बालुवाटारमा जसको बिक्छ बात

बालुवाटारमा जसको बिक्छ बात

पत्याए पनि, नपत्याए पनि बालुवाटारका प्यारा मान्छे छन्, कसैले नचिताएका एकजना स्याङ्जाली । अनुमान थियो, ‘घाँडो पन्छाउन’ राजदूत बनाएर पठाइयो, वास्तविकताचाहिँ के रहेछ भने, ती मान्छे ‘घाँडो’ नभएर अति प्यारा रहेछन् ।

यसरी अहिले बालुवाटारमा कसैका कुराको सुनुवाइ हुन्छ भने उनी हुन्, लोकदर्शन रेग्मी । मुख्यसचिवबाट राजीनामा गराएर बेलायतका लागि राजदूत नियुक्त भएका रेग्मी अहिले बालुवाटार नपुगेको दिन हुँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुवास नेम्वाङ, अग्नी खरेल, बाबुराम दाहालजस्ता कानुनका दिग्गज मान्छे छन् । तर, उहाँ आजकल यी तीन पात्रको त्यति भर पर्नुभएको छैन, जति पत्याउनुहुन्छ, लोकदर्शनलाई । सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउने क्रममा मुख्यसचिव शंकरदास वैरागी बिहान ९ बजेदेखि ४ बजेसम्म बालुवाटारमै थिए । तर, काम जति सबै निवर्तमान मुख्यसचिव लोकदर्शनले गर्न भ्याए ।

हो, संसद विघटनदेखि अदालतमा लिखित जवाफ लेख्नेसम्ममा अधिकांश भाषा लोकदर्शन रेग्मीका छन् । लिखित जवाफमा काम गर्ने अर्का व्यक्ति हुन्, बाबुराम दाहाल । तर, उनी लोकदर्शनका ‘असिस्टेन्ट’ मात्र ! यसरी हरेक दिन प्रधानमन्त्रीसँग लोकदर्शनको भेट् हुन्छ । उनी प्रधानमन्त्रीको सचिवालयका एकजना थप सदस्य नै हुन् । सुवास नेम्वाङले लेखेको कुराको पनि लोकदर्शनले ‘करेक्सन’ हेर्ने गर्छन् । नेपाल ल क्याम्पसका विद्यार्थी हुन् । ०४३–०४४ सालमा एलएलबी उत्तीर्ण गरेका र ०५२ सालका शाखा अधिकृत । जागिरको दौरान सर्टिफिकेटमा विशेष प्रहरी लागेपछि केही समय निलम्बनमा परे । पछि मुख्यसचिव श्रीकान्त रेग्मीहरुले स्याङ्जालीका नाताले बचाए । त्यही बेला पढ्ने मौका पाएर छिटो छिटो बढुवा हुँदै मुख्यसचिवसम्म भए ।

टिप्पणीहरू