स्रष्टाहरु पनि सडकमा : दयाहाङदेखि बुद्धि तामाङसम्म सामेल

स्रष्टाहरु पनि सडकमा : दयाहाङदेखि बुद्धि तामाङसम्म सामेल

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र प्रतिगमनकारी भन्दै स्रष्टाहरुले ‘स्रष्टान्दोलन–२०७७’ घोषणा गरेका छन् । माघ १७ गते स्रस्टा–भेलाले गरेका निर्णय सार्वजनिक गर्दै उनीहरुले छिट्टै आन्दोलनका कार्यक्रम तय गर्ने जानकारी गराएका छन् । स्रष्टान्दोलन–२०७७ का तर्फबाट मंगलबार विज्ञप्ति जारी गर्दै विभिन्न विधाका स्रष्टाहरुले प्रतिनिधिसभा विघटनपछि मुलुक राजनीतिक सङ्कट र पश्चगमनको शिकार भएको बताएका छन् । उनीहरुले आन्दोलनका उपलब्धिहरु मास्ने र मुलुकलाई निरंकुशतातर्फ लैजाने षड्यन्त्रस्वरूप संसद विघटन गरिएको भन्दै भत्र्सना गरेका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते चालेको असंवैधानिक र प्रतिगमनकारी कदमपछि मुलुक थप राजनीतिक सङ्कट र थप पश्चगमनको शिकार भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पटक–पटकका जनसङ्घर्ष तथा जनआन्दोलन २०६२÷०६३ का कतिपय उपलब्धिहरुसमेत खोस्न, सङ्कुचित पार्न र मुलुकलाई अझै निरङ्कुशतातिर लैजान चालिएको संसद् विघटन गर्ने प्रतिगमनकारी कदमको हामी घोर भर्त्सना गर्दछौं ।

‘प्रतिनिधिसभा विघटनको निर्णयलाई राजनीतिक प्रतिगमन र राज्यको निरङ्कुश व्यवहार भन्दै उनीहरुले सम्पूर्ण स्रष्टाहरुलाई फेरि एकपटक अग्रगमनका लागि साझा र संयुक्त आन्दोलनमा एकतावद्ध हुन उत्प्रेरित गरेको बताएका छन् । मुलुकको राजनीतिक परिर्वतन र सामाजिक–सांस्कृतिक रुपान्तरणको आन्दोलनमा कला, साहित्य र संस्कृतिका क्षेत्रमा क्रियाशील स्रष्टाहरुले सिर्जना र सङ्घर्षमार्फत् निरन्तर भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनीहरुले राणाकाल, पञ्चायतकाल र निरङ्कुश राजतन्त्रकालमा परिवर्तनकामी स्रष्टाहरुले सिर्जना र कर्मका माध्यमबाट जनचेतना, जनजागरण र जनसङ्घर्षमा समेत प्रत्यक्ष सहभागिता जनाउँदै आएको स्मरण गराएका छन् ।

‘अभिव्यक्ति स्वतन्त्रता, सामाजिक रुपान्तरण र नागरिक हक–अधिकारको स्थापनाका लागि स्रष्टाहरु बेग्लाबेग्लै वैचारिक धारामा रहेर र आवश्यक पर्दा संयुक्त रुपमा सडक सङ्घर्षमा ओर्लेर पनि आन्दोलित भएको गौरवपूर्ण इतिहास हाम्रा सामु साक्षी नै छ,’ विज्ञप्तिमा भनिएको छ । उनीहरुले गत माघ १२ गते नागरिक आन्दोलनले गरेको शान्तिपूर्ण कार्यक्रममा सरकारले गरेको दमनको निन्दा गरेको छ । ‘विद्यमान सामाजिक संरचना, राजनीतिक प्रणाली र सत्ताअभ्यासका कारण उत्पन्न सङ्कटहरुको अग्रगामी समाधान खोज्नुको सट्टा नागरिकको बोल्ने, विरोध गर्ने र भेला हुने स्वतन्त्रतामाथि नै हस्तक्षेप गर्ने सरकारी रवैया निन्दनीय छ,’ उनीहरुले भनेका छन् ।

