राजनीति गाली र ताली मात्रै हो ?

राजनीति गाली र ताली मात्रै हो ?

प्रेमराज सिलवाल

प्रणाली, व्यवस्था र राजनीतिक मूल्य सुहाउने राजनीतिक संस्कार र संस्कृति बसाल्न सकिएन भने ‘बाँदरको हातमा नरिवल’ बन्न बेर लाग्दैन । प्रणाली स्वयं साध्य होइन र हुन्न । प्रणालीका सञ्चालक र चालक गतिला भएनन् भने त्यो साधनको दुरूपयोग हुन पुग्छ ।

नेपाली राजनीतिमा असल संस्कार एवं समाजका लागि उपयोगी संस्कृति बसाल्नै सकिएन । ०४६ सालमा आएको प्रजातन्त्र दशकभन्दा बढी कांग्रेस–कम्युनिष्टको झगडामा सकियो । त्यसमा पनि सशस्त्र समूहको नेतृत्वकर्ता माओवादीको उग्र नारा र आन्दोलनको गाली एकातर्फ थियो भने ‘आतंककारी’ को नारामा गाली गर्दैै आन्दोलनलाई दुत्कार्नेहरू अर्कातर्फ थिए । उता, दरबार हत्याकाण्ड र राजा ज्ञानेन्द्रको शाही कु पछि ‘राजाको जयजयकार’ गर्नेहरूले ताली बजाएर खाए । लोकतन्त्र र राजनीतिक दलतर्फ धारे हात लगाएरै मानो पचाए । गणतन्त्र आएपछि पनि नयाँ संस्कार र संस्करणमा गालीको संस्कार तथा संस्कृति गएन, बढ्न पुग्यो । अर्थात् अनेक रूप र स्वरूपमा झांगिएर आएको छ ।

केही अतिवादी र प्रणाली विरोधीलाई गणतन्त्र भनेकै गाली गर्नका लागि आएको राजनीतिक प्रणाली हो भन्ने भइदियो । गणतन्त्रमा जसलाई जस्तोसुकै गाली गर्ने छुट हुन्छ भन्ने ‘स्यालहरूले’ हुइँया गाएको गायै छन् । अर्काेतर्फ आफूलाई गणतन्त्र, प्रणाली, विधि, पद्धति र राजनीतिक संस्कृतिको वाहक भन्न रुचाउने शक्ति र समूहले संसद्को विघटन भएपछि गालीको वर्षा ओकल्न थालेका छन् । गाली गर्ने र केही अगुवा–पछुवाबाट होहो..रे होहो गर्दै ताली खाने संस्कार बसालिएको छ । कति गाली गर्ने ? कसलाई गाली गर्ने ? के के गाली गर्ने ? कस्ता शब्द–वाक्यमा गाली गर्ने ? केसम्म आरोप लगाउने ? भन्ने कुराको यहाँ कुनै ठेगान र टुंगो हुन छाड्यो । क्षणिक उत्तेजना शान्त पार्न र सस्तो ताली खान मात्र हामी राजनीतिमा छौं ? अर्काेलाई गाली गर्ने नै हाम्रो असली योग्यता हो ? यस्ता अनेकन सवाल नेपाली राजनीतिमा देखिएका छन् ।

भाषण गर्दा युरोप–अमेरिकाको उदाहरण दिइन्छ र सपना बाँडिन्छ । तर, के युरोपमा त्यस्ता राजनीतिक गालीको गीत गाइन्छ ?

गालीको पनि कुनै सीमा होला नि ? न्यूनतम राजनीतिक संस्कार र मूल्यबाट च्यूत हुन खोजैकै हो त ? नेपाली राजनीतिमा गाईजात्रामा पनि भन्न नसकिने गाली दिउँसै खुलेआम भन्न थालिएको छ । राजनीति भनेको अर्काेलाई आरोपै आरोप लगाउने विधि हो ? अवश्य होइन र हुनुहुन्न ।

नेपाली राजनीतिमा नेताहरूले चुनावी भाषण गर्दा युरोप–अमेरिकाको उदाहरण दिइन्छ र सपना बाँडिन्छ । स्विजरल्याण्डको विकास गाइन्छ । युरोपका फिनल्याण्ड, नर्वे, नेदरल्याण्डजस्ता मुलुकको उदाहरण लिइन्छ । सिंगापुरे विकासको गाथा भट्याइन्छ । तर, के युरोपमा त्यस्ता राजनीतिक गालीको गीत गाइन्छ ? पटक्कै देखिन्न । सुन्नै पाइन्न । दक्षिण एसियाको र त्यो पनि भारतीय राजनीतिको संस्कृतिले नेपाली राजनीतिलाई गाँजेको छ । युरोपका मानिसलाई फुर्सदै छैन । राजनीतिलाई तिनीहरूले पेशा बनाएनन् । खान र बाँच्न उनीहरू आफ्नो पेशा, रोजगारी, व्यवसाय गर्छन् र राजनीतिलाई समाजसेवा मान्छन् । यहाँजस्तो राजनीतिबाटै धनी बन्न पाउने संस्कार त्यहाँ छैन ।

