सक्षम नेतालाई सिध्याउने षड्यन्त्र

सक्षम नेतालाई सिध्याउने षड्यन्त्र

चाओ एनलाई माओत्सेतुङपछि चिनियाँ जनताले सर्वाधिक रुचाएका नेता । नवजनवादी गणतन्त्रका प्रथम प्रधानमन्त्री । सन् १९२५ मा देङ यिङचाओसँग बिहे । दुवै त्यसबेलै चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य । बिहेको समय चाओ २७ र देङ २१ वर्षकी । चाओको निधन ७७ वर्षको उमेरमा सन् १९७६ को जनवरी ८ मा मूत्राशयको क्यान्सरबाट भयो । माओ बित्नु ठीक ८ महिनाअगाडि । चाओपत्नी देङको निधन सन् १९९२ मा ८८ वर्षको उमेरमा भयो– मिर्गौलाले काम गर्न छाडेपछि । चाओ र देङले ५१ वर्ष दाम्पत्य जीवन बिताए तर निसन्तान रहे । चाओ दम्पतीले धर्मपुत्रको रुपमा पालेका लि फङ पछि (स १९८८ देखि १९९८ सम्म) १० वर्ष प्रधानमन्त्री बने ।

हङकङमा कार्यरत पत्रकार त्सोइ विङ मुइका अनुसार प्रधानमन्त्री चाओ समलि¨ी थिए । उनले श्रीमती देङ आजीवन निसन्तान हुनुलाई यसो भन्ने एउटा आधार बनाएकी छन् । यसबाहेक सन् १९९८ मा चाओको एक सयौं जन्मजयन्तीको अवसरमा चिनियाँ सरकारले प्रकाशन गरेका पुस्तक, पुस्तिकालाई सन्दर्भसामग्री बनाएकी छन्, जसमा चाओले लेखेका डायरी, भाषण, लेख, कविता र पत्रहरु थिए । सन् १९१२ देखि १९२४ सम्मको अर्थात् चाओ र देङको बिहे हुनुअघिसम्म चाओले डायरी लेख्ने गरेको पुष्टि हुन्छ । २० वर्षको उमेरमा अर्थात् सन् १९१८ को जनवरी १ मा लेखेका रहेछन्– ‘जीवनमा पहिलो पटक प्रेम शब्दमा डुबुल्की लगाउने मौका पाएँ, त्यो पनि उत्कट हृदयले…।’ डायरीमा उपरोक्त वाक्यमध्येको दोस्रो वाक्यांशलाई बु्रस लगाएर ‘हाइलाइट’ गरिएको थियो । डायरीमा अर्को एक ठाउँमा लेखिएको थियो, ‘महिना दिनजति भयो, चन्द्रमा अर्थात् बिहान बिहान सिरेटो चल्ने गरेको छ, पानीको छिटाले मेरो झ्याल र फूलहरुलाई हान्छ । यी सबैले मलाई परिवारबाट टाढा महसुस गराउँदै छ, भाइ हुइलाई सम्झिराखेको छु । एकदम गाह्रो भइरहेको छ ।’

लेखिका मुइले सन् २०१५ मा प्रकाशन गरेको पुस्तक ‘दि सिक्रेट इमोस्नल लाइफ अफ चाओ एनलाइ’ मा यो कुरा उल्लेख छ । मुइका अनुसार डायरीमा चाओले ‘मिस’ गर्ने गरेको भाइ हुइ, अरु कोही नभई लि फुजिङ हुन् । चाओले उच्च शिक्षा जापान र फ्रान्समा हासिल गरेका थिए । चाओ र लि जापानमा सँगै पढेका हुन् । सन् १९१७ देखि उनीहरु सँगै थिए । लि चाओभन्दा दुई वर्ष कान्छा । उनको सन् १९६० मा निधन भइसकेको छ । लेखिका तथा पत्रकार मुइले चाओको लिसँग समलि¨ी सम्बन्ध रहेको दाबी गरेकी छन् । डायरीको एउटा पानामा हुइलाई सम्बोधन गर्दै ‘तिमी बिना एक दिन पनि बस्न सक्दिनँ’ लेखेबाट चाओ र लिबीच गहिरो प्रेम रहेको पुष्टि हुन्छ भनेकी छन् ।

मुइका अनुसार चिनियाँ इतिहासकार तथा लेखकहरुलाई चाओको यो गोप्य जीवनबारे जानकारी छ तर चिनियाँहरू आफ्ना नेताप्रति अगाढ आदर र श्रद्धा राख्छन् । अर्को तथ्य सन् १९९७ सम्म चीनमा समलि¨ी सम्बन्ध अवैध थियो, त्यसकारण सबै मौन बसेका हुन् । मुईले सोचेअनुरुप उनको पुस्तकलाई लिएर सरकारले ठूलो विरोध गरेन यद्यपि चिनियाँहरुबीच हंगामा मच्चिएपछि चीनमा प्रतिबन्ध लाग्यो । सञ्चार मन्त्रालयका प्रवक्ताले बोल्न अस्वीकार गरे । सत्तारुढ पार्टीको इतिहास विभागले टेलिफोनमार्फत ‘सत्यता नभएको’ प्रतिक्रिया दियो । चाओको जीवनी लेखक छाओ वेनखियानले चाओको यौनजीवनबारे थाहा नभएकाले मुइको दाबी सत्य–असत्य दुवै हुनसक्ने प्रतिक्रिया दिए । लेखिका मुइले भारत भ्रमण (सन् १९५६) को बेला चाओ कोलकाता गई लिसँग भेटेको घटनालाई प्रमाणको रुपमा लिएकी छन् । उनका अनुसार लि जापानबाट फर्केपछि हङकङ र त्यहाँबाट कोलकातामा बस्न थालेका थिए । जापानमा रहँदा उनीहरु सहपाठी थिए ।

‘दि सिक्रेट सेक्स्युअल लाइफ अफ चाओ एनलाई एण्ड दि लिमिट्स अफ हिस्टोरिकल नलेज’ पुस्तकमा पनि चाओको समलि¨ी सम्बन्धबारे उल्लेख छ । सन् २०१६ मा प्रकाशित यो पुस्तकका लेखक जेरेमी जेन्ने हुन् । जेरेमी अमेरिकी हुन् तर बेइजिङमा इतिहास पढाउँछन् । त्यसो त चीनमा समलि¨ी यौन सम्बन्ध परापूर्वकालदेखि चलेको इतिहासकारहरुको दाबी छ । लेखक ब्रेत हिन्स्च, रिचर्ड बर्गरलगायत दर्जनौं लेखकले यसबारे लेखेका छन् । सन् १९९७ अघि समलि¨ी सम्बन्ध राख्नेलाई ‘गुण्डा’ तथा ‘हुल्याहा’ भनेर दुत्कार्ने गरिन्थ्यो । लेखिका मुइले त चाओको लिखित ‘अन्तरंग सम्बन्ध’ भएकै कारण शुरुआती दिनमा पतिपत्नीबीच मनमुटावसमेत भएको दाबी गरेकी छन् । पत्रकार चाओ समलि¨ी विषयमा नै धेरै कलम चलाउँछिन् ।

हत्या प्रयास

सन् १९५५ को अप्रिलमा इन्डोनेसियाको बाङडुङ शहरमा असंलग्न राष्ट्रहरुको सम्मेलन हुने भयो । २९ वटा मुलुकले भाग लिन गइरहेको उक्त सम्मेलनमा मुख्य भाषण चिनियाँ प्रधानमन्त्री चाओ एनलाइले दिने तय भएको थियो । सम्मेलनको लागि चाओ बेइजिङबाट हङकङ हुँदै जकार्ता जाने कार्यक्रम बन्यो । अप्रिल ११ मा एअर इण्डियाको लकहिड एल–७४९ ए विमान ‘काश्मिर प्रिन्सेज’ हङकङ पुग्ने र त्यहाँ इन्धन भरेर सोही दिन जकार्ताको लागि उड्ने कार्यक्रम थियो । कार्यक्रमअनुसार त्यसमा चाओ एनलाई पनि यात्रा गर्दै थिए । विमान ग्रिनविच समय ०४२५ मा उड्यो । विमानमा ११ जना यात्रु र आठ जना चालक दलका कर्मचारी थिए । विमान दक्षिण चीन समुद्रमाथिको आकाशमा उडिरहेको थियो । ग्रिनविच समय ०९२५ मा अचानक बिष्फोट भई विमान समुद्रमा खस्यो । सबै १६ जनाको मृत्यु भयो, ३ जना घाइते भए । अनुसन्धानबाट थाहा भयो, विमानमा टाइम बम राखिएको थियो, जुन एमके ७, डिटोनेटर अमेरिकामा निर्मित थियो । हङकङमा विमानमा इन्धन भर्दाको समय सो टाइम बम राखिएको पत्ता लाग्यो ।

वास्तवमा सो टाइम बम चिनियाँ प्रधानमन्त्री चाओ एनलाइ मार्न राखिएको थियो तर चाओ स्वयंले यो षड्यन्त्रबारे थाहा पाए र बेइजिङबाट हङकङ उड्न तय भएको दिनमा उनी विमानमै सवार भएनन् र कार्यक्रमभन्दा तीन दिनपछि मात्र हङकङ पुगे । लगत्तै चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी चाओको हत्याको षड्यन्त्र अमेरिका र ताइवान मिलेर गरेको आरोप लगायो । सन् १९४९ को अक्टोबर १ मा माओको नेतृत्वमा चीन नवजनवादी गणतन्त्र बनेको दुई महिनापछि गणतन्त्र चीनका राष्ट्रपति तथा कोमिन्ताङ सरकार प्रमुख च्याङ काइसेक डिसेम्बर १०, १९४९ मा चीनबाट भागेर फार्मोसा (ताइवान) पुगेका थिए । नमरुञ्जेल (सन् १९७५) सम्म ताइवानको राष्ट्रपति भएका उनीद्वारा अमेरिकी गुप्तचर विभाग सिआइएको सहयोगमा चाओलाई मार्न उक्त षड्यन्त्र गरिएको थियो ।

दुर्घटनाको छानबिन गर्न गठित समिति र त्यहाँका प्रहरीले अनुसन्धान गरिरहँदा हङकङस्थित एयरक्राफ्ट इन्जिनियरिङ कम्पनीका चौकीदार चाउ त्सेमिङ ताइवान भाग्न सफल भए । उनलाई सिभिल एयर ट्रान्सपोर्ट (सिएटी) विमानले ताइवान लगेको थियो । सिएटी सिआइएले प्रयोग गर्दै आइरहेको विमान थियो । पछि हङकङमा शासन गरिरहेको ब्रिटिश सरकारले चाउ कोमिन्ताङको जासुस भएको पुष्टि ग¥यो । उनैले ‘काश्मिर प्रिन्सेज’ विमानभित्र टाइम बम राखेको रिपोर्ट दियो ।

सन् १९७१ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन आउने भएपछि तत्कालीन विदेशमन्त्री हेनरी किसिन्जरले पटक–पटक चीन भ्रमण गरे । त्यसक्रममा बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा भएको भेटको समयमा डा. किसिन्जरसँग प्रधानमन्त्री चाओ एनलाइले आफूलाई मार्न गरिएको षड्यन्त्रमा अमेरिकाको संलग्नता थियो कि थिएन भनेर सिधै सवाल गरे । जवाफमा किसिन्जरले योजना बनेको तर निक्सनको सरकारले सहमति नदिएको जवाफ दिए ।

निक्सनको चीन भ्रमण

चीनसित सम्बन्ध स्थापना गर्ने पटक–पटकको प्रयासपछि सन् १९७१ को जुलाई १५ मा विश्वलाई नै तीनछक पार्दै अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले अर्को वर्ष चीन भ्रमणमा जान लागेको घोषणा गरे र सन् १९७२ को फेबु्रअरी २१ मा चीनको भूमिमा पाइला टेके । विमान आकाशमा उड्दै गर्दा निक्सनले सल्लाहकारहरुसित कार्यक्रम के–के छ भनेर सोधे । उनीहरुले माओत्सेतुङसित भेट्ने कार्यक्रम नभएको बताए । केही सैन्य जर्नेलहरुसित भेट्ने, त्यसपछि प्रधानमन्त्री चाओसित भेट्ने कार्यक्रम भएको बताए । उनले चाओ कस्ता व्यक्ति हुन् भनेर सोधे । सल्लाहकारहरुले चाओ माक्र्सवादी दृष्टिकोणबाट इतिहास पढेका व्यक्ति हुन्, उनीसँग सोहीअनुरुप कुराकानी गर्दा राम्रो हुने सल्लाह दिए । स्मरणीय छ, भ्रमणको दौरान निक्सन र माओबीच पनि कुराकानी भयो ।

बेइजिङमा आयोजित रात्रिभोजमा टेबुलको एकातिर निक्सन र अर्कोतिर चाओ बसेका थिए । निक्सनले भावरहित दृष्टि डाल्दै कुरा शुरु गरे ।

उनले भने– इतिहास भनेको माखे साङ्लो हो, होइन र ? उदाहरणका लागि, म पहिला जोन एफ केनेडी नाउँको ठिटोसँग चुनाव लडेको थिएँ ।

चाओ ः हामीलाई थाहा छ, राष्ट्रपतिज्यू ।

निक्सन ः र, उसले मलाई हरायो, थाहा छ नि ?

चाओ ः हामीले यो पनि सुनेका छौं ।

निक्सन ः त्यो बेला मेरो निधारबाट पसिना छुट्यो तर धेरै समय नबित्दै जसले मलाई हराएको हो, ऊ गोली लागेर म¥यो ।

चाओ ः हो, यो दृश्य पनि देखेको हो ।

निक्सन ः अब सोचौं, त्यही गोली लागेर रुसी नेता निकिता खु्रस्चेभलाई मारिएको भए, के तपाईं इतिहास ठीक भिन्न हुन्थ्यो भन्ने सोच्नुहुन्छ ?

चाओ ः म सोच्न सक्छु । वास्तवमै स्थिति फरक हुन्थ्यो होला ।

निक्सन ः के हुन्थ्यो होला ?

चाओ ः एरिस्टोटल ओनासिससँग म्याडम खु्रस्चेभले बिहे गर्थिन् जस्तो मलाई पटक्कै लाग्दैन ।

(स्मरणीय छ, लोग्ने मरेको ६ वर्षपछि ३९ वर्षीया ज्याकलिन केनेडीले ६२ वर्षीय ग्रिक खर्बपति ओनासिससित बिहे गरेर विश्वलाई अचम्मित पारेकी थिइन् ।)

टिप्पणीहरू