जन्मकुण्डली हेरेर नृपध्वजलाई मुख्य न्यायाधीश

जन्मकुण्डली हेरेर नृपध्वजलाई मुख्य न्यायाधीश

‘भगवान भी नै दिया तो नै दिया, दिया तो छप्पर फाँडकर दिया,’ भन्ने हिन्दी उखान यतिबेला नृपध्वज निरौलाको भाग्यसँग हुबहु मिल्न पुगेको छ । न्यायपरिषदको आईतबार बसेको बैठकले उच्च अदालतको मुख्य न्यायाधीशका लागि तीनजनाको नाम सिफारिश गर्दा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार रहेका निरौला पनि लिष्टमा पर्न सफल भए । प्रसासनबाट ठाडै मुख्य न्यायाधीशमा फड्को मार्ने पहिलो भाग्यमानी व्यक्ति बनेका छन् निरौला ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको अध्यक्षतामा बसेको वैठकले उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेल, उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षित र निरौलालाई मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिशको निर्णय गर्यो । परिषद निर्णयअनुरुप गजुरेल र दिक्षितलाई कार्यरत उच्च अदालतमै र निरौलालाई उच्च अदालत दिपायलका लागि सिफारिश गरिएको छ ।

गजुरेल र दीक्षित उच्चको न्यायाधीशबाटै ज्येष्ठताका आधारमा मुख्य भएका हुन् । तर यही कारण यतिबेला न्यायिक वृत्तमा निरौलाकै नियुक्तिको चर्चा परिचर्चा छ । परिषद स्रोतका प्रधानन्यायाधीश राणाकै प्रस्ताव अनुरुप निरौलाको सिफारिश भएको हो । यसकारण पनि उनलाई शक्तिशाली मुख्य न्यायाधीशका रुपमा हेरिएको छ । निरौला न्याय परिषदमा सचिव रहेका बेला उनैले तत्कालीन प्रधानन्यायधाीश गोपाल पराजुलीलाई उमेर हद तोकेर घर पठाउन पत्र थमाएर चर्चामा आएका थिए ।

हुन त निरौलालाई त्यतिबेला न्याय सेवा आयोगले वरिष्ठता, कार्यकुशलता र दक्षताका आधारमा ‘मेरिट वेश’ मै मुख्य रजिष्ट्रारमा बढुवाका लागि सिफारिश गरेको थियो । निरौला २०७३ साल माघ ६ गते सर्वोच्च अदालतको रजिष्ट्रारमा नियुक्त भए । दुई वर्षमै उनी २०७५ साल माघ ९ गते मुख्य रजिष्ट्रार बने । उनी २०२८ माघ २५ गते खोटाङ जिल्लाको एैँसेलुखर्कमा जन्मिएका हुन् । उनले २०५२ साल मङ्सिर २४ गते अदालतको शाखा अधिकृतबाट सेवा शुरु गरेका थिए । २०६० सालमा सर्वोच्चको उपरजिष्ट्रार बने । २०६५ सालमा आएर खुल्लातर्फबाट सहरजिष्ट्रार बनेका थिए ।

न्यायपरिषद ऐन, २०७३ को व्यवस्था अनुसार पाँच वर्ष उच्चको न्यायाधीश वा मुख्य न्यायाधीश नभएसम्म सर्वोच्चमा आउन आउँदैन । पाँच वर्ष मुख्य न्यायाधीश बनेपछि सर्वोच्चको न्यायाधीशमा नियुक्त भए पनि निरौला त्यतिवेला ५५ बर्षको हुनेछन् । ५५ वर्षमा स्थायी न्यायाधीश हुँदा निरौला ६२ वर्षसम्ममा प्रधानन्यायाधीश हुने हिसाबकिताब गरिएको छ । आन्तरिक खिचातानीको जति तानातानमा परे पनि उनलाई सर्वोच्चको न्यायाधीशमा छेक्नसक्ने अवस्था देखिँदैन । सर्वोच्चकै एक उपरजिष्ट्रार भन्छन्, ‘निधारमा राहु र केतु नै बसेर बाटो छेके पनि सर्वोच्चको न्यायाधीशमा रोक्नसक्ने अवस्था देखिएन । प्रक्रियामा छिरेपछि रोलक्रममा प्रधानन्यायाधीश बन्ने कुरा त अनौठो भएन ।’ निरौलाको स्थानमा सर्वोच्चका रजिष्ट्रार लालबहादुर कुँवरलाई मुख्य रजिष्ट्रार बनाएर लैजाने तयारी भएको छ । यता परिषद बैठकले राष्ट्रिय न्यायिक प्रतिष्ठानको रिक्त कार्यकारी निर्देशकमा वैद्यनाथ उपाध्यायलाई नियुक्तिका लागि सिफारिश गरेको छ । उपाध्याय सर्वोच्च अदालतका पूर्व वरिष्ठ न्यायाधीश हुन् । प्रतिष्ठानको कार्यकारी निर्देशक रहेका तपबहादुर मगर राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा सिफारिश भएपछि उक्त स्थान रिक्त थियो ।

मुख्य न्यायाधीशमा सिफारिस गजुरेल नेकपा माओवादीका नेता सिपी गजुरेलका आफन्त हुन् । दीक्षित नेपाल बार एसाेसिएसनमा डेमोक्रेटिक समूहबाट पूर्व केन्द्रिय सदस्य थिइन् ।

टिप्पणीहरू