नेपालमा संसद् विघटनपछि नेकपाका दुवै समूहले एकअर्काेलाई लगाएको आरोप, आक्षेप र आरोप–प्रत्यारोपको श्रृंखला हेर्दा ‘सिल्भर’ हाइन ‘गोल्डन मेडल’ ल्याउने अवस्था छ । प्रधानमन्त्रीले तालीको शैलीमा प्रचण्डलाई ‘हत्यारा, ज्यानमारा, लुटेरा’ भन्न बाँकी राख्नु भएन । उता, प्रचण्डले प्रधानमन्त्रीलाई ‘राजावादी’ सम्मको आरोप र गाली गरिरहनुभएको छ । देख्नेलाई भन्दा सुन्नेलाई लाज हुने भइसक्यो । नेपाली राजनीतिमा गालीको श्रृंखला हेर्दा ।

‘आफूसँग हुँदा चाट्ने र छुट्टिएपछि काट्ने ?’

आफ्नो समूह वा पार्टीको नीति यो हो । हामीले यसका लागि पार्टी बनाएका हौं । अबको हाम्रो योजना, कार्यक्रम, नीति, पद्धति, विधि, तरिका, कार्यशैली, आधार, गन्तव्य, यात्रा, दृष्टि र लक्ष्यजस्ता पक्ष यी–यी हुन् भन्ने कुरा कति थोरै आएका छन् । यो हुनुपर्ने होइन र ? बैठक र सांगठनिक नीति र निर्णय यस्ता कुरामा हुनुपर्ने होइन र ? किन यस्ता पक्षमा बहस, क्रिया, छलफल र तर्क÷वितर्क हुन्नन् ? आफूअगाडि उभिएका मानिसलाई गालीको भरमा उत्तेजित पार्नु मात्र राजनीतिक संस्कृति हो त ? यसले हामीलाई कस्तो राजनीतिक संस्कार देला ? यस्ता सवाल नेपाली राजनीतिमा हालै गम्भीर भएर उभिएका छन् ।

‘आफूसँग हुँदा चाट्ने र छुट्टिएपछि काट्ने ?’ कमरेडहरू, यो तरिकाले हाम्रो नेपाली राजनीतिको संस्कृति कस्तो बन्न पुग्ला ? यो महत्वपूर्ण र चुनौतीपूर्ण सवाल हो । केही समय र केही मानिसलाई त्यसले मनोरञ्जन पनि देला । तर, त्यो संस्कार र संस्कृतिले नेपाली समाजलाई कस्तो बनाउन सहयोग गर्ला ? यो आजको ज्वलन्त सवाल हो । राजनीति सबै नीतिको पनि नीति हो । राजनीतिमा भएको संस्कृतिको प्रभाव समाजका सबैजसो नीति, संगठन, समूह र नागरिक समाजको तहमा पुग्ने हुन्छ । यस्तो महत्वपूर्ण उपरी संरचनामा हुने निष्कृष्ट गालीको वर्षाले हाम्रो समाज ध्वस्त बन्न पुग्छ । समाज बिग्रियो, असभ्य बन्यो भन्दै हामीले विद्यार्थीलाई नैतिक शिक्षा पढाएका छौं । हालै कक्षा ११–१२ मा पनि नैतिक शिक्षा, सामाजिक शिक्षा तथा जीवनोपयोगी शिक्षा अनिवार्य भन्दै पढ्नै पर्ने पारेका छौं । त्यसको मूल उद्देश्य भनेको भोलिको युवा पुस्तालाई सुसंस्कृत बनाउने, असल चरित्रको बनाउने र सभ्य नागरिक बनाउने नै हो । होइन र ? तर, दैनिक आउने राष्ट्रिय समाचार र सूचनामा भने प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मले बिहान उठेदेखि बेलुकीसम्म हुने कार्यक्रम, भाषण, क्रिया, अन्तरक्रिया र आफ्ना घोषणामा केवल गालीको पर्रा गोलीका छर्रा छरेसरी छरिरहने गर्नुभएको छ । यो तरिकाले हाम्रा कलिला विद्यार्थी, नेपाली समाज र सिंगो मुलुकमा त्यसको के–कस्तो असर र प्रभाव पर्ला ? यो अति नै संवेदनशील विषय हो ।

भर्खर नयाँ संविधान जारी गरी गणतन्त्र र संघीयतामा गएको नेपाली राजनीतिमा गालीको संस्कृतिले हाम्रो गणतान्त्रिक संस्कार धुजाधुजा र विकृत पार्न सक्नेतर्फ सम्बन्धित सबै सचेत बन्नुपर्ने खाँचो छ । केवल तातो र सस्तो तालीका लागि पटटट गाली ओकल्ने हो भने हाम्रो समाज नै दूषित बन्न जाने हुन्छ । यसैले राजनीतिक मूल्य, संस्कार र संस्कृतिको पनि ख्याल गरी आवश्यक र समाजले पचाउने गाली मात्र गरौं । नत्र समाजलाई पखाला लाग्न सक्छ । जीवनजलले काम गर्ने छैन ।

टिप्पणीहरू