मूल्यबृद्धि नरोके ‘जनकारबाही’

नेपाल कम्युनिष्ट पार्टी माओवादीले दैनिक उपभोग्य वस्तुको मूल्यबृध्दि गरेर सरकारले निम्न वर्गमाथि शोषण गरेको भन्दै त्यस्ता वस्तुहरुको मूल्य घटाउन माग गरेको छ ।

सो पार्टीको गण्डक ब्युरोले सोमबार जारी गरेको विज्ञप्तिमा जनताले दैनिक उपभोग गर्ने दाल, चामल,तरकारी,नून,तेल, लत्ताकपडा तथा औषधी उपचारमा न्यून मूल्य कायम गरी मजदुर वर्गलाई सहज र सर्वसुलभ बनाउन माग गरेको छ ।

‘विभिन्न खाले अवसरवादलाई परास्त गर्दै आन्दोलनको नेतृत्व गर्दै जनताको पक्षमा अगाडि बढिरहेको अवस्थामा दलाल प्रतिक्रियावादी राज्यसत्ताका मतियारहरुद्वारा निम्न वर्गमाथि गरिरहेको शोषण र दमनको भण्डाफोर गर्दै जनताको दैनिक उपभोग्य वस्तुहरु दाल,चामल,नून,तेल,लत्ताकपडा, तरकारीका साथै औषधी उपचारको मूल्यमा सहज र सर्वसुलभ बनाई न्यून तथा मजदुर वर्गलाई उपलब्ध गराउन सम्बन्धित सबैलाई चुनौतीसहित अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

उक्त पार्टीले मजदुर वर्गको पक्षमा संघर्ष चलाइरहेको दाबी गर्दै पुँजीपतिहरुको सम्पत्तिलाई न्यून तथा मजदुर वर्गलाई बाँड्ने चेतावनी र आश्वासनसमेत दिएको छ । ‘नेकपा माओवादीले वर्ग संघर्ष चलाएकाले संघर्षको तगारो नबन्न जो कोहीलाई खबरदारी गर्दछ । यसका विरुद्ध आएमा जनकारबाहीको भागीदार बन्नेछ,’ पार्टीको गण्डक ब्यूरो ईञ्चार्ज गौरवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू