पाकिस्तानमा ‘कौमार्य परीक्षण’ वर्जित

पाकिस्तानमा ‘कौमार्य परीक्षण’ वर्जित

पाकिस्तानको पञ्जाब प्रान्तको एउटा अदालतले महिला र युवतीमाथि हुने बलात्कार पश्चातको तथाकथित ‘कौमार्य परीक्षण’ लाई निषेधको आदेश दिएको छ । हाललाई पञ्जाब प्रान्तमा लागू हुने उक्त आदेशले यसअघि हुँदै आएको महिलाको यौनाङ्गभित्रको संवेदनशील भागमा दुई औंला छिराएर गरिने कौमार्य अर्थात् ‘हाइमन’ परीक्षण रोकिदिएको छ ।

लाहोर उच्च अदालतका न्यायाधीश आयशा मलिकको एकल आदेशमा भनिएको छ ‘त्यस्ता परीक्षणहरू ‘अपमानजनक’ थिए र ‘त्यसको कुनै फरेन्सिक मूल्य वा अर्थ नै देखिँदैन ।’ पाकिस्तानमा महिला हिंसाविरुद्धका अभियानकर्ताहरूले लामो समयदेखि बलात्कारका घटनामा चिकित्सकीय मूल्याङ्कनको रूपमा गरिँदै आएको कौमार्य परीक्षणको अन्त्यको माग गर्दै आएका थिए । उनीहरूको दाबी छ ‘त्यसमा कुनै वैज्ञानिक आधार छैन ।’

महिला अधिकारकर्मीहरूले लामो समयदेखि हुँदै आएको तथाकथित कौमार्य परीक्षण परम्परागत पितृसत्तात्मक संस्कृतिको हिस्सा भएको बताएका छन् । उनीहरूका अनुसार उक्त संस्कृति र सोचले यौन उत्पीडनजस्तो संवेदनशील घटनामा उल्टै महिलामाथि नै अनेक दोष थुपार्ने गरेको छ ।

पाकिस्तानबाट प्राप्त समाचारहरूमा जनाइएअनुसार हालैको उक्त फैसला तत्कालको लागि पञ्जाब प्रान्तमा मात्र लागू भएपनि अन्य प्रान्तीय उच्च अदालतमा समेत त्यसले नजिरको मान्यता पाउने छ । त्यस्तै प्रकृतिको मुद्दा अहिले सिन्ध प्रान्तको उच्च अदालतमा विचाराधीन छ ।

लाहोर उच्च अदालतमा मुद्दाको पक्षमा बहस गर्दै आएका एकजना कानुनव्यवसायी समीर खोसाका अनुसार ‘यौन हिंसासँग सम्बन्धित कुनै पनि घटनामा गरिने महिलाको कौमार्य परीक्षणको कुनै तुक नरहेको र त्यसको फरेन्सिक मूल्यसमेत नभएको माग दाबीलाई प्रमाणित गरिदिएको छ ।’ उनले भने ‘अब पाकिस्तानी अधिकारीहरूले अदालतको निर्णयलाई शिरोपर गर्दै कौमार्य परीक्षणसम्बन्धी विद्यमान नियम र कार्यविधिमा तत्काल संशोधन गर्नेछन् । त्यसपछि पाकिस्तानबाट कौमार्य परीक्षणजस्तो घृणित कार्य सदाको निम्ति अन्त्य हुनेछ ।’

के हो दुई औंला परीक्षण ?

अदालतको फैसलाले निषेध गरेको दुई औंला परीक्षणअन्तर्गत पीडित महिलाको योनीमा परीक्षणकर्ताले आफ्ना एक वा दुई औंला घुसारेर महिलाको यौनिक क्षमता, शिथिलता,हाइमनको उपस्थिति र अवस्थिति हेर्ने परम्परागत परीक्षण हो । उक्त सिद्धान्तले पीडित  महिला त्यसबखत यौन क्रियाकलापमा कत्तिको सक्रिय भइन् वा भइनन् भनेर जाँच्ने गर्छ । तर,केही पाकिस्तानी चिकित्सकहरूले भने उक्त परीक्षणबाट ‘महिलाले पहिलो पटक यौन अनुभव गरेको हो वा कुनै पुरुषप्रति बद्नियतपूर्वक बलात्कारको आरोप लगाइएको हो भन्ने जाँच्न सकिने ठोकुवा गरेका छन् ।’

विश्व स्वास्थ्य संगठनले भने त्यस प्रकारका परीक्षणमाथि धेरै अघिनै बन्देज लगाइसकेको छ । संगठनले ‘कौमार्य परीक्षणको कुनै वैज्ञानिक आधार नभएकाले उक्त कार्य मानव अधिकार उल्लंघनको एउटा अपराध’ भएको बताएको छ ।

‘हिमशिलाको टुप्पो’

अदालतको आदेशप्रति प्रतिक्रिया दिँदै पाकिस्तानका विज्ञान तथा प्रविधिमन्त्री चौधरी फवादले ‘ल्याण्डमार्क’ फैसला भनेका छन् । उक्त मुद्दाको निम्ति तीन वर्षदेखि अनवरत संघर्ष गर्दै आएकी एकजना महिला अधिकारकर्मी आइमन रिज्वीले ट्वीटरमा ‘म ती सबै महिलाप्रति आभारी छु जसले दशकौंसम्म यो लडाईंलाई जारी राखे । आवश्यकताअनुसार आगामी दिनमा पनि लड्ने छन्,’ भन्दै थपेकी छिन् ‘तर, हामी सबैको लागि,यो नबिर्सौं कि,यो हिमशिला (आइसबर्ग) को टुप्पो हो ।’

टिप्पणीहरू