अस्थिरताको मतियार जनता पनि « janaaastha.com
१३ माघ २०७७, मंगलवार

अस्थिरताको मतियार जनता पनि



समाजवादी केटो

जुनसुकै देशमा नेतृत्वका लागि तीन वटा कुरा महत्वपूर्ण हुन्छन् । पहिलो, सुसंस्कृत राजनीति र शासन प्रणालीको विकास, दोस्रो, जनताको जीवनस्तर उकास्न अर्थोपार्जनका आधार तयार, तेस्रो, मगन्ते अर्थतन्त्रबाट आत्मनिर्भर अर्थतन्त्रको जगमा सबल राष्ट्रवाद निर्माण ।

यति भनिसकेपछि नेपालको समकालीन नेतृत्वबाट यी तीन कुरामा के–के योगदान भयो ? खोज्नुपर्ने हुन्छ । भन्न त कांग्रेस, एमाले, माओवादी, राजावादीलगायतले गज्जब गरेका छौं भन्छन् । उनीहरूले गरेको योगदानको फेहरिस्त न किताब लेखेर सकिन्छ, न भाषण गरेर । के यथार्थ त्यस्तो छ र ? बहुसंख्यक जनताको स्थिति समस्याको बेला २÷४ छाक धान्न पनि धौधौ हुने अवस्थामै छ, जो कोरोना महामारीमा देखियो । कतिपयको अवस्था बिरामी परेको बेला २÷४ हजार रुपैयाँ नभएर मृत्यु रोज्नुपर्ने छ । व्यक्ति मात्रै होइन, देशको हालत पनि त्यस्तै छ । जनता भोक र रोगले मरे पनि अभिभावकत्व निर्वाह गर्न राज्यको ढुकुटीमा पर्याप्त रकम छैन । महामारीमा राज्यले नागरिकलाई दिएको राहतबाट त्यो प्रस्ट छ । अर्को ऋण काढेर कर्मचारीलाई तलब खुवाउने हालत पनि देखिएकै छ । यसो हुँदा पनि देश विकासको जिम्मा पाएकाहरूको जयजयकार चलिरहेकै छ । किन यस्तो हुन्छ ?

शासक जतिसुकै बदमास, कपटी र सन्की भए पनि त्यहाँको प्रणाली डगमगाउँदैन । बरु व्यक्तिको पतन हुन्छ

यसको चर्चा गर्न फेरि उल्लिखित तीन वटा कुरामा फर्किनुपर्ने हुन्छ ।

पहिलो, विकासका लागि व्यक्तिको इच्छा शक्ति त महत्वपूर्ण हुन्छ नै त्योभन्दा महत्वपूर्ण सुसंस्कृत राजनीति र शासनप्रणाली हो । कुनै पनि देशमा विकास र स्थायित्व तब मात्रै हुन्छ, जब स्थापित मानक वा निश्चित मूल्य–मान्यतामा आधारित प्रणाली हुन्छ । अनुमानयोग्य शासन हुन्छ । सबै कुराको निर्धारण व्यक्तिले नभई स्थापित सिद्धान्तले गर्छ । जस्तोसुकै महत्वाकांक्षा भएको व्यक्ति वा शासक पनि निश्चित विधि र पद्धतिमा नहिँडी धरै हुन्न । उदाहरणका लागि अमेरिकालाई हेरौं, यदि त्यहाँ निश्चित प्रणाली विकास नभएको भए वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै चिज गरिसक्थे । उनले व्यवस्थालाई बदल्न सक्थे । आफ्नो इच्छानुसार काम गर्थे । त्यसको परिणाममा त्यहाँ विकास अवरुद्ध हुन सक्थ्यो । बाँकी विश्वले उनको गलत कदमको मारमा पुर्नुपथ्र्यो । तर, शासक जतिसुकै बदमास, कपटी र सन्की भए पनि त्यहाँको प्रणाली डगमगाउँदैन । बरु व्यक्तिको पतन हुन्छ तर व्यवस्थालाई धक्का पुग्दैन ।

हामी कहाँ हेरौं, विधिले व्यक्तिलाई डो¥याउने होइन कि व्यक्तिले विधिलाई डो¥याउन खोज्दा पटक पटक व्यवस्था धरापमा परेको छ । यहाँ संविधान, विधि र पद्धतिमा हिँड्ने नभई व्यक्तिले आफूअनुकूल हिँडाउने अभ्यास गर्दा प्रजातन्त्र आयो भनिएको ७ दशकमा पटक–पटक प्रतिगमन र अस्थिरता दोहोरिएको छ । प्रणाली बनाउने व्यक्तिले आफ्नो स्वार्थलाई केन्द्रमा राख्दा देश अहिले पनि अस्थिरताको भुमरीबाट माथि उठ्न सकेको छैन । ०१७ सालमा राजा महेन्द्रले त्यही गरे । ०५१ मा गिरिजाले त्यही गरे । २०५२ मा मनमोहन र २०५४ मा सूर्यबहादुर थापाले त्यही नक्कल गर्न खोजे र ०५८ मा शेरबहादुर देउवाले त्यही दोहो¥याए ।

