महाराजका आँखा नफुटेका भए…

– लेखनाथ भण्डारी (हाल: अमेरिका)

सबै मानिसका आ–आफ्नै दुःख छन् । यिनै दुःखका सुस्केराभित्र प्रवासी जीवन गुज्रिरहेको छ । केही महिनापहिले नेकपा नेता बिन्दा पाण्डेलाई जिज्ञासा राखें– ‘देशमा राष्ट्रपति महिला हुनुहुन्छ तर उहाँबाहेक राज्यको जिम्मेवारी पूरा गर्नसक्ने महिलाहरु नभएरै त होला नि, उपसभामुख चयन हुन सकेको छैन । महिला आयोगको अध्यक्ष पनि पाउन सकिएको छैन ।’ त्यसको केही दिनपछि नै प्रधानमन्त्री खड्गप्रसाद ओलीले उपसभामुखका हकमा ‘न रहे बाँस, न बजे बाँसुरी’ बनाइदिनुभयो ।

महिला आयोगको अध्यक्षमा आफूसँगै एउटा संस्थामा काम गर्नुहुने मित्र नियुक्त हुँदा पनि सरकारले समातेको चोर बाटोका कारण ‘आहा, बधाई’ भन्न सकिएन ।

पाण्डेले प्रतिपश्न गर्नुभयो, ‘प्रधानमन्त्रीकै सल्लाहकारलाई सोधे त सही जवाफ आउँथ्यो होला !’ नेपालको राजनीति अहिले यस्तो दोबाटोमा आएर उभिएको छ– के हो स्वतन्त्रता र के हो निष्पक्षता भन्ने कुराको डिग्री मापन कहाँ हुन्छ होला ?

प्रधानमन्त्री ओलीका सल्लाहकारहरुमा पारिवारिक नातादेखि साथीभाइहरुको घेरा छ तर कतै राजनीतिको ‘र’ ले सम्बन्ध र मित्रताको जुइनो चुँडिने हो कि भनेर डराइडराइ बोल्नु मात्र होइन आमनेसामने परिएला भनेर भागी भागी हिँड्नुपर्ने अवस्था छ ।

शिखरमा पुग्नुभन्दा पनि शिखरबाट सफलतापूर्वक अवतरण गर्न सक्नु महत्वपूर्ण हुन्छ । सम्मानित राष्ट्रपतिका नाममा यही कुरा प्रकट गर्दा ‘दुःखेको चित्त’मा मल्हमपट्टी कसैले लगाई नदिए पनि सहुँला बुझाउँला भन्ने लागेकै थियो तर सडकमा त्यही घाउमा नूनचुक छर्केको देखिन थालेको छ । दिन यस्तो पनि आयो कि महिला आयोगको अध्यक्षमा आफूसँगै एउटा संस्थामा काम गर्नुहुने मित्र नियुक्त हुँदा पनि सरकारले समातेको चोर बाटोका कारण ‘आहा, बधाई’ भन्न सकिएन ।

विधि र विधानको चर्चा गर्दा वरिष्ठ कानुनविद् सूर्य ढुंगेल र उहाँकै समदौंतरी अर्थात् सांसद राधेश्याम अधिकारी एउटै सिक्काको दुई पाटो हुनुहुन्छ भन्ने लाग्थ्यो तर सरकारले उहाँहरुलाई अचानक एउटै नदीका दुई किनार बनाइदियो । त्यति ठूलो प्रलय हुन सकेन भने विधि र विधानको मित्रतामा अब कहिले उहाँहरुको आत्मीय अंगालो बाँधिएला ? यो राजनीतिको कति क्रुर खेल हो अनुमान गर्न सकिन्छ ।

