न्यायाधीशको के–के सिक्वेन्स हुँदो रहेछ

न्यायाधीशको के–के सिक्वेन्स हुँदो रहेछ

– ऋषिराम कट्टेल, अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी

नेपालका पुराना कम्युनिष्ट नेता हुन् ऋषिराम कट्टेल । पुष्पलाल पन्थी । जनमोर्चा, एमाले, माले हुँदै सीपी मैनालीसँग काम गरे तर विचार नमिल्दा बाटो मोडेर नेपाल कम्युनिष्ट पार्टी दर्ता गरेका छन् ०६९ सालमै निर्वाचन आयोगमा दर्ता भएको तर पूर्वएमाले र पूर्वमाओवादी मिलेर साना माछालाई ठूला माछाले निलेझैं आफ्नो पार्टीको नामलाई निलिदिएपछि ०७५ सालदेखि यो लफडा अदालत प्रवेश गरिसकेको छ तर सर्वाेच्चमा पेसी सरेको स¥यै गरेपछि हत्तु छन् । बुढेसकालमा श्रीमती सरकारी जागिरे बुहारीसँगै नाति स्याहार्न पोखरातिर झर्नुपरेको, छोरा पनि जागिरको सिलसिलामा बाहिरै भएका कारण काठमाडौं खाल्डोमा एक्लै बाँच्न बाध्य छन् । उनको पार्टीको ४१ जिल्लामा संगठनात्मक संरचना छ । सुदूरपश्चिम र कर्णालीबाहेकका प्रदेशमा प्रदेशस्तरीय कमिटी बनेको छ । डेढ वर्षमा आफ्नो पार्टीप्रति आकर्षण बढेको सुनाउँछन् । विप्लवलगायत साना कम्युनिष्टसँग समेत रणनीतिक मोर्चा बनाएर आन्दोलनमा होमिएका छन् । – हरि गजुरेल

० नेकपाको द्वन्द्वले पार्टी फुटेको अवस्था छ । कसरी हेरिरहनुभएको छ ?

– नाम मात्र हो, उसले कम्युनिष्ट चरित्र गुमाइसकेको छ । यसको एकता नै शंकास्पद थियो । मूलतः माओवादीको एमालेमा विलय हो । सत्ता स्वार्थबाट केन्द्रित भएर पार्टी विलय भएको थियो । सत्ता स्वार्थमा झगडा परेको दिन पार्टी फुट्छ भन्ने जानिएकै हो । यी दुईबीच एकता गराउन केही वर्षदेखि पश्चिमा शक्ति लागेका थिए । उनीहरू नेपालमा दुई दलीय संसदीय अधिनायकवाद लागू गर्न चाहन्थे । संविधानसभाको समयमा करोडौं डलर खर्चिए । साना पार्टीलाई निमोठ नामेट पार्ने कानुन बनाउन लगाए । यहाँ नमान्दा विदेश लगेर त्यस्ता मान्छेलाई सहमत गराए ।

० तपाईंलाई पनि त्यस्ता अफर आए ?

– दिलबहादुर घर्ती, कांग्रेस राज्यव्यवस्था समितिको सभापति थिए । शुरुदेखि साना दललाई प्रतिबन्ध लगाउने कानुन लगाउनु हुँदैन भन्नेमा अडिग थिए । जब उनलाई एनजिओले जापान पु¥यायो, फर्किएपछि कसैको कुरा सुन्नै छाडे ।

० नेपालको कम्युनिष्ट आन्दोलनमाथि किन पटक–पटक हमला हुन्छ ?

– ००८ सालदेखि नै कम्युनिष्ट आन्दोलनमाथि देशी÷विदेशीको हमला भइरहेको छ । तत्कालीन महासचिव पुष्पलाललाई बिनाकारण नेतृत्वबाट हटाए ।

० किन ?

– कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी विर्सजनवादी बाटोमा लैजान पुष्पलाललाई नहटाएसम्म नसकिने भएर रायमाझी उत्पादन गरियो । खु्रस्चेभको संशोधनवादलाई बोकाइयो । संसद्वादको नाममा मदन भण्डारीलाई पतन गराउने प्रयास गरियो । प्रचण्डलाई विर्सजनवादी धारामा पु¥याएर एमालेमा लगी जोडियो नेपालको कम्युनिष्ट आन्दोलन । संसारभर कम्युनिष्ट मासिँदा पनि यहाँचाहिँ मासिँदैन । महाभारतमा एउटा कथा छ, जतिपटक रामचन्द्रले रावणको टाउको फुटाउँँछ । त्यतिपटक नयाँ टाउको पलाउँछ । नेपालको कम्युनिष्ट आन्दोलनलाई कम्युनिष्ट नामधारीले मात्र सिध्याउन सक्छन् । अरुले सक्दैनन् । त्यही बुझेर प्रतिक्रियावादीले विभिषण तयार गरेका हुन् । त्यति हुँदा पनि कम्युनिष्टहरू सकिएनन् । अहिले सुरक्षा थ्रेट विप्लवबाट छ भनिँदै छ ।

एक पक्षको राजनीतिक जीवन समाप्त हुन्छ ।

० अहिले नेकपाकै एउटा खेमा प्रचण्ड, माधव र केपी ओलीबीच एकता गराउने प्रयासमा छ । कत्तिको सफल होलान् ?

