोस् त, अहिले पनि भैरव र अन्नपूर्णलाई रक्सी चढाइन्छ । नेवारसमुदायमा रक्सीबिना सगुन नै पूरा हुँदैन । न त मान्छेको कल्चर थाहा छ । त्यसै हावाको तालमा उछाल्न त हुँदैन नि ! सधैँभरि पुरुषले मात्र नियुक्ति पाउने ठाउँमा महिलाले नियुक्ति पाउँदा नकारात्मक टिप्पणी किन ! यसको मतलब हाम्रो समाजमा परिवर्तन आउन अझै समय लाग्छ ।

० तपाईं पत्रकारिता पृष्ठभूमिको मान्छे यता किन इन्ट्रेस्ट ?

– मेरो नियुक्ति र यी हल्लाअघि असनमा अन्नपूर्ण नारायण मन्दिर छ भन्ने धेरैलाई थाहा थिएन होला । यसको महत्व पनि धेरैलाई थाहा नहोला । पुजारीको अनुपस्थितिमा यसलाई बचाउने कसले त ? मन्दिर खुल्दा पनि खुल्दैन ।

० तपाईं पत्रकारितासम्बन्धी तालिम दिने इन्स्टिच्युट नै चलाएर बस्नुभएको छ । कस्तो पाउनुहुन्छ पत्रकारिताप्रतिको आकर्षण ?

– मैले इन्स्टिच्युट चलाएको १८ वर्ष भयो । शुरुको ६ वर्षजति राम्रै थियो । त्यो बीचमा झण्डै ६ सयलाई प्रशिक्षण दिइयो । उहाँहरू आज नेपालको रेपुटेड मिडियामा कार्यरत हुनुहुन्छ । तर, पछिल्लो समय पत्रकारिताप्रतिको आकर्षण ह्वात्तै घट्दो छ । यो पेशामा दुःख छ, पैसा छैन भन्ने चाल पाएपछि अहिले आकर्षण घटेको होला । बरु अहिले एनजिओ आइएनजिओका लागि जागिर सोध्ने र त्यतै धाउने युवा पंक्ति ठूलो छ । आज अनलाइन पत्रकारिताका कारण बौद्धिक पाठक घटिरहेका छन् । जथाभावी लाइक र कमेन्टका होडमा जस्तोसुकै कन्टेन्ट पस्कने प्रवृत्तिले पत्रकारिताको विश्वास धरमराएको छ । अनलाइनभन्दा पत्रिकाकै पाठक बौद्धिक छन् जस्तो लाग्छ ।

टिप्पणीहरू