प्रेमले पुर्‍याउने पीडा र युद्धलाई आमन्त्रण « janaaastha.com
१८ फाल्गुन २०७७, मंगलवार

प्रेमले पुर्‍याउने पीडा र युद्धलाई आमन्त्रण



अब्राहम लिंकन अमेरिकाको १६ औं राष्ट्रपति । दास मोचनको अगुवा । पहिलो प्रेमिका एन रुटलेड्ज । लिंकनभन्दा चार वर्ष कान्छी । दुवैको जन्म स्थान एउटै– केन्टुकी । एनको जोन म्याकनमारा भन्ने युवकसँग इन्गेजमेन्ट भइसकेको थियो । दुवै विवाह गर्न गइरहेका थिए तर यसैबीच जोन न्युयोर्क गइदिए, फर्केर बिहे गर्ने बाचासहित । पत्रहरु आदानप्रदान भइरहे तर जोनले पत्रमा प्रेम जताउन छाडे । जोन केन्टुकी फर्कंदै फर्केनन् । पत्र आदानप्रदान भइरहेकै बेला लिंकन र एन नजिकिएका थिए तर एन टाइफाइडबाट ग्रस्त भइन् र २२ वर्षको कलिलो उमेरमै सन् १८३५ मा उनको मृत्यु भयो । एनको निधनले लिंकन केही समय डिप्रेसनमा गए ।

अर्को वर्ष सन् १८३६ मा लिंकनको भेट मेरी ओवेन्ससँग न्यु सालेममा भयो । मेरी पनि केन्टुकीकै थिइन् । दुवै विवाह गर्न राजी भए । त्यसपछि मेरी फर्केर बिहे गर्ने बाचा गरी केन्टुकी फर्किनन् । लिंकनले मेरीलाई सन् १८३७ मे ७ मा यस्तो पत्र लेखे ।

मित्र मेरी, यसअघि मैले दुईवटा पत्र लेखिसकें तर आफैंलाई चित्त नबुझेर च्यातिदिएँ । पहिलो पत्र गम्भीर नभएको र दोस्रो आवश्यकताभन्दा बढी गम्भीर बन्न पुगेको थियो । तर यो तेस्रो पत्र जस्तो भए नि पठाउँछु ।

स्प्रिङ फिल्डको जीवन निरसपूर्ण छ । अरुका लागि नभए पनि मेरोलागि । एकदम एक्लो महसुस गर्दैछु । हुन त जहाँ बसे नि मेरो सम्पूर्ण जीवन यस्तै निरस हुने गर्छ । म एकपटक पनि चर्च गएको छैन । सबैदेखि टाढा भाग्दैछु किनभने कोसँग कस्तो व्यवहार गर्नुपर्छ मलाई थाहा छैन । स्प्रिङ फिल्डमा बस्ने विषयमा तिमीसित मेरो जुन कुरा भएको थियो, म प्रायः यसै विषयमा सोचिरहन्छु । मलाई डर लाग्छ कि तिमी यहाँ सन्तुष्ट हुने छैनौ । तिमीले यहाँ गरिबको जिन्दगी जिउनुपर्छ, आफ्नो गरिबी लुकाउने साधनसम्म पनि हुने छैन । के तिमी धैर्ययतापूर्वक त्यस्तो जीवन जिउन सक्छौ ? किनकि तिमीले यहाँ सुखी जीवन, ऐशपूर्ण जीवन जिउन पाउने छैनौ ।’

त्यसो त मेरो जीवनमा जो आउँछन्, उसलाई पूर्णरुपमा सुखी र प्रसन्न पार्ने कोसिस हुने नै छ । यदि यसो गर्न नसकेमा मेरोनिम्ति सबैभन्दा दुःख र दुर्भाग्यको कुरो हुनेछ । तिमीसँग रहेर अधिक सुखी जीवन बिताउन चाहन्छु । यसबीच तिमीमा अलिकति पनि असन्तोषको भाव देखेमा मेरो सम्पूर्ण सुख धुलोमा मिसिन पुग्नेछ । तिमीले जुन कुरा ग¥यौ, सायद ठट्टा गरेर भनेकी होला, मैले पनि गलत सम्झें होला । यदि यस्तै हो भने हामीले सबै कुरा बिर्सनु नै राम्रो हुन्छ । होइन, मैले ठीक बुझेको हो भने निर्णय गर्नुअगाडि फेरि एकपटक राम्रोसँग सोच्नु । यदि तिमीले मसँग बस्ने निर्णय गरेकै हौ भने मैले पनि तिनलाई अक्षरशः पालना गर्नेछु ।

मेरो विचारमा तिमीले त्यसो नगर्दा नै राम्रो होला किनभने हाम्रो जीवन तिमीले सोचेको भन्दा पनि कष्टकर हुन सक्छ । तिमी यस्तो जीवन जिउन अभ्यस्त पनि छैनौ । सोचेर अघि बढ । म तिम्रो निर्णयअनुसार चल्न तयार छु ।’

