कुर्कुच्चो कता फर्कियो कमरेड

कुर्कुच्चो कता फर्कियो कमरेड

– दिनेश रायमाझी

देशमा कस्तो बिचित्रको राजनीतिक माहोल बन्यो भने मान्छेको खुट्टाको कुर्कुच्चो ठ्याक्कै अगाडि फर्केको छ र त्यो विरोधी दल वा अरू कसैले होइन कि आफ्नै दलकाले देखेर चिच्याइचिच्याइ भनिरहेका छन्– हेर है गाउँले हो, फलाना फलानाको कुर्कुच्चो त अगाडि फर्किएको छ !’ भन्नेलाई भन्दा सुन्नेलाई लाज !

देश जुन दिशामा र जुन रफ्तारका साथ अघि बढ्नुपर्ने थियो, त्यता नगएकै हो तर यस्तो भन्नु लगभग बर्जित छ, बोल्यो कि पोल्यो । देशले प्राथमिकता रोज्नै सकेन । सके त सुपर सोनिक जहाज, रेल नै चाहिन्छ तर जहाँ झोलुंगे पुलको के कुरा, बाँदरजसरी झुन्डिएर नदी तर्ने दिन अझै कायमै छ । त्यहाँ चुच्चे रेल र पानीजहाजको के कुरा । जहाँ सबै जनताले ग्यासको सिलिन्डर प्रयोग गरेर खान पाइरहेका छैनन् त्यहाँ यो प्याट्ट ग्यासको के महत्व ? तर, प्रधानमन्त्रीले भनिदिनुभयो । सबै गद्गद् भए । वास्तवमा यही गद्गद्ले नै हो नेकपा सरकारको अगाडि जाने दिशा र गति रोकेको ।

मान्छेले समस्यामा नपरुञ्जेल समस्यामा पार्ने वा मौकाको अनुचित फाइदा उठाउनेलाई चिन्न सक्दैन । कोरोना–१९ भाइरसको कारणले लकडाउन भयो । जनता भोकै प्यासै सयौं किमि पैदल हिँड्न बाध्य भए, सिमाना र विदेशी भूमिमा रोकिए, महँगोमा यात्रा गर्न बाध्य भए, ठगिए मास्कमा, टेस्टिङमा र औषधिमा । यस्तो कार्यले सरकारको दिशा र दिललाई छर्लंग्याइदियो । सरकार कस्तो र कसको रहेछ भनेर धेरैले चिने । अहिले सरकारप्रति पार्टीभित्र देखिएको असन्तुष्टिमा यी कारण छन् । तर, यो मान्न धेरै तयार छैनन् । कमजोरी छ भन्ने मान्दा सानो होइन, बरु ठूलो नै भइन्छ, मानप्रतिष्ठा बढ्छ ।

चुनाव अहिलेको आवश्यकता हो ? बोल्दैनन् तर चुनावमा जान हिँडेका छन् ।

स्पष्ट त के दुई तिहाइकै हाराहारीमा समर्थनप्राप्त सरकार थियो । नीति तथा कार्यक्रम वा भनौं बजेटबिना अवरोध पास भएकै थियो । भनेका र चाहेका नियुक्ति, सरुवा र बढुवा पनि भएकै थिए । वाइड बडी, प्रिन्टिङ मेसिन तथा ओम्नीबारे जतिसुकै चर्काे गरी मिडिया वा विपक्षले उठाउन खोजेको भए पनि तिनको कति सुनवाइ हुने गुञ्जायस नै थिएन, भएन पनि । कहीँ–कतै कुनै प्रकारको प्रश्न उठ्ने र जवाफ दिनुपर्ने अवस्थै थिएन । पार्टीभित्र मिटिङमा नजाँदा, गएर बीचैमा उठी हिँड्दा वा गएर दुई गुणा धेरै पन्नाको प्रतिआरोप पत्र पेश गर्दा पनि ठिकै थियो । तर, यति हुँदाहुँदै पनि संसद् विघटन भयो । पार्टी यता र उता हुन पुग्यो । यही यता र उता हुनेहरुले नै आफ्नै कमरेडको खुट्टाको कुर्कुच्चो अगाडि फर्केको देखिरहेका छन् । सर्पले सर्पको खुट्टा देख्छ भनेजस्तो अहिले यिनैै दुईतिर हुनेहरूले देखाइरहेका छन् र जगलाई भयभित तुल्याइरहेका छन् । लेखराज भट्टले माधवले तत्कालीन राजासमक्ष प्रधानमन्त्री बन्न अर्जी हालेको कुरा सार्वजनिक गरे । उद्योगमन्त्री बन्दासम्म यिनले कुर्कुच्चा कता फर्केको थियो देखेनछन्, अहिले पद जाने खण्डखातिर आउने स्थिति बनेपछि पदमै बहाली रहन आफूले उहिले नै देखेको कुर्कुच्चो बल्ल भन्दै छन् । यस्तो गरेर मानप्रतिष्ठा हुने र देख्ने दुवैको बढ्दैन, घट्छ ।

