हो कमरेड, हामी त्यही केटा हौं !

हो कमरेड, हामी त्यही केटा हौं  !

प्रेस काउन्सिलका निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले लामो योजना र तयारी गरेर प्रतिनिधिसभा विघटन गरिएको बताउनु भएको छ। राजा महेन्द्रले १७ सालमा कू गर्दा कमान्डरी किताबखाना, भ्रष्टाचार सम्बन्धी शाही कमिशन लगायत राज्यका अंगहरु आफ्नो नियन्त्रणमा लिएको प्रसङ्ग स्मरण गराउँदै उहाँले वर्तमान सरकारले पनि त्यस्तै योजनाका साथ राज्यका अंगहरु आफूमा केन्द्रित गरेको बताउनुभयो।

हिजो काठमाडौँमा आयोजित प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार, राजस्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण, राष्ट्रिय अनुसन्धान विभाग जस्ता राज्यका संवेदनशील निकायहरु प्रधानमन्त्री ओलीले आफूमा केन्द्रित गर्नुको उद्धेश्य केका लागि थियो ? भन्दै प्रश्नसमेत गर्नुभयो।

सबैतिरको शक्ति आफूमा केन्द्रित गरिसकेपछि प्रधानमन्त्रीले मिडिया नियन्त्रणको प्रत्यास गरेको उहाँको भनाइ छ। ‘मिडियाले आफूलाई सबैभन्दा बढी अप्ठेरो पार्नसक्ने  बुझेर उहाँले मिडिया काउन्सिल,सूचना प्रविधि र आम सञ्चारजस्ता प्रतिगमनकारी  विधयेक ल्याउनुभयो । हाम्रै बीचबाट हुर्केको एकजना पत्रकार साथीलाई प्रयोग गरेर ०७६ बैशाख २६ गते विधेयक दर्ता गरियो । मिडियाको च्याप्पै घाँटी निमोठ्ने,सञ्चार उपकरण जफत हुने,पाँच लाखदेखि करोडसम्म आर्थिक जरिवाना तिराउने गरी अभियान थालियो । हामीले प्रचण्ड विरोध गरेकाले त्यो पास हुन सकेन’,उहाँले भन्नुभयो।

तत्कालीन अवस्थामा ती विधेयक रोक्न नसकेको भए संसद विघटनपछि मुलुक ०६१ साल माघ १९ को अवस्थामा पुग्ने श्रेष्ठले दाबी गर्नुभयो । ‘०६१ सालको माघ १९ गते बिहान सारा सञ्चार अवरुद्ध गरिएको थियो । नेट, टेलिफोन, पत्रपत्रिका सबै सेनाको नियन्त्रणमा थियो । नागरिकको आवाज बन्द गरिएको थियो’,उहाँले भन्नुभयो, ‘त्यस्तै रुपको या त्योभन्दा अझ कडा खालको बिधेयक उहाँहरुले ड्राफ्ट गर्नुभयो । यो सबै किनभने सत्तालाई सुझाव या आलोचना मन पर्दैन ।  हामी त्यतिबेला जागरुक नभएको भए आज प्रतिनिधिसभा विघटनको चरणमा बोल्न पनि पाइँदैन थियो । यसरी बोल्न, लेख्न र अभिव्यक्ति दिन बन्देज लगाइएको हुन्थ्यो। ‘

डेढ वर्षअघिको एउटा प्रसंग उल्लेख गर्दै श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले गत वर्षको असारमै संसद विघटन गर्ने चेतावनी दिएको सम्झना गर्नुभयो । संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णलाई मध्यराति बालुवाटारमा धम्क्याएको खुलासा गर्दै उहाँले भन्नुभयो, ‘०७६ सालको जेठ १५ गते सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भनेर सम्माननीय राष्ट्रपतिले प्रयोग गरेको भाषामा केही सांसदले कुरा उठाउनु भयो । संसदीय समितिको सभापति लक्ष्मणलाल कर्णले त्यसको १५ दिनपछि छुट्टै प्रसंगमा बालुवाटारमा प्रधानमन्त्रीसंग भेट हुँदा ओलीले भन्नुभएको थियो- महारानी भनेर हेप्ने राष्ट्रपतिलाई ? उहाँले चाहनुभयो भने संकटकाल पनि लगाउनु सक्नुहुन्छ, संसद विघटन पनि गर्न सक्नुहुन्छ।  राष्ट्रपतिको पावर थाहा छैन यिनीहरुलाई ?’

आफूमाथि प्रश्न उठाउन सक्ने सबै अंगहरुलाई निस्तेज पार्ने षड्यन्त्रको तानाबाना उहिल्यै बुनिसकिएको भन्दै श्रेष्ठले ओलीलाई निर्वाचित तानाशाहको संज्ञा दिनुभयो। ओलीमा फरक बिचार राख्नेलाई सिध्याउने प्रवृति रहेको पनि उहाँले बताउनुभयो ।

आफू इतरकालाई हेप्ने र हियाउने ओली पक्षको संस्कार बनिसकेको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले पूर्वमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई बैगुनी केटो भनेर हेपेको सन्दर्भ उल्लेख गर्दै उहाँले इश्वर पोखरेलले कुनैबेला आफूलाई पनि ‘त्यो केटो’ भनेर हेपेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘ईश्वर पोखरेलले प्रतिपक्ष साप्ताहिकमा मलाई त्यो केटो खुब हियाएर लेख्नु भएको थियो । पछि मैले जनआस्थामा लेखेँ -“हो कमरेड ! त्यो केटो किशोर श्रेष्ठ म नै हो, जसले तपाइँकी श्रीमतीले तपाइँलाई रक्सी नखुवाउनु भन्दा पनि पत्रिकाको कार्यालयमा सारा समाचार लेखिसकेर हामी सबै मिली मङ्गलबार राती  १-१ पेग कोरियन जिन्सेङ्ग जडिबुटीको रक्सी चखाउँथ्यौँ  ।  त्यो केटो यहि किशोर हो । तपाईंहरुमा फरक बिचार राख्ने आफ्नै साथी र सहकर्मीलाई पनि त्यो केटो भनेर हियाउने सँस्कारै छ ।’

टिप्पणीहरू