अभिव्यक्ति स्वतन्त्रता, भेला हुने र विरोध गर्ने अधिकार कुञ्ठित गर्दैमा निरङ्कुशता र तानाशाही शासन टिक्न नसक्ने भन्दै स्रष्टाहरुले जनताको सङ्घर्षबाट स्थापित उपलब्धिहरुको हरण हुन नदिन र सामाजिक न्याय, जनपक्षधरता एवम् सबै खाले विभेदको अन्त्यका लागि अग्रगामी परिवर्तनका नयाँ कार्यसूचीहरु निर्माण गर्न प्रतिगमनविरोधी सम्पूर्ण स्रष्टाहरु संयुक्त आन्दोलनमा सहभागी हुनु आजको आवश्यकता बनेको बताएका छन् । ‘सिर्जनाका आ–आफ्ना माध्यमबाट र प्रत्यक्ष सडकमा उभिएर प्रतिगमनको प्रतिवाद गर्नका लागि हामी सम्पूर्ण लेखक, कवि, कलाकार, रङ्गकर्मी, चलचित्रकर्मी र सबै विधा–क्षेत्रका बौद्धिक–सांस्कृतिक अभियन्ताहरुमा आह्वान गर्दछौं ।’

राजनीतिक नेतृत्वमा रहेको सत्तास्वार्थ, भ्रष्ट आचरण र अवसरवादका कारण तत्कालै संसद् पुनस्र्थापना भए पनि राजनीतिक सङ्कट समाधान नहुने निष्कर्ष निकाल्दै उनीहरुले आलोचनात्मक विवेकसहित निरन्तर आन्दोलनको मोर्चामा रहनु स्रष्टा र बौद्धिक–संस्कृतिकर्मीहरुको दायित्व हुनेसमेत उल्लेख गरेको छ ।

आह्वानकर्ता स्रष्टाहरुमा अञ्जान बाबु,अनिल सुब्बा,अनुजा अधिकारी,अनुप बराल, अभय श्रेष्ठ, अंशु खनाल, अर्चना पन्थी, आकांक्षा कार्की,  इस्माली,  कला अनुरागी, काङ्साङ लावती, केदार श्रेष्ठ, केनिपा सिंह, केशव सिलवाल, गीता कार्की, गुरुङ सुशान्त, घिमिरे युवराज, चन्द्रवीर तुम्बापो, चेतनाथ धमला, छम गुरुङ, जगदीशचन्द्र भण्डारी, झुमा लिम्बू, टंक सेलिङ, ताराकान्त पाण्डेय, र तारामणि राई हुनुहुन्छ ।

त्यसैगरी, दयाहाङ राई, दिया मास्के, दुरण राई, दुर्लभ काइँला, धनकुमारी सुनार, नवीन तिवारी, नवीन प्यासी, नाजिर हुसेन, नारायण ढकाल, नारायण सापकोटा, निनु चापागाईं, प्रकाश आङ्देम्बे,  प्रकाश गुरागाईं, प्रकाश कोइराला, प्रशन्न पराजुली, प्रेमिला राई, बच्चु हिमांशु, बलराम तिमल्सिना, बिना थिङ,  बुद्धि तामाङ, ब्रबिम शेर्मा, भूपाल राई, मनोज न्यौपाने, महेश प्रसाईं, महेश राई, मातृका पोखरेल, मित्रलाल पंज्ञानी र रत्नमणि नेपालले पनि आह्वान गर्नुभएको छ ।

आह्वान गर्नुहुने अन्य स्रष्टाहरुमा राजन खतिवडा, राजन मुकारुङ, राजु स्याङ्तान, रेणुका सोलु, रोशन जनकपुरी, रोहेज खतिवडा, विजय बराल, विनोद राई, विनोदविक्रम केसी, विमल निभा, विमल सुवेदी, विमला तुम्खेवा, वियोगी बुढाथोकी, विष्णुकुमार सिङ्जाली, विष्णु भण्डारी, शकुन्तला जोशी, शीतल कादम्बिनी, शैलज पौडेल, श्रवण मुकारुङ, सङ्गीत, समर्पण श्री, सिर्जना सुब्बा, सीता विश्वकर्मा, सुदाम सिके, सुनील आङ्बो, सुमन लम्साल, सुलभ पहारी, सोझो गाउँले, सोमनाथ खनाल, सौरभ कार्की, स्वप्निल स्मृति, हिमांशु, र हीरा बिजुली नेपाली हुनुहुन्छ ।

टिप्पणीहरू