सत्ताको नोट र सडकको चोट

सत्ताको नोट र सडकको चोट

एक जना ब्राह्मणपुत्र गुरुकुल आश्रममा बसेर दीक्षित भई प्रमाणपत्र लिएर घर फर्किए र प्राप्त प्रमाणपत्र बाबुलाई देखाए । बाबुले छोराको अध्ययनको प्रशंसा गर्दै एउटा प्रश्न सोधे– ‘तिमीले अध्ययन त पूरा ग¥यौ तर भन त पापको जननी के हो ?’

छोरा अक्क न बक्क परे । सबै शास्त्रका ठेली सम्झिए । तर, कतै यसबारे व्याख्या छैन । गुरुका बाणी सम्झिए, तिनमा पनि यसबारे केही भनिएको छैन । छोराको ज्ञानबाट असन्तुष्ट बाबुले जसरी भए पनि यसको जवाफ लिएर मात्र घर फर्कन आदेश दिए । यही प्रश्नको उत्तर खोज्न उनी शहरका गल्ली चाहार्न थाले । एक नगरवधुसँग भेट भयो । नगरवधुले छटपटिनुको कारण सोधिन् । ब्राह्मणपुत्रले पनि रिट्ठो नबिराई सबै बताइदिए । यसलगत्तै महिलाले युवकलाई आफ्नो घरमा पसेर घर पवित्र पारिदिन आग्रह गरिन् । ब्राह्मण भएर यस्ता पतित महिलाको घर जान उचित छैन भन्दै उनी के अगाडि बढेका थिए, ती महिलाले एउटा असर्फी ल्याएर दिँदै भनिन्– ‘कृपा गरेर भित्र पाइला मात्र हालिदिनुस् । अरू केही पर्दैन, बस् मेरो घर पवित्र पारिदिए ऋणी हुने थिएँ ।’ ब्राह्मणलाई पनि भित्री मनमा लाग्यो– ‘भित्र पसिदिए मात्रै असर्फी हात लाग्छ भने के फरक प¥यो र ?’ यही सोच्दै घरभित्र प्रवेश गरे । यसपछि अर्को असर्फी दिँदै ओछ्यानमा बसिदिन आग्रह गरिन् । खल्तीमा असर्फी हाल्दै ब्राह्मणले त्यो इच्छा पनि पूरा गरिदिए । त्यसपछि नगरवधुले अर्को असर्फी दिएर सुनको गिलासमा एक गिलास पानी खाइदिन भनिन् । त्यसका लागि पनि ब्राह्मण तयार देखिए । सुनको बालाको लोभ देखाएर नगरवधुले ब्राह्मणको हातबाट एक गाँस भात खाने अन्तिम इच्छा प्रकट गरिन् । लोभबाट अन्धो भइसकेका ब्राह्मणले यो माग पनि स्विकारेर भात ख्वाउन हात मात्र के उठाएका थिए, उनले बाहुनको गालामा तोरीको फूल देख्ने गरी चड्काउँदै भनिन्– ‘तिमी त्यत्रो ब्राह्मण भएर एउटा असर्फीको लोभमा मजस्ती वेश्याको घरमा पस्यौ । अर्को असर्फीको लोभमा खाटमा बस्यौ । अर्को असर्फीले पानी ख्वायौ । हुँदाहुँदा लोभमा अन्धो भएर मलाई भात ख्वाउनसम्म तयार भयौ हैन ? हो, तिमीले खोज्दै हिँडेको प्रश्नको जवाफ पनि यही हो । लोभ नै अपराधको जननी हो । तिम्रो प्रश्नको जवाफ लिएर पिताजीसँग जाऊ ।’ चित्तबुझ्दो जवाफ पाएपछि सबै लोभ विसर्जन गर्दै ब्राह्मणपुत्र घरतर्पm लागे ।

पाएको दुई तिहाई सन्कीले स्वाहा गरेपछि फेरि अर्को दुई तिहाइको दुहाई दिन कुन नैतिकताले काम गर्छ ?