संविधानसभामा लामो रस्साकस्सी र छलफल भयो । विगतका कमजोरी फेरि नदोहो¥याउने विषयमा आमसहमति भयो । संविधानमा टेकेर व्यवस्थालाई नै दाउमा लगाउने, संवैधानिक सर्वोच्चतालाई चुनौती दिने विगतको अभ्यासबाट सिकेर अहिलेको संविधानले शासक वा जनप्रतिनिधिलाई कुनै विशेषाधिकार दिएकै छैन भनिएको बेला पनि अस्ति मात्रै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर अस्थिरतालाई निम्ता दिए । यसको अर्थ व्यक्तिले संविधानलाई चुनौती दिने क्रम रोकिएको छैन । एकातिर राजनीतिज्ञ अस्थिरताको मतियार बन्ने, अर्कोतिर शक्तिपृथकीकरणको अभ्यास गर्ने संवैधानिक निकाय पनि निरीहजस्तो देखिने । त्योभन्दा डरलाग्दो जनताले गलत गरिरहनेहरूलाई पुरस्कृत गर्दै जाने ! नभए अक्षम घोषणा भएका शेरबहादुरलाई हेर्नुस्, उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । गणतन्त्रलाई खिसिट्युरी गर्ने बयलगाडाधारी ओलीको भाग्य यसै व्यवस्थामा चम्कियो । उनले सनककै भरमा ७० वर्षको संघर्षपछि स्थापित हुन लागेको प्रणालीलाई चुनौती दिँदा पनि ताली पड्काउनेहरूको कमी छैन ।

हिजो गिरिजाले गलत गरे भनेर गाली गर्ने केपी ओलीलाई आज त्यही गर्दा पनि तालीको वर्षा भइरहेको छ । न शासन प्रणाली विधिमा चल्ने, न गल्ति गर्दा जनताबाट दण्डित हुनुपर्ने ।

राजनीतिज्ञको दोस्रो अभिभारा जनताको जीवनस्तर उकास्नका लागि अर्थोपार्जनका आधार तयार गर्ने हो । तर, यहाँ त दलहरू फुर्सदिला र बेरोजगार कार्यकर्ता उत्पादन गर्ने कारखानामा रूपान्तरण भइरहेका छन् । तिनै फुर्सदिला र बेरोजगार कार्यकर्ताको ढाडमा टेकेर आन्दोलनको नाममा एकपछि अर्को शासक जन्मिरहेका छन् । अर्थोपार्जनको उपायबिना गरिब बनेका जनता स्थायी भोट बैंकमा परिणत भइरहेका छन् । कोही पासपोर्ट बोकेर देश छाड्न बाध्य छन् । तथाकथित बुद्धिजीवी भनिएकाहरू पनि शासनसत्ताको लाभ लिन लम्पट नै छन् । भोको पेट भाषणले भर्ने जनता, तानाबाना बुन्न सघाउने कथित बुद्धिजीवी र चुटकिला, गालीगलौजमिश्रित भाषण सक्षमताको मानक हुने भएपछि नेतृत्वलाई देश विकासमा माथापच्ची गरिरहनै परेन । त्यसैकारण हाम्रा अगाडि यो अधोगति छ । हिजो गिरिजाले गलत गरे भनेर गाली गर्ने केपी ओलीलाई आज त्यही गर्दा पनि तालीको वर्षा भइरहेको छ । न शासन प्रणाली विधिमा चल्ने, न गल्ति गर्दा जनताबाट दण्डित हुनुपर्ने । यति भएपछि शासकले विकास र समृद्धिका योजना बुन्न किन मथिंगल चलाइरहनुप¥यो ! असफलतामा कीर्तिमान कायम गर्दा पनि गालीको सहारामा जति अर्काको उछित्तो काढ्न सक्यो त्यति नै उचाई बढ्दै जाने भएपछि हिजो त्यही भयो, आज त्यही भइरहेको छ र भोलि त्यही हुनेवाला छ ।

तेस्रो, मागेर विकास गर्छु भन्ने मगन्ते अर्थतन्त्रबाट आत्मनिर्भर अर्थतन्त्रको जगमा सबल राष्ट्रवाद निर्माण । माथिका दुई वटा चिज नहुने भएपछि तेस्रो कुरा हुने नै भएन । आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधारमध्ये कृषि निर्वाहमुखी नै छ । सरकारका उद्योग बन्द छन् । निजीक्षेत्रले स्थापना गरेका उद्योग, व्यापार, कलकारखाना पनि पार्टीलाई चन्दा उत्पादन गर्ने बाध्यता र तालि पड्काउने कार्यकर्ताको प्रवेशले थिलथिलो छन् । ठूलो लगानी आउने अवस्था छैन । सानो लगानी शक्ति राष्ट्रहरूको स्वार्थपूर्तिका लागि प्रभाव विस्तार गर्ने आधार बनिरहेका छन् । ऋण काढेर देश चलाउनुपर्ने अवस्था छ । तर, उत्तर, दक्षिण फर्किएर जसले जति ठूलो स्वरमा गाली गर्न सक्यो, उसले त्यति नै बढी ताली र मत पाउने ‘गाली राष्ट्रवाद’ निर्माण भइरहेको छ । त्यसैकारण नेताहरूले गालीको सहारा लिएर राष्ट्रवादलाई बलियो अस्त्र अपनाइरहेका छन् । जनताले त्यसैलाई अनुमोदन गरिरहेका छौं ।

दोष कसलाई मात्रै दिनु ?