जनता के चाहन्छन् त ? जवाफ कसैसँग छैन । के जनता खुशी छन् ? जवाफ दिन्नन् । चुनाव अहिलेको आवश्यकता हो ? बोल्दैनन् तर चुनावमा जान हिँडेका छन् । के लगातारको चुनाव देशको अर्थतन्त्रले धान्न सक्छ ? बोल्दैनन् । तर, यी सबैको जवाफ जनतासँग भने छन् है ! र जनता बोल्छन्, बोलिरहेका पनि छन् । जनता एकताबद्ध दल, एकताबद्ध नेता र एकताबद्ध आन्दोलन चाहन्छन् । समृद्धि मागेकै छैनन् जनताले । एकदमै सानो चाहना छ, त्यो हो– आफ्नो कष्टकर दैनिकी सहज भइदिए हुन्थ्यो । यो पनि मागको रूपमा हुँदै होइन । यस्तो हुँदा पनि सरकार चल्न सक्दैन, पार्टी चल्न सक्दैन । जनता असाध्यै दुखित छन् । गाउँघरमा विरोधीले गिज्याइरहेका छन्, खिसिट्युरी गरिरहेका छन्, त्यसैले जनता दुखित मात्रै होइन, लज्जित पनि छन् । तर, यो कुरा थाहा पाउन चाहन्नन् धेरैले ।

सत्ता र शक्तिको अभ्यास गर्नेहरूले मनन गर्नैपर्ने एउटा सुझाव छ । समुद्र धेरै फराकिलो र धेरै गहिरो हुन्छ । समुद्रमा नडुब्ने चिज के होला र ? जहाजको त कुरै भएन, पहाडै खस्यो भने पनि डुब्छ । तर, एक थोपा तेल जसको कुनै तौल हुँदैन त्यसलाई चुहायो भने समुद्रले उसलाई डुबाउन सक्दैन । निष्ठा जनताप्रति, इमानदारी जनताप्रति र लगाव जनताप्रति हुँदा कस्तै शक्तिसँग पनि झुक्न पर्दैन । समुद्रमा तेल तैरिएझँै तैरिन सकिन्छ, डुबिँदैन । तर, यस्तो भएन भने जहाज डुबेजस्तै डुब्न कत्तिबेर लाग्दैन ।

ल हेरौं त, कम्युनिष्ट पार्टी बनाउन सात दशकभन्दा बढी समय लागेको थियो हामीलाई तर भत्काउन निमेषभर पनि लागेन । एमाले विभाजन र त्यसपछिको समय कसरी खेर गयो र के–के हानि–नोक्सानी भयो भन्ने कुरा त जगजाहेरै छ । पार्टी विभाजनपछि माले र एमालेले एकअर्काको लुँगी खुस्काउन प्रयोग गरेका त्यतिबेलाका शब्दास्त्र सुन्ने हो भने अहिले पनि तिनीहरू नांगै छन् कि क्याहो भन्ने भान हुन्छ । अहिले जे–जतिले ज–जसको कुर्कुच्चो अघिल्तिर फर्केको देखेका छन्, त्यो अरूले भने धेरै पछिसम्मै देखिरहनेछन् भन्ने बुझ्नुपर्छ । यो बुझ्दा पनि मानप्रतिष्ठामै वृद्धि हुने हो । दिसा पुछेको काठ पनि जाडोमा आगो बालेर ताप्न काम लाग्छ भन्ने त भनाइ नै छ । यसर्थ सकेसम्म एकताबद्ध रहनु नै बुद्धिमानी हुन्छ, मिल्नु नै राम्रो हुन्छ, एकअर्काको इज्जत राख्दा नै राम्रो हुन्छ । तर, यदि, बुद्धि नपुगेर विभाजित नै हुनुपरे पनि कम्तीमा आफ्नै साथीभाइलाई कुर्कुच्चो अघि फर्केको किचकन्नी बनाएर जनता तर्साउने काम भने नगरेकै राम्रो ।

टिप्पणीहरू