यो पत्र पाएपछि मलाई पनि यस्तै लामो पत्र लेख्नुपर्नेछ । तिम्रो पत्र मेरो यो व्यस्त र उजाड जिन्दगीमा राम्रो साथी बन्नेछ ।

– तिम्रो लिंकन

मेरीले लिंकनको उक्त पत्रको जवाफ दिइनन् । लिंकनले फेरि अगस्त १६ मा अर्को पत्र लेखेर ‘सम्बन्ध नराख्ने भए नि जवाफ त दिनु’ भनेर आग्रह गरे । मेरीले यो पत्रको जवाफ दिन पनि उचित ठानिनन्, कारण उनले लिंकनलाई कुरुप मात्र होइन, निर्धन सम्झन थालेकी थिइन् । उनी पछि कहिल्यै न्यु सलेम फर्किनन् पनि । मेरी ओवेन्ससित सम्बन्ध टुटेको करिब दुई वर्षपछि लिंकनको भेट मेरी टाडसित भयो । उनी लिंकनको धर्मपत्नी बनिन् ।

०००

सर्वपल्ली राधाकृष्णन् भारतको पहिलो उपराष्ट्रपति र दोस्रो राष्ट्रपति । दार्शनिक, विद्वान अनि राजनीतिज्ञ । उच्च शिक्षा हासिल गरेपछि अक्सफोर्ड विश्वविद्यालय, मेन्चेस्टर कलेज र सिकागो विश्वविद्यालयमा अध्यापन । सन् १९४९ मा प्रधानमन्त्री जवाहरलाल नेहरुले उनलाई सोभियत संघका लागि राजदूत नियुक्त गर्दा पार्टीका सबै नेता जिल्ल परे किनकि राधाकृष्णन् सत्तारुढ भारतीय कंग्रेस पार्टीका सदस्य थिएनन् न त अरु कुनै राजनीतिक पार्टीमा थिए ।

सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यपछि सोभियत संघको नेतृत्वमा पूर्वी युरोपका समाजवादी मुलुकहरु र अमेरिकी नेतृत्वमा पश्चिम युरोपका पुँजीवादी मुलुकहरुबीच शीतयुद्ध चल्यो । सन् १९९१ मा सोभियत संघको विखण्डन नहुञ्जेलसम्म चलेको यो शीतयुद्ध कहिले चल्न शुरु भयो इतिहासकारहरुले मिति ठ्याक्कै तोक्न नसके पनि सन् १९४७ को मार्च १२ का दिन अमेरिकी संसद्मा राष्ट्रपति ह्यारी एस ट्रयुम्यानले एउटा भाषण ठोके, जसलाई आजपर्यन्त ‘ट्रयुम्यान सिद्धान्त’ भन्ने गरिन्छ । उनैले भाषणमा पहिलोपटक ‘शीत’ शब्द प्रयोग गरेका थिए । ग्रीस र टर्कीमा कम्युनिष्टहरुले गरेको विद्रोहप्रति संकेत गर्दै उनले विश्वमा फैलिँदै गएको सोभियत संघको प्रभावलाई रोक्न आवश्यक भएको तर्क अघि सारेका थिए ।

शीतयुद्धको शुरुवातपछि विश्व दुई समूहमा विभाजित भयो । दुवैतिर नलागेका मुलुकहरुले असंलग्न आन्दोलन शुरु गरे । चीन, भारत, नेपाल आदि यो अभियानको गुठियार बने । यस्तो परिस्थितिमा राधाकृष्णन सोभियत संघका लागि भारतीय राजदूत बनेका थिए । सन् १९४९ को जुलाई १२ मा राजदूत नियुक्त भएर मस्कोतर्फ रवाना भए । यसअघि संविधानसभाका सदस्य थिए । ६ महिनासम्म उनले चिसो मौसम भएको मस्कोमा हल्लिएर बिताए किनकि जोसेफ स्टालिनले भेट्नै चाहेनन् । सन् १९५० को जनवरीमा बल्ल समय पाए । स्टालिनले पहिला कुनै भारतीय राजदूतसँग भेटेकै थिएनन् । सामान्यतः स्टालिनले राति १२ बजेभन्दा अगाडि कुनै कूटनीतिज्ञसँग भेट्दैनथे तर हिन्दु दार्शनिकको रुपमा नाम चलेका भारतीय राजदूत अलि चाँडै सुत्ने सूचना पाएपछि ९ बजेलाई समय दिए ।

जनवरी १४ को राति ठीक ९ बजे राधाकृष्णन क्रेमलिन भवनमा प्रवेश गरे । लखनउको भुलभुलैयाजस्तो घुमाउरो बाटो छिचोल्दै स्टालिनको कक्षमा पुगे । वार्तालापको शुरुमै राधाकृष्णनले सोधे, ‘मार्शल, तपाईंसित भेट्न किन यति गाह्रो ?’ स्टालिन, ‘प्रोफेसर, साँच्चै मसँग भेट्न तपाईंलाई गाह्रो लाग्यो ? हेर्नुस्, हामी आमनेसामने छौं त !’

