कुन हदसम्म जान सक्छौ कवि !

कुन हदसम्म जान सक्छौ कवि !

दिल ए नादाँ तुझे हुआ क्या है
आखिर इस दर्दकी दवा क्या है !
हम है मुस्ताक और वो बे–जार
या इलाही ये माजरा क्या है !
में भी मुंहमें, जबान रखता हुँ
काश पूछो कि मुद्दा क्या है !
जब कि तुझ बिन नहीं कोइ मौजूद
फिर ये हंगामा ऐ खुदा क्या है !
ये परी–चेहरा लोग कैसे है
गम्जा ओ इश्वा ओ अदा क्या है !
सब्जा ओ गुल कहाँ से आए है
अब्र क्या चिज है हवा क्या है !
हमको उनसे वफा कि है उम्मिद
जो नहीं जानते वफा क्या है !
जान तुमपर निसार करता हुँ
मैं नहीं जानता दुआ क्या है !
मैंने माना कि कुछ नहीं ‘गालिब’
मुफ्त हाथ आए तो बुरा क्या है !

(अर्थ ः मुस्ताक – इच्छुक, बे–जार – खिन्न, गम्जा – मायालु हेराइ, इश्वा – मस्किने भाव, सब्जा – तुलसी जातको एउटा बिरुवा, गुल – फूल, अब्र – बादल (मेघ), बफा – निष्ठा ।)

यो रचना उर्दू र फारसी भाषाका महान् कवि र शायर मिर्जा गालिबको हो । यो रचना सन् १९५४ मा प्रदर्शित हिन्दी चलचित्र ‘मिर्जा गालिब’ मा गायक तलत मोहमुद र गायिका सुरैयाले गाएका थिए । नायक भारत भूषण र नायिका सुरैयामाथि गीत फिल्मांकन गरिएको थियो । चलचित्रमा भारत भूषण मिर्जा गालिब बनेका थिए भने सुरैया नवाब जान, मोती बेगम उर्फ चौदवीं थिइन् । वास्तवमा चौदवीं नाचगान गर्ने हिन्दु युवती डोमनी थिइ । मिर्जा गालिब विवाहित थिए तर गजलका कारण सयौं युवतीले उनलाई मन पराउँथे । मिर्जा आफैं पनि कसैको प्रेममा लठ्ठ हुन चाहन्थे तर आफूलाई सम्हालेर बसे । यसका बाबजुद डोमनीको प्रेममा फस्न पुगे । उनी डोमनीलाई अत्यधिक माया गर्थे । डोमनी राम्रो कुलघरानाकी थिइन् । जब मिर्जासितको प्रेम उत्कर्षमा पुग्यो, बदनाम हुने डरले सताउन थाल्यो र अन्त्यमा उनले आत्महत्या गरिन् । उनको शोकमा मिर्जाले गजल लेखे–

दर्दसे मेरे है तुझको बेकरारी हाय हाय
क्या हुइ जालिम तिरी गफलत शिआरी हाय हाय
तेरे दिलमें गर न था, आशाबे–गमका हौसला
तुने फिर क्यों कि थी मेरी गमगुसारी हाय हाय
शर्मे रुसवाइ से जा छुपना नकाब–रवाफ में
खत्म है उल्फत कि तुझ पर परदादारी हाय हाय
इश्क ने पकडा न था, ‘गालिब’ अभी बहसनका रंग
रहगया था दिन में जो कुछ जौके – ख्वारी हाय हाय !

