फौजमा चिची पनि, पापा पनि

फौजमा चिची पनि, पापा पनि

सशस्त्र प्रहरी बल, नेपाल कसै कसैका लागि ससुराली र मावलीभन्दा कम देखिएको छैन । जागिर खाएदेखि वर्षौंसम्म विदेशमै बसेर एकाध वर्षमा फुत्त फुत्त बढुवा पनि त्यस्तैले पाएका छन् । त्यतिले नपुगेर बलका महानिरीक्षक शैलेन्द्र खनालले नै विदेश पुगेर बढुवाको फुली लगाइदिएपछि सशस्त्रको असली रूप बाहिरिएको हो ।

हालै एसएसपीमा कायममुकायम दिइएका अञ्जनीकुमार पोखरेल संयुक्त राष्ट्रसंघको मिसनअन्तर्गत वर्षौंदेखि न्यूयोर्कमा छन् । डिएसपीबाट एसपीमा बढुवा हुँदा पनि उतै थिए । त्यसपछि उनको बढुवाको दर्ज्यानी चिन्ह बोकेर प्रमुख खनाल आफैँ उनी भएको ठाउँमा पुगी लगाइदिए । यस्तो काम सामान्यतयाः हिन्दू धर्ममा आफ्ना बा, आमा र सासू, ससुराले छोराबुहारी वा छोरीज्वाईं भएको ठाउँमै गएर दशैंको टिका लगाइदिने चलनजस्तै हो । तर, हाकिमले बढुवाको फुली लगाइदिन विदेश धाएको अहिलेसम्म कहिँ कतै देखिएको छैन ।

सेवाकालमा पोखरेलले झण्डै एक दर्जन मिसन हात पारिसकेको बताइन्छ । स्रोतका अनुसार उनी नेपालभन्दा बढी विदेशमा बसेका छन् । पहिले नर्मल मिशनअन्तर्गत विदेश गएका थिए भने त्यसपछि झण्डै डेढ सय जनाको हुलमा एफपीओ कोर्समा गए । एफपीओमा गएर आउन नपाउँदै दुई वटा र त्यसपछि न्यूयोर्क गएका उनी वर्षौंदेखि उतै डेरा जमाएर बसेका हुन् ।

सशस्त्रले हालै प्रकाशित गरेको कायममुकायम एसएसपीको सूचीमा पोखरेल परेका छन् । अब फेरि कन्फर्म भएपछि महानिरीक्षकले न्यूयोर्कमा पुगेर अर्को दर्ज्यानी चिन्ह लगाइदिएमा समेत कुनै आश्चर्य नहुने बताइन्छ ।

‘परिवारसहित न्यूयोर्कमा रहेका पोखरेलको यताको लाखौं तलब ड्याङ्ड्याङ्ती खातामा जम्मा भएको छ भने उता युएनले दिने लाखौं डलर छुट्टै, अनि एकाध वर्षमा हुने गरेको बढुवाले पोखरेललाई चिची पनि पापा पनिको अवस्थामा पु¥याइदिएको छ’ सशस्त्रका एकजना एसपीको दुःखेसो हो यो । पाँच वर्ष नपुगी एसएसपीको चिठ्ठा पाउनेमा पोखरेल पनि एक हुन् । पहिले इन्सपेक्टरबाट डिएसपीमा समेत एक वर्षमै कायममुकायम पाएका थिए । तर उनकै ब्याचका अरुले १० वर्ष कुर्नुपरेको बताइन्छ । त्यसैगरी अरुलाई डिएसपीबाट एसपी हुन अर्को दश वर्ष लागेकोमा पोखरेल भने फुत्तै भएका थिए । सँगै इन्स्पेक्टरमा प्रवेश गरेकाहरूमध्ये कतिपय अहिले पनि डीएसपीकै सेट हातमा लिएर ड्युटीमा खटिएका देखिन्छन् । उनी भने एसएसपीमा उक्लेका छन् । पोखरेल सिसं १ को इन्स्पेक्टर हुन् ।

सबैभन्दा रमाइलो पक्षचाँहि उनी अहिलेसम्म लडाईंमा कहिँकतै नगएको समकालीनहरू बताउँछन् । नेपालमा छँदा हेडक्वार्टर वरिपरि मात्रै बसेका थिए । सँधै मिसनमा भएपछि यताको र राष्ट्र संघको गरेर दोहोरो तलब, भटाभट प्रमोशन अनि उल्टै संगठन प्रमुखले फुली बोकेर ठाउँको ठाउँ लगाइदिएपछि पोखरेलको लागि सशस्त्र प्रहरी बल दोस्रो ससुराली र मामाघर जस्तै बनेको गाईंगुईं हल्चोकतिर सुनिन थालेको छ ।

– उत्तमबाबु गोदार

टिप्पणीहरू