नेपालका नेताहरूको छिमेकी देश भारत र चीनको भ्रमण अन्ततः त्यही ब्राह्मण पुत्रको जस्तो हुने गरेको छ । जाँदा राष्ट्रियताका भारी लिएर जानेहरू फर्कंदा छोरा छोरी, बहिनी ज्वाइँलाई डाक्टर, इञ्जिनियर बनाउने करारनामामा राष्ट्रिय स्वार्थ खरानी बनाएर फर्किनु आमप्रवृत्ति हो । नेपालीका लागि आउने कोसेली भनेको पेन्गुइनले लुगा लाए भैंm दौरा सुरुवालमा खिचिएका बेढंगे फोटा मात्रै हुन् । बर्सेनि आधा खरब बढी डलरको व्यापार गर्ने यी दुई देश बीचका हामी नेपाली त्यो कुखुराको भाले भएका छौं, जो बासे पनि नबासे पनि बिहान हुन कुनै बाधा पर्दैन । नेपाली भूमि लिपुलेकलाई हेर्ने यी दुई बीचको समान दृष्टिकोणले पनि यस तथ्यलाई पुष्टि गर्छ । बतासे कुखुराको अण्डाभैंm नेपाली माटोलाई उपयोग गर्ने समान नीतिले पनि हाम्रो कूटनीतिक, नेताहरूको राष्ट्रवादी अलाप लाटाले बाउ घुक्र्याए भन्दा पर छैन । लोकतान्त्रिक मुलुकको सरकार प्रमुख आफूलाई हेडसर बनाउने संसद् नै खरानी बनाएर विधिको शासनका पक्षमा रातदिन सुरदास देखिन्छ भने त्यो भन्दा पाखण्ड अरूथोक केही हुँदैन । पाएको दुई तिहाई सन्कीले स्वाहा गरेपछि फेरि अर्को दुई तिहाइको दुहाई दिन कुन नैतिकताले काम गर्छ ? तिब्बती शरणार्थीका सारथी दलाई लामा वर्षौंदेखि भारतमा आसन जमाएर बसेका छन् । प्रमुख नेताले नै शरण पाएको मुलुकमा लोकतन्त्रको मर्यादामा कुनै आँच आएको छैन । व्यापारमा उतारचढाव आएको तथ्यांकले देखाउँदैन । द्विपक्षीय सम्बन्ध मजबुत छ । कूटनीतिका खम्बाहरू बज्रजस्तै दरिला छन् । बरु औद्योगिक क्रान्तिका मानक ठहरिएका पश्चिमालाई लघारेर यी दुई देशले गुमेको पूर्वीय आर्थिक सभ्यता फेरि उदय गराउने विश्वास लिइँदै छ । तर नेपालमा भने गेरु बस्त्र लगाउने एउटा तिब्बतीको गतिविधिलाई लिएर राष्ट्रमै भुइँचालो जान्छ । ठूलाबडा मुखियाहरूले एक चीन नीतिबारे दिनमा दशपल्ट स्पष्टिकरण दिनुपर्छ । यो कस्तो कूटनीति हो ? नागरिकता लिएर के गर्नु एकमुठी चिल्ला सुकिला बाहेकका नेपाली जनता आफ्नै आँगनमा शरणार्थीको नियति बाँच्न बाध्य छन् । अर्कातिर थैली र मजेत्रोमा पैसा बटारेर बोक्ने जनता भएका देशमा जाली नोट कारोबारको सन्दर्भ दिनरात उठ्नु, संसारका मानिस एउटै गाउँमा रूपान्तरित भई सभ्य समाजको परिकल्पना भएको विश्वमा नागरिकता नामको चिर्कटोका विषयमा दिनरात तर्क, कुतर्क अनि माथापच्ची चल्नु पछाडिको पहेली बुझी साध्य छैन् । नेपालको राजनीति एकदम सरल छ । सिंहदरबारले सत्ताको राप अनि तापले नभेटेकाहरूलाई सम्बोधन गर्ने बित्तिकै देशका तमाम समस्या समाधान हुन्छन् । जसले जतिसुकै डोरी बाटे पनि आखिर कृषकले समयमा मल बीउ, न्यायमा सर्वसाधारणको पहुँच अनि विधिको शासनबाहेक कसले के नै मागेको छ र ? एउटी नारी भृकुटी चीन पुगिन्, साइनोको सेतू बनिन् । अरनिको पुगे, संस्कृतिको अमिट बाटो कोरे । बीपी गए, संसारको धुरी सगरमाथालाई नेपालको पोल्टोमा पारे । अपठित जंगबहादुर बेलायत पुगेर आएपछि सेनामा सुधार गरे । गिद्दे छापाखाना प्रारम्भ गरे । भारतका मुख्यमन्त्रीहरूले बिल गेट्सलाई राज्यमा बोलाएर कम्प्युटर शिक्षाको अभियान जोडतोडसाथ चलाए । यताका मुख्यमन्त्रीले सीडीओको पोल प्रधानमन्त्रीलाई लगाएर तीन वर्ष बिताए । प्रदेशको नाम घोषणा जीवनको पहिलो र अन्तिम काम बन्यो । १ नम्बर प्रदेशले त त्यही काम गर्न सकेको छैन । यो दृश्यले भन्छ– मुलुक कसैले चलाएको छैन, आफैं चलेको छ । यस्तो निष्प्राण ढंगले मुलुक चल्नु र रोबोट हुनु एकै हो । एक्काइसौं शताब्दीमा सभ्य भनिएका नेताहरू यताबाट जाँदा सोच्दा पनि अशिष्ट र जंगली लाग्ने जातिवादी नारा लिएर जान्छन् अनि उताबाट झापड् पाएपछि निहुरमुन्टी न भएर फर्किन्छन् । आफ्नै घरलाई अनुशासनमा राख्न नसकेर छोराछोरी नै चार दिशातर्पm मुख फर्काउने अवस्था झेलिरहेका उनीहरूलाई संघीयता शब्द सुगा शैलीमा कण्ठ छ तर त्यसको परिभाषा थाहा छैन् । आफ्नै परिवारलाई न्याय गर्न सक्ने क्षमता नभएकाहरूबाट क्षेत्रीय राज्यको अभ्यास हुनु नरकयात्रा सिवाय केही होइन । मुलुकमा वित्तीय अनुशासनका कुरा गर्ने मान्छे पागल करार हुने अवस्था छ ।