चलचित्रमा भने सुरैयालाई एक नगरबधूकी पुत्रीको रुपमा देखाइएको छ, त्यो पनि मुसलमान । गालिबको गजलको ठूलो प्रशंसक मोती बेगम पछि उनको प्रेमिका बन्छिन् । मुगल बादशाह बहादुर शाह ‘जफर’ को दरबारमा शाही कविको रुपमा काम गर्दै गरेका गालिबको दरबारबाट घर फर्कने क्रममा आफ्नो गजललाई गीत बनाएर गाइरहेकी मोती बेगमसँग पहिलो भेट भएको देखाइएको छ । गालिबको वास्तविक नाउँ मिर्जा असदुल्लाह बेग खाँ हो । उनले गालिब (श्रेष्ठ) र असद (सिंह) को नाउँबाट साहित्य सिर्जना गरेका छन् । जन्म आगरामा भएको हो तर तुर्क हुन् । बाजे मिर्जा कोकान बेग उज्बेकिस्तानबाट भारत प्रवेश गरेका थिए । गालिबका बुबा लखनउका नवाबकोमा काम गर्थे । गालिब पाँच वर्षका हुँदा बुबाको मृत्यु भयो र उनलाई काकाले पाले ।

गालिब १३ वर्षका थिए । नवाब इलाही बख्सकी ११ वर्षीया छोरी उमराव बेगमसित बिहे भयो । उमराव कट्टर मुसलमान थिइन्, गालिब उदारवादी । सन् १८५७ को अंग्रेज शासनविरोधी भारतीय जनताको पहिलो विद्रोह असफलतामा टुंगिएपछि एकदिन गालिब पक्राउ परे । अंग्रेजले उनीसित ‘तिमी मुसलमान हौं ?’ भनेर सोध्दा उनले जवाफ दिए– ‘आधा’ । त्यसबखत उनले मदिरा पिएका थिए । त्यसैले अंग्रेज अधिकृतले उनलाई मदिरा पिउने, सुँगुरको मासु नखाने मुसलमान हुनै सक्दैनन् भन्ठानेर रिहा गरिदिए । उमराव अत्यन्त रुपवती थिइन् । गालिबलाई औधी माया गर्थिन् तर जुन दिन गालिबसँग बिहे भयो, गालिबले त्यसै दिन भनिदिए, ‘मेरो जेल जीवन शुरु भयो ।’

गालिब रक्सी पिउँथे, जुवा खेल्थे, टोल–छिमेकका युवतीहरुसित रम्थे । उमरावले सही मार्गमा हिँडाउन निकै कोशिश गरिन् तर गालिब सच्चिन तयार भएनन् । गालिबको जीवन सधैं अभावबीच गुज्रियो । ऋणले कहिल्यै छोडेन । ऋण तिर्न नसकेर महिनौं दिनसम्म घरमै लुकी बस्थे । यस्तै बेला र साहित्य सिर्जनाको समयबाहेक पत्नी र घरलाई कहिल्यै समय दिएनन् । त्यसो त पछिल्लो समय मासिक भारु ४ सयसम्म कमाउन थालेका थिए । त्यो बेला यो ठूलो रकम थियो तर रक्सी खाएर, जुवा खेलेर सकाउँथे । घरमा पत्नी र छोराछोरी अभावको जिन्दगी जिइरहेका हुन्थे । उनी भने बाहिर रवाफ देखाएर र खर्चालु भएर हिँड्थे । गालिबसितको ५७ वर्षको दाम्पत्य जीवनमा उमराव चार छोरा र तीन छोरीको आमा बनिन् तर सबैको मृत्यु सानैमा भयो । उमराव लोग्नेले बाहिर अन्य महिलासित सम्बन्ध राख्दै हिँडेको सुनेर पीडा महसुस गर्थिन् । गालिबलाई उनले अर्को बिहे गरेर ल्याउन स्वीकृति पनि दिइन् तर गालिबले न अर्कोसँग बिहे गरे न विवाहेत्तर सम्बन्ध राख्न छाडे ।
गालिब भन्थे– प्रेम एउटा अनौठो पागलपन हो, यसले हृदय र दिमागमा कब्जा जमाएपछि मानिस विवश बन्न पुग्छ । उनी लेख्छन्, ‘इश्क पर जोर नहीं है, यह वह आतश, गालिब, कि लगाये न लगे और बुझाए न बुझे ।’