– वामदेवजीले समिति नै सार्वजनिक गरे क्यारे । प्रचण्डजी दक्षिणतिर गएर फर्किए क्यारे । मोदीसँग भेटेको फोटो देखेको थिएँ । सायद चिया खानका लागि मात्र भेटेको होइन होला । भारतले सहयोग गर्नुपर्छ भनेर वक्तव्य आएकै हो । ओलीजीका मान्छेहरू विदेशीहरूको इशारामा उत्पात नमच्चाओ भन्न थालेका छन् । प्रचण्डजीहरू जुन आवेगमा निर्णयमा पुगे, ओलीले जसरी ठेलेर गए यो ठाउँसम्म पुगौंला भन्ने लागेको थिएन । घटनाक्रम हेर्दा कुनै एक पक्षको राजनीतिक जीवन समाप्त हुन्छ ।

० कसको हालत त्यस्तो होला ओली वा प्रचण्ड पक्षधरको ?

– बढ्ता सम्भावना प्रचण्डकै देखेको छु । ओलीको पक्षमा यथास्थितिवादी सबै शक्ति लागेको देखिन्छ । माधव नेपालको काँधमा बसेर कतिन्जेल होला ?

० कथं सर्वाेच्चले संसद् विघटनलाई उल्टाइदिएको खण्डमा ?

– त्यसै त उल्टिँदैन । विघटनको पछाडि यिनको आन्तरिक द्वन्द्व त छँदै छ । त्यसको जगमा इण्डो अमेरिकी निर्देशन पनि छ । भारतीय मिडिया हेर्नुस्, सबैले ओलीको प्रशंसा गरिरहेका छन् । मैले पढेको त छैन तर एसडी मुनीले भारतकै निर्देशन र सहमतिमा संसद् विघटन भएको बोल्या छन् रे । इण्डो अमेरिकी डिजाइन किन भनिएको हो भने यो संसद्ले दुईवटैलाई काम दिएन । एउटा एमसीसी सजिलै पास भएको थिएन । इण्डियालाई चुच्चे नक्सा संविधानमा ल्याउने, सजिलै पास गर्ने संसद् घाँडो भइरहेको थियो । यिनको झगडाको माझमा दुईवटै पक्षलाई उकासे । आर्मी, प्रहरी, कर्मचारी प्रचण्डलाई घरमुली मान्न तयार छैनन् । त्यसकारण सहजै संसद् पुनःस्थापना हुन्छ भन्ने लाग्दैन । कोही–कोही दिउँसो सुतेर सपना देख्छन् भने त्यो अपवाद हो ।

० ०६९ सालमा तपाईंले नेकपा दर्ता गर्नुभयो तर दलको मान्यता प्रचण्ड–ओलीहरूले पाए…

– निर्वाचन आयोगका प्रमुख अयोधीसँग मुखामुखै पर्‍यो । उहाँ लेफ्ट पृष्ठभूमिका साथी, अपमान गरेर कहिल्यै हेर्नुहुन्नथ्यो । यस्तो काम गर्नुभयो भने इतिहासमा कलंकित हुनुहुन्छ है भनेको थिएँ । म कुनै पनि हालतमा यस्तो कामै गर्दिनँ भन्दाभन्दै पनि गरी छाड्नुभयो । नेपाल कम्युनिष्ट पार्टी बनाउन खोजेका थिए, सकेनन् । पछि कोष्टमा राखे । कोष्ट पहिचान हुँदै होइन । दुर्नियत भनेर अदालतमा गयौं ।

० २१ पुस ०७५ मा रिट दायर गर्नुभयो । अदालतले किन पेशी सारेको सा¥यै गर्छ ?

– चैतमा पेशीमा थियो । न्यायाधीशको के–के सिक्वेन्स हुँदो रहेछ । म उति भेउ नपाउने मान्छे । ५ नम्बरमा प्रधानन्यायाधीश चोलेन्द्रकै बेञ्चमा थियो । म आफैं बहस गर्न गएको । दुईवटा भन्दा हेर्न भ्याइएन भनेर छोडिदिए । त्यही बीचमा कोरोना शुरु भयो । लकडाउनले लगेको लग्यै छ । अस्ति १४ गते पेशी थियो । फेरि ६ गतेलाई सारिदिए । हेरौं अब के हुन्छ ।

० अब नेकपाको दलीय हैसियत के होला ?