घोडाभन्दा अघि बग्गी दौडियो भने के हुन्छ ? राजनीतिमा तोड्ने कैंचीहरू धेरै जन्मिए । सानै होस् न, जोड्ने सियो कोही भएनन् । हुन खोज्नेहरू एक्लिए । समयसंगै युनिभर्सिटीको प्रमाणपत्र लिनेहरू बढे होलान तर जनताको चेतना, आकांक्षा र आवश्यकतामा त्यति ठूलो अन्तर आउँदैन । हामीले भनेको परिवर्तन मूलतः टाइपराइटरबाट कम्प्युटरमा प्रवेश गरेको मात्र हो ।

संसारमा निर्विकल्प र अन्तिम सत्य मानिने मृत्युका विषयमा पनि वैकल्पिक बहस हुन थालेका छन् । नानीमैयाँदेखि करिमा बेगमले जितेको अपवादलाई राजनीतिको व्याकरण फेरिएको रूपमा हेर्नुहुन्न । आखिर तिनीहरू जसरी आए, उसरी नै गए । संसारमा हातखुट्टा नभएका करोडौं छन् तर बजारमा तिनीहरूका लागि भनेर सर्ट, पाइन्ट त सिलाइएको हुन्न नि !

मुलुकलाई सुशासनमा लैजाने कागजी प्रयास त उहिल्यैदेखि भएकै हो । कागजमा घोडाको सुन्दर तस्वीर बनाउनेहरूले तबेलामा घोडा बाँध्दा आइपर्ने चुनौती र त्यसको तयारीलाई पटक्कै ध्यान दिएनन् । तात्कालिन राजा महेन्द्रको भाषा आफैं बोल्छ– ‘आजदेखि भ्रष्टाचार निवारण आफिस, पब्लिक सर्भिस कमिसन, सेन्ट्रल इन्टलिजेन्स ब्युरो, कमाण्डरी किताब खाना मैले आफ्नै मातहत राखी काम चालु गर्ने भएको छु । त्रुटि मानिसबाटै हुन्छ । सो दोहोरिन नदिनु पनि मानिसकै गुण हो । जनताको आवाजलाई महत्व दिई प्रजातान्त्रिक तरिकाले छलफल, सरसल्लाह गरी जो उचित ठहरिएला सोबमोजिम यथाशीघ्र जनताको विश्वासपात्र भई देशको हित गर्ने योग्य मन्त्रिमण्डल खडा गर्नेछु ।’ यसखाले गल्तीबाट गल्ती सिक्ने दुष्चक्रबाट कहिले मुक्ति पाइएला खै ?

[email protected]

टिप्पणीहरू