केपी ओलीलाई दिएको म्याद सकियो : अध्यक्ष नेपाल

केपी ओलीलाई दिएको म्याद सकियो : अध्यक्ष नेपाल

नेकपा (बहुमत) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पार्टी र कम्युनिष्ट आन्दोलनका लागि सधैं घाँडो भएको बताउनुभएको छ ।

आज कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै नेपालले भन्नुभयो, ‘केपी ओली २०७१ देखि पूर्वएमालेमा घाँडै थिए,पार्टी एकिकरणपछि पनि घाँडै भए ।’

अध्यक्ष नेपालले ओलीलाई पार्टीको साधारण सदस्य नै नरहनेगरी निष्कासन गर्ने पनि घोषणा गर्नुभएको छ। ‘केपी ओलीका कारण आज गणतन्त्र धरापमा पर्यो । कम्युनिस्ट पार्टी ध्वस्त भयो’, उहाँले भन्नुभयो, ‘म यहाँबाटै घोषणा गर्छु आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिन्छ ।’

ओलीमा कम्युनिस्ट आचरण र कार्यशैलि अलिकति पनि नभएको उहाँको भनाइ छ। तीन दिनको समयसीमा राखेर स्पस्टिकरण सोधिए पनि ओलीले चार दिनसम्म समेत जवाफ नदिएको भन्दै अध्यक्ष नेपालले पार्टीबाट निष्काशन गर्नुको विकल्प नभएको बताउनुभएको हो ।

‘तीनदिन अगाडि बालुवाटारमा चिठी पठाएर स्पष्टिकरण मागेका थियौं, ओलीले जवाफ दिने आँट गरेनन्, आजै चिठी लेखेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साधारण सदस्य समेत नरहने गरी केपी ओलीलाई निस्कासन गर्दैछौं’, उहाँले भन्नुभयो । ओलीले गणतन्त्र, संघीयतालगायतका पछिल्लो परिवर्तन मास्न खोजेकाले पार्टीमा राख्न नसकिने अध्यक्ष नेपालको भनाइ छ।

टिप्पणीहरू