जर्नेलमाथि थप छानबिन

केटी काण्डमा मुछिएका सिराहास्थित २७ बाहिनीपति पङ्कज कार्कीलाई जंगी अड्डा, भद्रकाली तानेर त्यहाँ पाकिस्तानबाट फर्केका हेम केसीलाई खटाइएको छ । यसअघिको टिमले छानबिन गर्दा खासै कैफियत फेला नपरेपछि कार्कीलाई लागेको आरोपको विस्तृत छानबिन अब गोकुल भण्डारीको अध्यक्षतामा लिगलतर्फकी प्रमुख सेनानी सावित्री गुरुङ्गसहितको कोर्ट अफ इन्क्वायरीले गर्न लागेको हो । दुई तारे जर्नेल गोकुल राशन प्रबन्धक हुन् । कार्की भने फिल्म निर्देशक चेतन कार्कीका कान्छा छोरा हुन् ।

‘कस्टडीमै राखेर छानबिन गर्नुपर्ने अवस्थाको केस नरहेकाले कार्कीलाई काजमा जंगी अड्डा झिकाइएको’ सैनिक स्रोतले बताएको छ । कार्कीले हेर्ने युएन शाखामा भने सुदर्शन सिलवाल गएका छन् । सिलवाल पूर्व एआईजी तथा सांसद नवराज सिलवालका भाइ हुन् ।

अमेरिकाबाट नेशनल डिफेन्स कलेज (एनडीसी) कोर्स सकेर फर्किएपछि दुई तारे जर्नेल बन्नै लागेका उनी केटीको लफडामा फसेका हुन् । कार्कीका ट्वाईसी तथा महासेनानी रामचन्द्र कार्की र नेपाली राष्ट्रिय फुटबल टिमको सदस्य रहिसकेका जनमत कार्कीले ब्यारेककै महिला सिपाहीको यौनशोषण गराउन गोलबजार र वरपरका होटेलमा ठाउँको बन्दोबस्त मिलाइदिने गरेको भन्दै केही महिनाअघि जङ्गी अड्डामा धेरै वटा उजुरी परेपछि उनीहरूमाथि छानबिन थालिएको थियो ।

काण्डमा मुछिएका जनमत आफ्नो गृहजिल्ला कास्कीस्थित पश्चिम पृतना शिक्षालय,पोखरा सरुवा भएका छन् । रामचन्द्र भने सिरहामा नै रहेको बताइन्छ ।

टिप्पणीहरू