नेपाली पत्रकारिता र राजनीतिक विश्लेषणका मामिलामा गोविन्द अधिकारी मेरो सम्मानित अग्रज हुनुहुन्छ । व्यावसायिक घरानाका यता वा उताका अखबारहरुमा हुँदा उहाँले मलाई सक्दो सहयोग र प्रेरणा प्रदान गर्नुभएको छ । उहाँले उपलब्ध गराउनुभएको बीपी कोइरालाको समाजवादी दृष्टिकोणमाथिको विश्लेषण प्रकाशनको संघारमा छ । उहाँको तस्बिरसहितको ट्विटमा सार्वजनिक एउटा सन्देश मेरो इमेलमा देखाप¥यो– ‘भारतले अनुदानमा खोप दियो । सहकर्मीले लगाइदिए । सरकारले धन्यवाद केमा पाएको होला ? बरु ती खोपाउने नानीलाई पो धन्यवाद दिन पर्ने ! नत्र त भारतले पाउनुपर्ने होइन र ?’ कतै धरहरा वा रानीपोखरी कसले बनाएको हो भन्ने सम्बन्धमा नेकपाका नेताहरुको विवादप्रति लक्ष्यित कटाक्ष त होइन भन्ने अनुमान गरे पनि अन्य केही ट्विटहरुमा यही टिप्पणीमाथि नै कटाक्ष गरिएको छ । आखिर हाम्रा दृष्टिकोण वा विश्लेषणहरु किन यस्ता हुँदै छन् ? एउटा स्वास्थ्यकर्मीले आफूलाई प्राथमिकतामा राखेको कारण सरकारलाई नै होइन र धन्यवाद दिने !

समान धु्रवीय राजनीतिक अतिवादी प्रवृत्तिले अहिले नेपाली भूमि र जनतामाथि रजाइँ र दाइँ गरिरहेका छन् । नेकपा नामको सत्तापक्ष, नेकपा नामकै सडक पक्ष र जंगल पक्षको मायाप्रीतिमा त नेपाली जनताले सुख पाएनन् भने उनीहरुको अहम् वा जुँगाको लडाइँमा दुःख पाउनु अस्वाभाविक होइन तर यी लडाइँको अनपेक्षित परिणाम र गन्तव्य कसैले अनुमान गरेको महसुस हुँदैन । कि तँ छैनस् कि म छैन भनेर एकले अर्कोलाई सिध्याउने यो ‘यदुवंशी युद्ध’ को रमिते बनेको नेपाली कांग्रेसले आज तापेको न्यानो ‘खरानीको व्यापार’ नहोस् भोलि ।

एक वर्ष बिछ्यौनामा थलिनुभएका प्रम ओली अब चार किलोमिटरको सिंहदरबार नाघेर दार्चुला र ओलाङचुङगोला पुगी विरोधीहरुमाथि कटाक्ष गर्नसक्ने हुनुभएको छ ।

हामीले संविधानमा भएको जुन विशेषता र व्यवस्थालाई विश्वकै उत्कृष्ट नमुना हो भनेर थाकेनौं, त्यही उत्कृष्ट विशेषता र व्यवस्थाको घाँटी रेटेर प्रधानमन्त्री अहिले सबैलाई एउटै डोकोमा बोकी ‘डम्पिङ साइट’ तर्फ दौडिरहनुभएको छ । जननिर्वाचित संसदलाई दुई तिहाई बहुमतनजिकको पार्टीको नेतृत्व गर्ने प्रधानमन्त्रीले असमयमै भंग गर्नु स्वाभाविक होइन । प्रम यो कदमको विरोध गर्नेहरु ‘राष्ट्रविरोधी, जनविरोधी, विकासविरोधी, संविधानविरोधी’ आदिको संज्ञा दिएर जुन डोको बोकी ‘डम्पिङ साइट’ खोज्दै हुनुहुन्छ र भनिरहनुभएको छ, ‘अदालतलाई कसैले सिकाउन पर्दैन । अदालतमा बाजेहरुले तमाशा नदेखाए हुन्छ ।’ यस्तो लाग्छ– बाजेलाई फाल्न बोकेको डोको भोलि बालाई नै पनि चाहिन्छ, यस्तो सन्तानले भन्लान् भन्ने डर उहाँलाई छैन ।

