वकिलको आमा बित्नाले सरेको सर्यै « janaaastha.com
२ माघ २०७७, शुक्रबार

वकिलको आमा बित्नाले सरेको सर्यै



निर्वाचन आयोगले आफ्नो पार्टीको आधिकारिकता खोसेपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा हालेको मुद्धाको पेशी सरेको सर्यै छ । दुई वर्षदेखि पटक पटक सर्दै पछिल्लो पटक पुस १४ गतेका लागि तोकिएको थियो । उक्त पेशी निवेदक आफैँले स्थगित गराएका हुन्  । कट्टेलले आफ्नो पक्षका वकिलकी आमाको मृत्युका कारण पेशी स्थगित गर्नुपरेको बताए ।

उनले भने,  ‘मुद्दा लामो समयदेखि सर्वोच्चमा विचाराधीन छ, म पनि छिट्टै टुङ्गोमा पुगोस् भन्ने चाहन्थेँ, तर अस्तिको पेशी चैँ बाध्यताका कारण आफैँले स्थगित गर्नु परेको हो ।’ तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएपछि आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो भएकाले उक्त नामलाई आधिकारिकता नदिन कट्टेलले निर्वाचन आयोगसँग आग्रह गरेका थिए ।

तर,आयोगले सत्ताधारी नेकपालाई आधिकारिकता दिएपछि कट्टेल न्याय खोज्दै सर्वोच्च पुगेका हुन् । २०७५ सालदेखि तारेख खेपिरहेका छन् । ‘अदालतको प्रक्रिया के के हो धेरै झण्झटिलो हुने रहेछ,एकपटक सर्वोच्चले सक्कल कागज झिकाउन आदेश पनि दिएको थियो, कागज झिकाउनै महिनौँ लाग्ने रहेछ’ उनले भने,”त्यसैवीच कोभिड शुरु भयो, त्यसपछि अदालतका कामकारबाही नै रोकिए । कहिले पेशी तोकिए पनि पालो नआउने, अस्ति १४ गते एक नम्बर मै परेको थियो तर के गर्नु आफ्नै कारणले स्थगित गर्नुपर्यो ।’

अब अर्को पेशी माघ ७ गतेका लागि तोकिएको छ । सर्वोच्चले आफ्नो पक्षमा फैसला गर्नेमा विश्वस्त रहेका उनले निर्वाचन आयोग पूर्वाग्रही भएर आफूलाई दुःख दिएको गुनासो पनि गरेका छन् । निर्वाचन आयोगले विवाद निष्पक्ष ढङ्गले नहेरेको भन्दै उनले कोष्ठले पहिचान छुट्याउन नसक्ने बताए । ‘विवाद कोष्ठले पहिचान छुट्याउँछ कि छुट्याउँदैन भन्ने हो, कोष्ठको नेकपालाई अर्कै पहिचान भनिएको छ । तर, त्यो अर्को पहिचान कसरी हुन्छ ?’ उनले प्रश्न गरे ।

कट्टेल नेतृत्वको पार्टी २०६९ सालमै निर्वाचन आयोगमा दर्ता भएर दोस्रो संविधानसभा निर्वाचन २०७० मा सहभागी भएको थियो । अध्यक्ष कट्टेलका अनुसार मुलुकका ५१ जिल्लामा यसको संगठन विस्तार छ । तरपछि दर्ता भएको अर्को पार्टीलाई आयोगले वैधानिकता दिएपछि कट्टेल निर्वाचन आयोग र सत्तारुढ नेकपाविरुद्ध सर्वोच्च गएका हुन् । रमाइलो संयोगचाहिँ  सर्वोच्चको फैसला नआउँदै सत्ताधारी नेकपा फुटेर उनीहरुबीच वैधानिकताको अर्को लडाईं शुरु भएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

समन्वय प्रमुख रंगेहात पक्राउ
काङ्ग्रेसको प्रतिकात्मक बिरोध
देशमा अनर्थ हुँदैछ : रामचन्द्र पौडेल
अदालतलाई हेपेको कि जालझेल गरेको ?