नेपालमा सबैभन्दा सस्तो राजनीति नै भएको छ । न योग्यता, क्षमता चाहिने, न इमान चाहिने, बस् चम्चागिरी र चर्को गाली गर्न खुबी भए पुग्ने । त्यसपछि सधैं मालामाल्, काम नगरेरै घरधन्दा चल्ने, जनताले रुचाइरहने । एकचोटी २०७४ को चुनावताका दिनहरू सम्झिनुस् र पुस ५ गते प्रतिनिधिसभा विघटनपछिको माहोल हेर्नुस् त ।

कोरोना महामारीका कारण कमेडीसर्कसहरू बन्द छन् । जोकरहरू निर्धक्क घरबाहिर निस्किएका छैनन् । थिएटर बन्द, फिल्म हलले सरकारको निर्देशन अवज्ञा गर्नुपर्ने अवस्था । विद्यालय पूर्णरूपमा खुलेका छैनन् । तर, बेरोजगार कार्यकर्ता उत्पादन गर्ने दललाई भने मस्ती छ । उनीहरूका लागि न नियम, न कानुन ।

जनतालाई राहत, विकास र समृद्धि नचाहिने, नेताहरू कमेडियन बनेर मनोरञ्जन दिए पुग्ने । यसर्थ, सत्तामा हुनेहरूलाई सडकमा उठेका प्रश्नको जवाफ कामबाट दिइरहनु पर्दैन । बस् त्यसलाई काउन्टर दिने गरी अझ ठूलो स्वरमा गाली गरे पुग्छ । त्यति गरे केवल ताली, न हल खाली । हिजो आज त्यही भइरहेको छ । जनता कुनै न कुनै पार्टीमा आस्थावान, आस्थावानमध्ये अधिकांश कि नेता कि कार्यकर्ता । यति हुँदाहुँदै पनि लाग्थ्यो, अहिलेका जनता न २०५१, न त २०५८ कै हुन् । यी त समृद्ध चेतना निर्माण भइसकेका जनता तथा कार्यकर्ता हुन् । अहँ त्यो भ्रम मात्रै रहेछ । राजवादी, कांग्रेस, कम्युनिष्ट, यो गुट, त्यो गुटले जति गल्ती गरे पनि खतमाफ गरिदिने जनता । आदेश मात्रै दिनुप¥यो, लाम लागेर सडकमा उत्रिने बानी अहिले पनि फेरिएन ।

समृद्ध शासन प्रणाली निर्माणका लागि बारम्बार सपना देखाएर ठगेकाहरूदेखि सधैं अस्थिरतामा आफ्नो भविष्य देख्ने, गरिबीमा आफ्नो भलाइ देख्ने, दुईतिहाइ दिँदा पनि जनतामाथि नै त्यसको अपजस थोपर्नेहरूको आह्वानमा कुलेलम ठोक्ने तपाईं–हामी । देशमा काम नपाएर पासपोर्ट खल्तीमा बोकेकादेखि योग्यतानुसार जागिर नपाएर दराजमा सर्टिफिकेट कुहिन लागेकाहरूसम्म, खान नपाएर पेटमा पटुकी कसेकाहरूदेखि औषधि गर्न नसकेर परिवार गुमाएकाहरूसम्म पररर ताली पड्काउन छोड्दैनौं । त्यसैले त प्रतिगमनले पटक–पटक टाउको उठाइरहेको छ । अस्थिरता बारम्बार दोहोरिरहेको छ । आफूलाई मन नपर्नेहरूलाई ठूलो स्वरमा गाली गरेमा सबै खतमाफ गरिदिने बानी परेका हामी जनता । प्रचण्डलाई देखाइदिन ओलीलाई सहारा, ओलीलाई देखाइदिन प्रचण्डलाई सहारा, संघीयता, गणतन्त्रलाई देखाइदिन राजावादीलाई सहारा । उनीहरूका स्वार्थनुसार प्रयोग हुने, उनीहरूले एकपछि अर्को गल्ती गर्दा पनि ताली पड्काएर साथ दिइरहने हुतिहारा हामी जनता रहेसम्म यस्तै हुने हो । दोष ओली, देउवा, प्रचण्ड, माधव नेपालहरूको मात्रै होइन, अस्थिरताको मतियार बन्ने हामी जनताको पनि हो । जनता नसुध्रिएसम्म, जनता नचेतेसम्म नेता यस्तै जन्मिने त हुन् !


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कसले हार्ने लडाइँ हो यो ?
मनमोहनमा आठ महिनादेखि तलब छैन
स्वर्गीय दुर्गेलाई बिचल्ली पार्यो सीजीले
विजय गच्छदारसहित त्रिसठ्ठी अभियुक्त बेखबर