पूर्वमन्त्रीले यौनशोषण गरेको अदालतको ठहर

पूर्वमन्त्रीले यौनशोषण गरेको अदालतको ठहर

घरमा श्रीमती हुँदाहुँदै आफ्नै कार्यकर्तासँग विवाहको नाटक गर्ने नेपाली काँग्रेसका नेता एवम् पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहलाई उच्च अदालत दिपायलले दुईवटी श्रीमतीको श्रीमान रहेको ठहर गरिदिएको छ । शाहले विवाह गरेपनि औपचारिक रूपमा नस्वीकारेको र आफूलाई अलपत्र पार्दै श्रीमतीको अधिकारबाटसमेत बञ्चित गराएको दावीसहित नेपाल महिला संघकी नेतृ राधिका भुजेलले दायर गरेको मुद्दामाथि उच्च अदालतको मंसिर २१ गतेको फैसला आएको हो । अदालतले उनीहरुबीच श्रीमान श्रीमतीको नाता कायम गरिदिएको छ ।

भुजेलले नाता कायम गराई पाउन यसअघि जिल्ला अदालत अछाममा मुद्दा हालेकी थिइन् । तर,जिल्लाले श्रीमान श्रीमतीको नाता कायम नहुने ठहर्याएपछि उनी उच्च अदालत,दिपायल पुगिन् । जिल्लाको फैसला उल्ट्याउँदै उच्च अदालतले शाह र भुजेलबीच श्रीमान र श्रीमतीको नाता कायम गरिदिएको छ । राधिकाले अदालतमा दिएको फिराददावीमा “२०६० मंसिर १२ गते आफूलाई काठमाडौँ जाने भनी फकाएर मनकामना मन्दिर पुर्याएको र तीन दिनपछि १५ गते शाहले सिउँदोमा सिन्दुर हालेको’ उल्लेख छ ।

सिन्दुर हाल्नुअघि र हालेपछिको केही समयसम्म राम्रै रहेको उनीहरूको सम्बन्ध विवाह दर्ताको विषय उठेपछि बिग्रिएको बताइन्छ । राधिकाले अछामस्थित पुख्र्यौली घरमा आफूलाई भित्र्याउन अनुनय विनय गर्दा पनि शाहले जातीय कारण,घरमा जेठी श्रीमती र दुईजना बालबच्चालाई देखाउँदै आलटाल गर्दै आएका थिए । शाह ठकुरीका छोरा हुन् भने राधिका दलित समुदायकी छोरी हुन् । त्यसपछि राधिकाले विवाह दर्ता मागेको निहुँमा २०७५ असार १२ गते शाहले कुटपिट गरेपछि बहुविवाहको मुद्दा जिल्ला हुँदै उच्च अदालतसम्म पुगेको फैसलाको तथ्य खण्डको विवरणबाट प्रष्ट हुन्छ ।

शाहले राधिकासँग आफ्नो राजनीतिकबाहेक अन्य सम्बन्ध नभएको दावी गर्दै आएका थिए । उनले अदालतमा दिएको प्रतिउत्तर पत्रमा एउटै पार्टीमा भएकाले सामान्य चिनजानबाहेक अन्य सम्बन्ध नरहेको बताएका छन् । ०७४ को निर्वाचनमा संघीय संसदको समानुपातिक सूचीमा राधिकाको नाम सिफारिश भएको तर पछि हटाइएको रिसमा उनले आफूमाथि गम्भीर आरोप लगाएको शाहको दावी थियो । तर,अदालतले विभिन्न प्रमाणलाई आधार मानेर शाह र राधिकाबीच श्रीमान र श्रीमतीको नाता कायम हुने फैसला गरेको हो ।

फैसलामा २०७१ माघ २७ गते योगदान ऋण तथा बचत सहकारी संस्थामा ५ हजार रूपैयाँको सेयर खरिद गर्दा भरेको फारममा शाहले इच्छाएको व्यक्तिमा भुजेलको नाम उल्लेख गरेकोले नाता कायमको एउटा आधार हुने भनिएको छ । सोही मितिमा उक्त सहकारीमा खाता खोल्न आवेदन फारम भर्दा र ५० हजार रूपैयाँको सेयर खरिद गरेको र राधिकाले इच्छाएको व्यक्तिमा शाहको नाम राखिएको, नातामा पति/श्रीमान उल्लेख गरेकाले त्यसलाई पनि आधार मान्नुपर्ने अदालतको फैसलामा उल्लेख छ ।

त्यसैगरी,राधिकाको राहदानीमा पतिको नाम भनिएको ठाउँमा पनि शाहको नाम लेखिएको छ भने राहदानी बनाउँदा निकटतम व्यक्तिको नाममा पनि शाहको नाम नै उल्लेख गरी निजको हस्ताक्षर समेत रहेकोले फैसलामा त्यसलाईसमेत नाता कायमको आधार ठहर गरिएको छ । सिन्दुर हाल्नु अघि र हालेपछि निरन्तर उठबसको कारण उनीहरूले त्यसबीच काठमाडौंको ओम हस्पिटलमा दुबैको माइक्रोबाइलोजिस्ट टेष्टसमेत गराएका थिए । त्यो परीक्षणलाई पनि अदालतले बलियो प्रमाणको रूपमा लिँदै श्रीमान श्रीमतीको रूपमा खिचिएको फोटो सार्वजनिक भएको पक्षलाई समेत आधार मानेर नाता कायमको फैसला गरिदिएको उल्लेख छ ।

वादी भुजेलले फिरादपत्रसाथ पेश गरेका फोटाहरू तथा राहदानीको सक्कल कपी प्रतिवादी शाहलाई देखाई मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १७२ बमोजिम बयान गर्दा शाहले राधिकाले पेश गरेका फोटोहरू विवाह प्रयोजनका लागि नखिचिएको बताएका थिए । उनले भनेका छन् ‘मनकामनामा खिचिएको भनिएका फोटाहरू मन्दिरमा खिचिएको होइन, स्टुडियोमा खिचिएको हो । त्यो पनि २०६० सालपछिका हुन् । त्यसैगरी टाउकोमा रुमाल राखेको फोटो दिल्लीको मुसलमान मस्जिद बाहिर खिचिएको हो । राधिकाले पेश गरेका फोटाहरूमा विवाहको लागि फूलमाला हालेको वा विवाहको लागि सजिएकोसमेत छैन । मैले उनलाई राहदानी बनाउन कुनै मञ्जुरी कागज दिएको पनि छैन ।’

न्यायाधीश सीताराम मण्डल र शेषराज सिवाकोटीको संयुक्त इजलासले गरेको फैसलामा भनिएको छ, ‘एक जना नारीले आफ्नो आत्मसम्मान गुमाई पक्कै पनि कुनै व्यक्तिलाई पतिको रूपमा स्वीकार गरी ४० वर्षको उमेरसम्म एकल बस्ने अवस्था आउने थिएन । उक्त तथ्यलाई प्रतिवादीले अन्यथा भन्न सकेकोसमेत देखिँदैन । २०७६ जेठ २८ गते अछाम जिल्ला अदालतबाट भएको फैसला मिलेको नदेखिँदा फिराददावीबमोजिम शाह र भुजेलका बीचमा लोग्ने स्वास्नीको नाता कायम हुने ठहर्छ ।’

टिप्पणीहरू