राजधानीमा ओर्लियो मानवसागर (फाेटाे फिचर)

राजधानीमा ओर्लियो मानवसागर (फाेटाे फिचर)

प्रतिनिधिसभा विघटनका बिरुद्ध देशव्यापी आन्दोलन गरिरहेको नेकपा (बहुमत) ले आज काठमाडौँमा विशाल विरोध प्रदर्शन गरेको छ । नेकपाले काठमाडौँ,मधेस र आसपासका जिल्लाबाट ठूलो संख्यामा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा डेढ लाख बढी कार्यकर्ता काठमाडौँ उतारेको सो पार्टीको दावी छ । विरोधसभा हुनुपूर्व उपत्यकाका विभिन्न ठाउँबाट ठुल्ठूला जुलुस निकालिएको थियो । माइतिघर, डिल्लीबजार,लैनचौर,त्रिपुरेश्वर, कुपन्डोल,प्रदर्शनीमार्ग, शान्तिवाटिका,त्रिचन्द्र कलेज, वाल्मिकी कलेजलगायतका स्थानबाट जुलुस ओइरिएको हो । जुलुस रत्नपार्क,बागबजार, पुतलिसडक,प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, एनएसी, भोटाहिटी, रत्नपार्क,विद्युत प्राधिकरण हुँदै विरोध सभामा परिणत भएको थियो ।

जुलुसमा सहभागीहरुले सूर्य र हँसिया हथौडा अंकित झण्डा र प्रतिनिधिसभा विघटन विरुद्ध लेखिएका ब्यानरहरु बोकेका थिए । ’प्रतिगमन मूर्दावाद’, ’असंवैधानिक कदम खारेज गर!’ लेखिएको मास्क लगाएका प्रदर्शनकारीले प्रधानमन्त्री ओली र सरकारविरुद्ध चर्को नारावाजी गरेका थिए ।

नेकपाले निकालेको जनप्रदर्शनका कारण उपत्यकाका सडक रातो झण्डाले छपक्कै ढाकिएको देखियो । भृकुटीमण्डप अगाडि सडकमै ठूलो मंच बनाइएको र मंचलाई गोलो घेरा बनाएर प्रदर्शकारीहरु सडकमा बसेका थिए । माइतीघर,भद्रकाली पद्द्मोदय मोड,पुतलीसडक, रत्नपार्क, भोटाहिटी, सुन्धारा, त्रिपुरेश्वरको घेराभित्र प्रदर्शनकारी सडकमा छपक्कै भरिएका थिए ।

विरोध सभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल,बरिष्ठ नेता झलनाथ खनाल,स्थायी कमिटी सदस्य घनश्याम भुसाल लगायतका नेताहरुले सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेर प्रतिगमन निम्त्याएको भन्दै उनीहरुले असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

 

 

टिप्पणीहरू