सत्रौं शताब्दीमा गालिबको गजल र सायरीले विश्वमै धूम मच्चायो तर मदिरा उनको जीवन थियो । उनी दिनहुँ सडकमा लड्ने गरी रक्सी पिउँथे । गोजीमा पैसा थिएन भने सापट लिएर भए पनि पिउँथे । उनको यो बानीलाई लिएर कसैले नराम्रो बोल्दा गाली गर्थे । पटक–पटक कुटाइ खाएर घर फर्कन्थे । उनको शायरीका भाव नबुझेका स्त्रीहरुले लखेट्थे । एकपटक शायर शेख साहबाइको बारेमा टिप्पणी गरे, ‘उनी पनि कवि ? के उनलाई रक्सीको स्वाद थाहा छ ? कहिल्यै जुवा खेलेका छन् ? कहिल्यै प्रेमिकाहरुले जुत्ताले हानेका छन्, कुटेका छन् ? कहिल्यै जेल गएका छन् ?’ स्मरणीय छ, गालिब मदिरा सेवन गर्दा र जुवा खेल्दा पटक–पटक जेल परेका थिए ।

एक दिन तलब हात परेको दिन थियो । झोलाभरि रक्सीको बोतल बोकेर घर पसे । उमरावले भएभरको पैसा किन यसरी मदिरामा खर्च गर्छौ ? भनेर सोधिन् । उनले जवाफ फर्काए, ‘इश्वरले सबैको खाना ख्वाउने जिम्मा लिएका छन् तर रक्सीको जिम्मा लिएनन्, त्यसैले यसको व्यवस्थापन आफैंले गर्नुपरेको छ ।’ अर्कोपटक जुत्ता फुकालेर टाउकोमाथि राखी घरको आँगनमा प्रवेश गरे । यसो किन गरेको ? भनी उमरावले सोध्दा उनको जवाफ थियो, ‘तिमीले भक्तिभावनाले यो घरलाई मस्जिद बनाइसकेकी छौ, मेरो सामु यसो गर्नुको अलावा अर्को विकल्प नै रहेन ।’ उमराव धर्मभिरु थिइन् । सधैं भगवानको भक्तिमा लीन भइरहने भएकाले गालिबले व्यंग्य गरेका थिए ।

गालिबले गजल र शायरी ११ वर्षकै उमेरदेखि लेख्न थालेका हुन् । त्यसबेला आगरा घुम्न भारत पसेका इरानी होमुज्डबाट उनले फारसी भाषा, अरेबिक दर्शन र तर्कशास्त्र सिके । फारसी र उर्दू भाषामा भक्ति र सौन्दर्य रसले भरपुर गजल लेख्न थाले । पारम्परिक गीत–काव्य रोमान्टिक शैलीमा लेखे । २५ वर्षको उमेर पुग्दानपुग्दै दुई हजारवटा शायरी लेखी भ्याए । त्यसबखत भारतमा अन्तिम मुगल सम्राट बहादुर साह ‘जफर’ को शासन थियो । उनी आफैं कवि थिए । गालिब भने गल्ली–गल्लीमा शायरी सुनाएर हिँड्थे । एकदिन गल्लीमा शायरी सुनाइरहेकै बेला दरबारिया कवि जौकले देखे र उनको लेखनबाट प्रभावित भएर दरबार लगे । गालिबको शायरी सुनेर बादशाह पनि अचम्ममा परे । उनले दरबारमै जागिर दिलाए । पद्यगुरुको रुपमा । पछि आफ्नो छोरा युवराजको शिक्षक बनाइदिए । इतिहासकारको दर्जा दिलाए । ‘दबीर उल मुल्क’, ‘नज्म उद दौला’ र ‘मिर्जा नौशा’ को उपाधिद्वारा सम्मानसमेत गरे । उनको निधन सन् १८६९ मा र उमरावको निधन १८७० मा दिल्लीमा भयो ।

टिप्पणीहरू