हुण्डाइले कसरी मुर्गा बनाउँदै छ ?

हुण्डाइले कसरी मुर्गा बनाउँदै छ ?

नेपालमा ह्युण्डाई कम्पनीको आधिकारिक गाडी बिक्रेता लक्ष्मी इन्टरकन्टिनेण्टलले केही वर्षदेखि नयाँ ह्युण्डाई गाडी खरिदमा घोषणा गरेको १२ पटकको ‘फ्रि सर्भिस’ ग्राहकलाई मुर्गा बनाउने चाल मात्रै रहेको प्रमाणित भएको छ । खरिद गरेको मितिदेखि तीन वर्षसम्म हरेक चार महिनाको अन्तरालमा सित्तै गरिने भनिएको ह्युण्डाई आफ्टर सेल सर्भिसकोे प्रलोभनमा धेरैजना ग्राहक परेको बताइन्छ । कोरियाको विश्वविख्यात ह्युण्डाई ब्राण्डको गाडी निर्माता कम्पनीको स्थानीय एजेण्ट लक्ष्मी इन्टरकन्टिनेण्टलले सवारी साधन बिक्री गरेपछि दिने सर्भिस झारा टार्ने खालको भएपछि ग्राहकहरू असन्तुुष्ट बनेका हुन् ।

लक्ष्मीले आफ्नो आधिकारिक वेभसाइटमा राखेको विवरणमासमेत ह्युण्डाईका ग्राहकहरूलाई बहुमूल्य सवारी साधनको बिक्री मात्रै नभई बिक्रीपछिको गुणस्तरीय सेवा दिन आफू प्रतिबद्ध रहेको भनिएको छ । उसले ‘हामी ग्राहकको सन्तुष्टिलाई शीर्ष प्राथमिकताका रूपमा लिन्छौं’ समेत उल्लेख गरेको छ । राजधानी काठमाडौंलगायत प्रमुख शहरमा रहेका बिक्री केन्द्र र सेवा केन्द्र (सर्भिस सेण्टर) अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको भएको सगौरव लेखिएको छ । सवारी साधन बिक्रीको क्रममासमेत ती विषयलाई गुलियो भाषामा लटपटाएर मौखिक र लिखित दुवै आश्वासन दिने गरिएको ह्युुण्डाइका ग्राहकहरूले बताएका छन् ।

सामान्यतयाः कुनैपनि साना तथा मझौला नयाँ सवारी साधन चारदेखि पाँच वर्षसम्म प्राविधिकरूपमा कण्डिसनमै रहन्छ । त्यसैले उक्त अवधिमा कम्पनीले गर्ने फ्रि सर्भिस भनेकै गाडीको भित्री र बाहिरी भागलाई धोई पखाली (वास) गर्नु मात्र हो । इन्जिन आयल,फिल्टर र कुनैपनि पार्टस् फेर्न वा मर्मत गर्नुपरेको अवस्थामा सवारी साधनधनीले तोकिएको मूल्य तिर्नैपर्छ । त्यो व्यहोरा सवारी साधन खरिद गर्दाको बखत दिइएको कागजातमा समेत लेखिएको पाइन्छ । तर, ह्युण्डाईका अधिकांश सवारी साधन खरिदकर्ताले सर्भिस सेन्टरबाट रकम तिर्नुपर्ने गरी दिइएका सेवाबाहेक अन्य फ्रि सर्भिसमा खासै चित्त बुझाएको देखिँदैन ।

पाँच वर्षदेखि ह्युण्डाइको ग्राण्ड आईटेन प्रयोग गर्दै आएका कलंकी निवासी एकजना ग्राहकले भनेका छन् ‘शुरुमा गाडी किन्दा तीन वर्षसम्म फ्रि सर्भिस भनेर फुरुङ्ग परियो, आखिर पैसा पर्नेबाहेक पैसा नपर्ने काम केही पनि गरेनन् । गाडी धुँदासमेत झारा टार्न थालेपछि डेढ वर्षदेखि नै मैले घर नजिकैको वास सेन्टरमा लान थालेको हुँ । मर्मत पनि काठमाडौंकै अन्यत्र जाँदा ह्युुण्डाई सर्भिस सेन्टरमाभन्दा सस्तो पर्न थाल्यो ।’

काठमाडौंमा खुलेका अन्य नयाँ र आधुनिक अटो मर्मत केन्द्रहरूमा समेत सक्कली पार्टस् पाइन थालेपछि ह्युण्डाइ सर्भिस सेन्टरको वास्तविकता खुल्न थालेको हो । ती निजी क्षेत्रका मर्मत तथा सर्भिस सेन्टरमा लाग्ने खर्च निकै कम र प्राप्त सेवा ह्युण्डाइको फ्रि सर्भिस नामको प्रस्तावभन्दा निकै राम्रो रहेको महाराजगञ्जका हरिकृष्ण अधिकारीले बताएका छन् । पछिल्लो डेढ दशकदेखि ह्युण्डाइको सवारी साधन प्रयोग गर्दै आएका उनले हालै मात्र अर्को कम्पनीको गाडी चढ्न थालेका हुन् ।

गतसाता बा२१च ६३५७ नं.को ह्युण्डाइ गाडीको हालत पनि त्यहि भयो । तीन दिनअघि टाइम लिएर सर्भिस सेन्टर पुर्याइएको गाडी लिन जाँदा सवारी साधनधनी खिस्रिक्क परेका थिए । मेकानिक्सले शुरुमा गाडी वास मात्र गर्नुपर्ने अवस्थामा रहेको विवरण टिपाएर गाडीधनीलाई सर्भिसको काम सकिएको भन्दै दिउँसै बोलाए ।

गाडीधनी कोपुुण्डोलस्थित सर्भिस सेण्टर पुग्दा गाडीको हालत ‘ब्राम्हण स्नान’ गराएर राखिएको अवस्थामा भएको बताइन्छ । उनी भन्छन् ‘न धुलो पखालिएको थियो न सीसामा लागेको कुनै दाग नै । सीसाको अन्तरकुन्तरमा जमेको मैलो जस्ताको तस्तै देखिन्थ्यो । वाइपर बक्समा धाराको पानीसमेत भरिएको थिएन । आफूले कम्प्लेन गर्दा सर्भिस सेण्टरका इञ्चार्ज गल्ती महशुस गर्नुको सट्टा उल्टै जे गरियो ठीक छ भन्ने शैलीमा उत्रेका थिए ।’

सर्भिस सेण्टरबाट फर्केपछि उक्त गाडीको अवस्था देखाउँदै खिचिएको तस्बिर जनआस्था डट कमसँग सुरक्षित छ ।

टिप्पणीहरू