‘माधवलाई एक नम्बर अध्यक्ष मान्दा आनन्द आएको छ’ : प्रचण्ड « janaaastha.com
२ माघ २०७७, शुक्रबार

‘माधवलाई एक नम्बर अध्यक्ष मान्दा आनन्द आएको छ’ : प्रचण्ड



नेकपा (बहुमत) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष माधवकुमार नेपाललाई एक नम्बरको अध्यक्ष मान्न पाउँदा आफूलाई आनन्द लागेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले नेपाललाई एक नम्बर अध्यक्ष मान्दा आफूलाई मनैदेखि आनन्द लागेको बताउनुभएको हो । उहाँले भन्नुभयो ‘माधवजी र म मिलेको केपीजीलाई मन परेको थिएन । उहाँलाई असह्य भएको थियो । तर,हामी विचार,राजनीति मिलेकै कारण अहिले सँगै छौँ । त्यसैले मलाई माधवजीलाई एक नम्बरको अध्यक्ष मान्न पाउँदा आनन्द आँउछ । केपीजी जस्तो भए चैं के हुन्छ,हुन्छ ।’

प्रचण्डले गत वर्ष फागुनको केन्द्रीय कमिटी बैठकको सफलता ओली पक्षलाई मन नपरेको र त्यहिँबाट पार्टी विभाजनको सुरुआत गरिएको बताउनुभयो । ‘मेरो अध्यक्षतामा पोहोर केन्द्रीय समितिको बैठक सफलतापूर्वक बडो जनवादी प्रक्रियामा सम्पन्न भयो । त्यो सफलता ओलीलाई असह्य भएपछि पूर्व एमालेहरूलाई एकतिर बनाउनुपर्छ भनेर गुटका भेला शुरु गरियो’ उहाँले उल्लेख गर्नुभयो ।

उहाँले अहिलेको संघर्ष केपी ओलीविरुद्ध नभई केपी प्रवृतिको विरुद्ध भएको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘कमरेडहरु यो ओली व्यक्तिका विरुद्धको संघर्ष हैन,बरु आफ्नै विरुद्धको संघर्ष हो । आफैँभित्रको फोहोर सफा गर्ने अवसर पनि हो यो । ओलीको निरङ्कुश र तानाशाही प्रवृतिबिरुद्ध लड्दै जाँदा आफैँभित्रको फोहोर पनि सफा गर्नु हो ।’ अध्यक्ष प्रचण्डले २१ औँ शताब्दीको कम्युनिष्ट पार्टी बनाउने अभियानका रुपमा पनि अहिलेको संघर्र्षलाई बुझ्नुपर्ने बताउनुभएको छ ।

अहिले बाहिर सेटिङका हल्ला धेरै सुनिएका छन्, म त्यस्तो होला भन्ने पत्याउन त चाहन्नँ तर सत्ताको दबाब हुनसक्छ’

उहाँले यो अभियानलाई जीवन–मरणको लडाईं रुपमा व्याख्या गर्दै एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । ‘यो समाजवादको आधार निर्माण गर्ने लडाईं हो । प्रतिगमन र अग्रगमनको लडाई पनि हो,क्रान्ति र प्रतिक्रान्तिबिचको संघर्ष हो । यो जीवन मरणकै लडाई हो’ भन्दै थप्नुभयो ‘७० वर्षदेखिको संघर्षबाट प्राप्त उपलब्धि एक जनाले उल्ट्याएको छ, हामी त्यसको साक्षी बस्न सक्दैनौं ।’

उहाँले संविधानले संसद विघटन हुन नदिने भन्दै केपी ओलीको सरकार मात्रै विघटन भएको बताउनुभयो । प्रचण्डले पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती पनि दिनुभएको छ । प्रतिनिधिसभा भङ्ग गर्दा प्रधानमन्त्री ओलीले पार्टीले घेराबन्दी गर्यो, काम गर्न दिएन भनेर दाबी गरेको भन्दै उहाँले भन्नुभयो, ‘केपी ओलीजीलाई मेरो चुनौति छ,पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिनुस् । कुन काममा भाँजो हाल्यो ?’ अदालतले संविधानको अक्षर र भावनाअनुसार नै निर्णय गर्नेमा बिश्वास रहेको भन्दै उहाँले बाहिर आएका विभिन्न हल्लामा सत्यता नभएको बताउनुभयो ।

‘अहिले बाहिर सेटिङका हल्ला धेरै सुनिएका छन्, म त्यस्तो होला भन्ने पत्याउन त चाहन्नँ तर सत्ताको दबाब हुनसक्छ’ उहाँले भन्नुभयो ‘उहाँहरु (सर्वोच्च अदालत र निर्वाचन आयोग) ले सहि निर्णय गर्नुहुन्छ । भरोसा त गरेकै छौं । सहजीकरण गर्न जनता सडकमा आउनै पर्छ ।’ अध्यक्ष प्रचण्डले भारतीय न्युज टिभी च्यानल जी न्युजलाई ओलीले दिएको अन्तरवार्ता नाटकमात्रै भएको पनि बताउनुभयो ।

‘उहाँलाई विदेशी शक्ति आएर के के मन्त्र सुनाए त्यो थाहा भएकै हो । अहिले जी न्युजलाई उहाँले दिएको अन्तर्वार्ता पनि हेर्यौँ त्यो,नाटक नै हो । त्यसको पटाक्षेप भैसक्यो’ प्रचण्डको भनाइ थियो । उहाँले ओलीले जुन च्यानललाई अन्तरवार्ता दिएको हो सोही च्यानलले सगरमाथाको नामै फेर्नेसम्मको समाचार दिएको भन्दै ओलीलाई प्रश्नसमेत गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

समन्वय प्रमुख रंगेहात पक्राउ
काङ्ग्रेसको प्रतिकात्मक बिरोध
देशमा अनर्थ हुँदैछ : रामचन्द्र पौडेल
अदालतलाई हेपेको कि जालझेल गरेको ?