एक सय ४ वर्षको राणाशासनसमेत जोडेर अढाई सय वर्ष लामो राजतन्त्रलाई पनि नेपाली जनताले इतिहास बनाइसके । अहिले पनि राणाशासनकै विरासतका रुपमा रहेको सिंहदरबारबाट देशको केन्द्रीय सत्ता सञ्चालित छ । यद्यपि त्यो भूतघरमा नजानका लागि प्रम ओलीलाई छुट छ किनकि उहाँको स्वास्थ्य सन्तोषजनक छैन । यही सुविधाका कारण निजी निवासकै बिछ्यौनाबाट राज्य सञ्चालन गर्न उहाँलाई बाधा गर्नु मानवीय धर्म होइन । कसैले बाधा गरेनन् पनि तर करिब एक वर्ष बिछ्यौनामा थलिनुभएका प्रम ओली अब चार किलोमिटरको सिंहदरबार नाघेर दार्चुला र ओलाङचुङगोला पुगी विरोधीहरुमाथि कटाक्ष गर्नसक्ने हुनुभएको छ । यो पनि खुशीको सन्देश हो– उहाँको स्वास्थ्य अब सन्तोषजनक छ ।
राणा वा राजाकै चर्चा गरौं, राजा महेन्द्रको सपना र उनकै नाममा बनेको महेन्द्र राजमार्गमा हिँड्नु गणतन्त्रको सपना होइन । प्रम ओलीले गैंडाकोट–बुटवल सडक खण्डको १ सय १५ किमी महेन्द्र राजमार्ग स्तरोन्नतिको तीन वर्षपहिले गर्नुभएको शिलान्यासको प्रगति अहिले पनि ३ प्रतिशत भएको छैन । आधा शताब्दीपहिले हाम्रा हजुरबाहरुले मोटर चढेको यो राजमार्ग कतिपटक शिलान्यास वा कति पटक उद्घाटन भयो, यकिन नभए पनि भारत र रुसको सहयोगमा निर्माण भएको भन्ने साइनबोर्ड चाहिँ अझै पनि देखिन्छन् ।
तीन वर्षमा कामको प्रगति ३ प्रतिशत मात्र हुँदा पनि त्यसको समीक्षा गर्नुसट्टा बनिसकेका सडकको स्तरोन्नतिमा शिलान्यास र उद्घाटन गर्न हातमा कैंची र गोजीमा रिबन बोकेर हामी कहिलेसम्म कुद्ने ? मनमा प्रश्न खेलिरहेकै थियो । यसै हप्ता अर्को समाचार सार्वजनिक भयो– ‘महेन्द्र राजमार्गको भरतपुरपूर्वको ६ किमी स्तरोन्नति गर्न प्रम ओलीले आफ्ना नाममा लेखिएको ताम्रपत्र अनावरण गर्नुभयो ।’ अर्को वर्ष पनि गंैडाकोट र भरतपुरबीच दुई अढाई किमी सडक स्तरोन्नतिको शिलान्यास गर्न प्रम ओली चितवन पुग्नु हुने अनुमान गर्न सकिन्छ । प्रम ओलीकै प्रेरणाबाट हुनुपर्छ, यसै हप्ता मुख्यमन्त्री शंकर पोखरेलले पनि दाङमा पत्नी सुजाता शाक्यसँगै पलेंटी कसेर २५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको एक पुलको शिलान्यास गर्नुभएछ ।

सम्पादकसँग यति चैं अनुरोध– माथि उल्लेख गरिएका घरायसी सम्बन्ध र मित्रतामा उदाहरण नखल्बलिउन् तर सल्लाहकारहरुमार्फत प्रधानमन्त्री खड्गप्रसाद ओलीसमेत सबै ती सम्मानित वरिष्ठ तथा पहिलो पुस्ताका भनिनुहुने नेताहरुमा यो सन्देश पुगोस्– उहाँहरु किन यस्तो सोच्नुहुन्छ– आफू नरहे आकाश नै खस्छ ? सल्लाहकार यस्तो हुनुप¥यो– ‘महाराजका आँखा नफुटेका भए आफ्नो गर्धन नै चिलाओस् ।’

टिप्पणीहरू