आज र भोलि जो दिल्ली जाँदैछन् « janaaastha.com
१३ माघ २०७७, मंगलवार

आज र भोलि जो दिल्ली जाँदैछन्



नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भोलि भारत प्रस्थान गर्दै हुनुहुन्छ । सचिवस्तरीय आयोगको छैठौं बैठकमा नेपालको तर्फबाट गरिने प्रस्तावप्रति सबैले चासो दिएका छन् । ज्ञवालीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट गर्ने कार्यक्रम छ ।

भोलि नयाँ दिल्ली जाने टोलीमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल र मन्त्रीका स्वकीय सचिव खेम ज्ञवाली रहेको बुझिएको छ ।

भोलि हुने सहसचिवस्तरीय बैठकको लागि परराष्ट्रमा भारत डेस्कको जिम्मेवारीमा रहेका सहसचिव यज्ञबहादुर हमालसहित परराष्ट्रकै उपसचिव लोकबहादुर पौडेल क्षेत्री, अर्थ मन्त्रालय र अन्य सरकारी निकायका प्रतिनिधि रहेको टोली अहिलेबिहान सवा ११ बजे नेपाल वायुसेवाको उडानबाट नयाँदिल्ली प्रस्थान गर्दैछ । स्रोतका अनुसार सहसचिवस्तरीय बैठकपछि मन्त्रीस्तरीय बैठक हुनेछ ।

कोरोनाविरुद्धको भ्याक्सिन सहायता बारे कुरा हुने भएकाले स्वास्थ्य मन्त्रालयका सचिवलाई पनि टोलीमा राखिएको छ । केही आर्थिक सहायता र पूर्वाधारसम्बन्धी प्याकेजको लागि अर्थ मन्त्रालय र उद्योग वाणिज्य मन्त्रालयको प्रतिनिधि राखिएको हो ।

यसैबीच नयाँ दिल्लीस्थित नेपाली दूतावासमा नियोग उपप्रमुखको रूपमा बेइजिङ्ग बसिसकेका दङ्गाली रामप्रसाद सुवेदी हाजिर भएका छन् भने काउन्सिलरको रुपमा कार्यरत प्रकाश अधिकारी नेपाल प्रहरीको डिआइजीमा बढुवा भएपछि नयाँ जिम्मेवारी सम्हाल्न एसएसपी वीरेन्द्रकुमार बस्याल गएका छन् । गुप्तचरबाट पहिलेदेखि नै इन्द्रकुमार लामा तैनाथ छन् । सैनिक सहचारी एकतारे जर्नेल इश्वरकान्त मैनालीलाई बदली गर्न महासेनानी रामचन्द्र खत्री अर्को महिना जान लागेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कसले हार्ने लडाइँ हो यो ?
मनमोहनमा आठ महिनादेखि तलब छैन
स्वर्गीय दुर्गेलाई बिचल्ली पार्यो सीजीले
अर्थमन्त्रीको जिल्लामा अर्को पक्षको प्रचार समिति