स्वर्गीय दुर्गेलाई बिचल्ली पार्यो सीजीले

स्वर्गीय दुर्गेलाई बिचल्ली पार्यो सीजीले

पाल्पाको रिव्दिकोट गाउँपालिका-१ जोगिथुमका दुर्गे कुमालको नाममा रहेको ३२ रोपनी जग्गा किर्ते कागज बनाएर सिजी सुगर मिल्स प्रालिले कब्जा गरेको खुलासा भएको छ ।

स्वर्गीय कुमालका छोरा धनबहादुर ले षड्यन्त्रपूर्वक आफ्नो बाबुको नामको जग्गा किनबेच भएको थाहा पाएपछि घटना बाहिर आएको हो । उनले सम्बन्धित निकायमा उजुरी गर्दा पनि न्याय नपाएको गुनासो गरेका छन् ।

मृतक दुर्गे कुमालको नाममा रहेको कित्ता नं २४८, ३०२ र ४१३ कित्ता नम्बरको जग्गा उस्तै नामका अर्का जीवित दुर्गे कुमालको नाममा किर्ते कागज बनाई सिजी सुगर मिल्स ललितपुरको नाममा पास गरेको भन्दै विप्लव नेतृत्वको नेकपा पाल्पाले चासो देखाएको छ ।

विप्लव समूहको पाल्पा जिल्ला कमिटीले आइतबार विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो । सिजी प्रालि, राजनीतिक दलका स्थानीय व्यक्तिहरु, जनप्रतिनिधि, मालपोत कार्यालय पाल्पा, दुर्गे कुमाल र उनका चार छोराहरुले मिलेमतो र आर्थिक चलखेल गरी किर्ते गरेको बताइएको छ ।

स्थानीय सर्जिमिनले समेत उक्त जग्गा स्व. कुमालकै भएको स्पष्ट पार्दा पनि अदालतले समेत प्रभावमा परेर गलत फैसला गरेको दाबी गरिएको छ । अहिले मुद्धा पुनरावेदन अदालतमा विचाराधीन छ ।

विप्लव समूहले किर्तेमा संलग्नलाई जनकारवाहीको चेतावनी पनि दिएको छ। ‘जग्गा सम्बन्धित व्यक्तिको नाममा तत्काल फिर्ता नगरे किर्तेमा संग्लग्न सबैलाई जनकारवाहीका निम्ति बाध्य हुनेछौँ’, विप्लवका पाल्पा जनपरिषद प्रमुख मिनबहादुर आलेले चेतावनी दिएका छन् ।

टिप्पणीहरू