सशस्त्रमा दिनदिनै सनसनी

सशस्त्रमा दिनदिनै सनसनी

सत्तासीन पार्टीका नेताले एकअर्कालाई नक्कली भएको आरोप लगाइरहेकै बेला सशस्त्र प्रहरी बलमा पनि कमाण्डका निकटतमलाई पूरा तालिममा सहभागी नै नगराई सुविधा दिएर नक्कली तालिमे बनाइएको छ । ककनीस्थित सशस्त्र प्रहरी युएन शान्ति स्थापना तालिम शिक्षालयको प्रसंग अलि फरक छ । त्यहाँ करिब ५ दर्जन हवल्दारको तालिम चलिरहेको छ । तर, सहभागीमध्ये आधा दर्जनजतिलाई कमाण्डर इन्स्पेक्टर प्रकाश पाण्डेले छुट्टी दिने गरेका छन् । कठिन तालिम हुने भएकाले प्रकाशले उनीहरूलाई तालिममा सहभागी नगराई सबेरै घरतिर पठाउने गरेका हुन् । अरू तालिमेले आधारातसम्म फौजी कौशल सिकिरहेका बेला प्रकाशको माया पाएर दिनहुँ साँझ नपर्दै घरतिर जान पाउनेमा तामाङ, थापा आदि थरका छन् । अरू सहभागीहरूले तालिम लिइरहँदा उनीहरू मोटरसाइकलमा सररर डेरातिर लाग्छन् ।

यति मात्र होइन कठिन मानिएको जंगल तालिम भइरहेका बेला समेत उनीहरूलाई प्रकाशले तालिम केन्द्रकै कर्मचारीलाई लगाएर मोटरसाइकलमा घर पठाउने गरेका छन् । हाकिमका मानिसलाई लिन भोलिपल्ट सबेरै ककनीको जाडोमा कर्मचारी घरघरै पुग्नुपर्ने बाध्यता छ ।

तुलनात्मक रूपमा सोझा मानिएका शिक्षालय प्रमुख एसएसपी कुलबहादुर नेम्बाङ प्रकाशकै योजनामा बहकिने गरेको बताइन्छ । हालै डिआईजीमा बढुवा लागि सिफारिश भएका उनलाई तालिमेको अवस्था के छ वा कर्मचारीहरू के कस्ता छन् खासै जानकारी छैन । तालिमका लागि पहिले नै विषयवस्तु छुट्याई, खाने, बस्ने समयतालिका नै बनाइएको छ । तर प्रकाशले प्रायः बिहान १० बजेको खाना १२ बजे, साँझको खाना खाने बेला बल्ल खाजाका लागि छुट्टी दिने गरेका छन् । तालिमका लागि बन्दोवस्तीका सामान शिक्षालयले नै व्यवस्था गर्नुपर्नेमा मासिक खर्च बचाएर कुचो, बाल्टिन, झाडु, डोरी, मार्कर, शौचालयका लागि फिनेल, पेपर आदि सबै तालिमेलाई नै किनाउँछन् । शुरुमा किनिएका ती सबै सामान त्यहीं राखिएको ठाउँबाटै कर्मचारीले गायब बनाउने गरेका छन् । तालिमेले किनेका सामान सुरक्षित रूपले राख्ने ठाउँसमेत छैन । सीमा सुरक्षाको जिम्मा पाएको प्रहरीको सामान कार्यालयबाटै हराउँछ र हराएबापत तालिमेले उल्टै सजाय पाउँछन् ।

कार्यालयको यस्तो गाईजात्रे व्यवस्थापन गरिरहेका कुलबहादुर डिआइजी बढुवा भएपछि कसरी संस्था चुस्त ढंगले चलाउलान् ? कतिपय तालिमेहरू हात राम्ररी नचल्ने, गोडा राम्ररी फट्कार्न नसक्ने, दीर्घरोगले गाँजेकाहरू पनि छन् । उनीहरू बलभित्रकै ठूला मानिसका नातेदार र चाकडीदार रहेकाले हल्लिएरै तालिमको प्रमाणपत्र बुझ्नेवाला छन् । तर तालिमेमध्ये कतिपय गोडा भाँच्चिएर स्टिल राखिएकाले मेरो गोडामा स्टिल छ भन्दा पनि प्रकाशले जबर्जस्ती नसक्ने कार्यमा लगाउने गरेका छन् । आफू निकटकालाई परीक्षामा राम्रो नम्बर ल्याउन उसले लेख्न सक्दैन भन्दै कर्मचारीलाई दिन लगाउनु त प्रकाशको नियमित धन्दा नै बनेको छ । दैनिकझैं बदमाशी र कमजोरी गरिरहने शिक्षालयको नाममा युएन भने जोडिएकै छ ।

– पीडित हल्दारहरु

टिप्पणीहरू