कुरा गर्दै जाँदा दुवै औपचारिकतामा खुल्दै गए । केही मिनेटको भनिएको भेटघाट तीन घण्टा लम्बियो । सच्चिदानन्द के. मूर्तिद्वारा लिखित पुस्तक ‘राधाकृष्णन ः लाइफ एण्ड आइडिया’ मा उक्त भेटघाटबारे एउटा सानो प्रसंग छ । कुराकानीकै क्रममा राधाकृष्णनले अनायासै स्टालिनको कपाल सुम्सुम्याइदिए । स्टालिनको जीवनमा आइरहेको परिवर्तनलाई लिएर दार्शनिकले सरह सम्झाउन थाले । सम्राट अशोकको प्रसंग कोट्याउँदै भने, ‘सुन्नुस् मार्शल, हाम्रो देशमा एकजना सम्राट थिए, उनले कलिंगमाथि आक्रमण गरे र जिते । यो युद्धपछि उनमा चेत खुल्यो कि वास्तवमा युद्धमा मानिसहरुको ज्यान जानुबाहेक अरु केही हुँदो रहेनछ । यसपछि उनी भिक्षु बने । तपाईंले पनि शक्तिको आडमा सत्ता हासिल गर्नुभएको हो, कसलाई के थाहा, तपाईंको जीवन पनि यस्तै बन्ने पो हो कि !’

पुस्तकमा लेखिएको छ, राधाकृष्णनको उक्त कुरा सुनेर फलामे मुटु भएका भनिएका स्टालिन केही बेर मौन रहे रे !

राधाकृष्णन सन् १९५२ सम्म राजदूत रहे र स्वदेश फर्केपछि सोही साल उपराष्ट्रपति बने । सन् १९६२ सम्म उपराष्ट्रपति र १९६२ देखि १९६७ सम्म राष्ट्रपति बनेका उनी सन् १९५७ मा उपराष्ट्रपतिको हैसियतमा चीन गए । चिनियाँ नेता माओत्सेतुङबारे भनिन्थ्यो कि उनको दिन रातिको ८ बजेबाट शुरु हुन्छ । रातभर काम गर्छन् र बिहान ५ बजे सुत्न जान्छन् । त्यसैले भेट्नुपर्ने जति छन्, सबैले उनीसँग यसै दौरानमात्र भेट्न सक्छन् ।

राधाकृष्णन माओसँग भेट्न चोङनानहाइ पुगे । माओ आफैं स्वागत गर्न बाहिर निस्के । भारतको विदेशमन्त्री बनिसकेका के. नटवर सिंह त्यसबेला बेइजिङस्थित दूतावासमा कार्यरत थिए । उनको भनाइअनुसार राधाकृष्णनले हात मिलाइसकेपछि माओको दायाँ गाला सुम्सुम्याइदिए । माओ एकछिन अक्क न बक्क बने । एक पाइला पछाडि हटे । उपस्थित सबै जना अवाक बने । माओले केही बोलुन्, यसअघि नै राधाकृष्णनले मुसुक्क हाँस्दै भने, ‘अध्यक्षज्यू, असहज नमान्नुहोला किनकि यस्तो मैले पोप र स्टालिनलाई पनि गरेको छु ।’

सन् १९६० को अप्रिलमा चिनियाँ प्रधानमन्त्री चाओ एनलाइ भारत गए । जवाहरलाल नेहरुसित पछिल्लो कुराकानी तिक्त बन्यो । चाओले उपराष्ट्रपति राधाकृष्णनसँग पनि भेटे । राधाकृष्णनले भारत र चीनबीचको सीमा विवाद नेहरुकै कार्यकालमा सल्टाउनु बेस हुन्छ भने । चाओले ‘मेरो यो भारतको चौथो भ्रमण हो, जबकि नेहरुले चीनको भ्रमण एकपटक मात्र गरेका छन् । समस्या कसरी सल्टेला र ?’ भन्ने जवाफ दिए । राधाकृष्णनले युद्धबाट समाधान खोज्नु उचित नहुने राय व्यक्त गरे । यसको जवाफ चाओले दिएनन्, उनीसँगै नयाँ दिल्ली पुगेका विदेशमन्त्री मार्शल चेन यीले प्याच्च बोले, ‘युद्ध के हो, हामीलाई राम्रोसँग थाहा छ, हामीले च्याङकाइसेक र जापानसित ३० वर्ष युद्ध लडेर आज यहाँसम्म आइपुगेका छौं ।’

‘हिन्द चीन भाइभाइ’को नारा उराल्ने भारत–चीन सम्बन्ध पछिल्लोपटक यतिविघ्न तिक्त र चिसो बनिसकेको थियो, नतिजा, १९६२ मा दुई देशबीच युद्ध नै भयो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देउवाको यो हो नि दाउ
कसैका कथा सुन्दा कति कहालिलाग्दा
पशुपतिमा कि राष्ट्र बैंकमा पहिले ‘क्युआर कोड’ बाट दक्षिणा ?
सरकारसंग वार्ता गर्न काठमाडौँ छिरे प्रकाण्ड