– विधान प्रष्ट छैन । पुरानो विधानमा तलतिर सबै त्यही राखिएको छ । माथिबाट अलिकति एकताको कुरा राखेका छन् । दुईवटा अध्यक्षको सहमतिबेगर कुनै पनि काम वैधानिक हुन्न ।

० सूर्य चिह्नको लफडा छ । त्यो कसले पाउला ?

– पहिला यस्तै मुद्दा हामीकहाँ पनि आइलाग्यो । तिलकबहादुर थापाहरूसँग एकता गरेपछि उनका कतिपय सदस्यले त्यो एकता मानेनन् । समाजवादी पार्टी कायम छ भनेर निर्वाचन आयोग गए । सनाखत गरे । त्यहाँ हुने बहुमतलाई मान्नुपर्छ भनेर प्रष्ट लेखिएको छ । अदालतले यिनको नामै खारेज गरिदिए टण्टै साफ हुन्छ । यिनीहरूले पेलेर न्यायाधीश छटपटाएर बसेका मात्र हुन् ।
माधव विरोधी नै हुन्, ओलीले केही गर्ने होइन ।

० माले र एमाले ०५४ मा किन फुटे ?

– ०५२ सालदेखि नै त्यो पार्टीमा बस्न मन नलागेको । मध्यरात महाकाली सन्धि पास भएपछि मलाई अत्यन्तै छोयो । जनताको बहुदलीय जनवाद भनेर विर्सजनवादको कार्यक्रम लिएर आए । मदन भण्डारीलाई पटक–पटक भनेको हो– तपार्इंले यो समाजवादको गाडी लगेर फ्याँक्नुहुन्छ । त्यसको बहस चल्दै गर्दा मदन गए । बीचमा राष्ट्रघाती महाकाली सन्धि भयो । पार्टी कम्युनिष्ट भएन, देशभक्त पनि रहेन । किन बस्ने त्यस्तो पार्टीमा ? जीवनभर कम्युनिष्ट पार्टीमा लागियो । ०५२ सालमा पार्टी छाड्ने तय गरिएको थियो वामदेवजीले हामी पनि छाड्छौं भनेपछि उहाँसँगै लागियो तर ४ वर्षपछि बिनाशर्त फर्कनुभयो । फुटको पछि कुनै स्वार्थ रहेछ । यद्यपि वामदेवमाथि अन्याय भएको छ । मदन भण्डारीपछि बहुदलीय जनवादका कडा समर्थक र वैचारिक विश्लेषक वामदेव हुन् । माधव विरोधी नै हुन्, ओलीले केही गर्ने होइन ।

हामी नै हौं ड्राइभर । मदनले जवाफ फर्काउनुभएको थियो

० मदन भण्डारी पोखराबाट चितवन हिँड्दा दासढुंगा दुर्घटना भयो । त्यो क्षणमा तपाईंहरूसँग के भनेर बिदा हुनुभएको थियो ?

– खैरेनीसम्म म पनि सँगै थिएँ । खासै अरू त्यस्तो कुरा भएन । सैद्धान्तिक कुरा भयो । माघमा महाधिवेशन भएको, जेठमा घटना घट्यो । महाधिवेशनको नीति लागू गर्न उहाँ देशव्यापी दौडँदै हुनुुहुन्थ्यो । बाटामा तपाईंले जबजको नामबाट कम्युनिष्ट आन्दोलन र सिंगो समाजलाई कुन भड्खालोमा हाल्नुहुन्छ भनेको थिएँ । जीवराजजी केही बोल्नुभएन । मदनले जवाफ फर्काउनुभएको थियो– ऋृषि कमरेड, हामी नै हौं ड्राइभर । भड्खालोतिर जान लाग्यो भने स्टेयरिङ काटौँला ।’ यति भनेर छुटेका साथी त्यसपछि कहिल्यै नभेटिने गरी गए ।

० कथं माधव नेपाल वा केपी ओली नेकपा माग्न आएको खण्डमा कसलाई दिनुहुन्छ ?

– कसैलाई दिन्नँ । हाम्रो विचारमा यी दुबै एउटै ड्याङका मूला हुन् । फरक यति हो ओली खुल्ला अवसरवादी हुन् । म प्रतिक्रियावादी हुँ, जे सक्छस् गर भन्छन् । माधव, झलनाथ छद्म अवसरवादी । कम्युनिष्ट हुँ भन्छन् ओलीभन्दा गए/गुज्रेका छन् ।

टिप्पणीहरू