जब मनकारी श्रीमान भेटिँदैनन्

जब मनकारी श्रीमान भेटिँदैनन्

केटाको नियत खराब भइदिँदा केटी मान्छेको जिन्दगी पनि बिगँ्रदो रहेछ । केटाको कर्मसँगै जोडिएको हुन्छ केटीको भाग्य । एक धर्काे सिन्दूरका कारण जीवनभर नारीहरू कसरी बर्बाद हुन्छन्, यस्तै उजाडिएको जिन्दगीको कहानी हो यो ।

भनिन्छ, मनको बह अरुलाई नकह । तर, आफ्नो व्यथा अरुसामु पोखे मन हलुका हुन्छ पनि भनिन्छ । यही हल्का मन पार्ने उद्देश्यले पोख्दै छु मेरो पीडाका पहाडहरू ।

काठमाडौंको खाल्डोभन्दा केही माथि छ ककनी गाउँ । त्यहीँ जन्मिएँ, हुर्किएँ । ०५० सालमा मागीविवाह भएको हो । सेनाको शान त्यो बेला बेग्लै थियो । मगनी गर्न आउने व्यक्ति नेपाली सेनामा कार्यरत । विवाहको केही समयपछाडि नै शुरु भयो माओवादी जनयुद्ध । नेपाली सेनामा कार्यरत व्यक्तिसँग विवाह गर्दा त्यो ११ वर्षको समय न त दिनको चैन, न रातको निद्रा । कहिले कतै सेनालाई माथ्र्याे विद्रोहीले त कतै प्रहरीलाई । हर पल, हर क्षण पाइला–पाइलामा एम्बुस बिच्छ्याइएको जिन्दगी थियो । जुन समय पनि पक्रन सक्ने । विवाह पछाडिको नौ वर्षसम्म हाम्रो सम्बन्ध सुमधुर नै थियो । किराना हुँदै कस्मेटिक पसल चलाएँ । केही वर्षको अन्तरमा दुई सन्तान जन्मिए । काठमाडौंको नैकापमा थियो घर । आउने, जाने भइरहन्थ्यो ।

संसारको जग विश्वासमा अडिएको छ । र, विश्वास भन्ने चिजचाहिँ रेशमी धागोजस्तै । जब धागो चँुडिन्छ नि तब सबै सखाप हुन्छ । जसमाथि मेरो विश्वास र भरोसा थियो त्यो आशाको दियो हावाको सानै झोक्काले त निभाइदिनसक्थ्यो तर मैले बालेको आशाको दियो ठूलै हुण्डरी चलेर निभ्यो । देवरको विवाह थियो ०६२ सालमा, त्यही समयमा उनलाई फोन गरेँ । जब श्रीमान््को फोन परस्त्रीले उठाएर उल्टै मलाई बाइफाले करार गरिन्छ भने त्यहाँ मेरालागि दिउँसै रात प¥यो । फोन उठाउने स्त्रीले उल्टै हकार्दै भनी, ‘मेरो बूढालाई फोन गर्ने तँ को हो बाइफाले ?’ छाँगाबाट खसेझैं भएँ । यही विषयमा उनीसँग दिनरात झगडा हुन थाल्यो । तर, जो चोर उसैको ठूलो स्वर भनेझैं गल्ती स्विकारेनन् । एक दिन उनैले त्यो आइमाईकोमा लैजान तयार भए । सर्त थियो त्यो महिलाकोमा जाँदा मैले उनको श्रीमतीको रूपमा नभएर भाउजूको रूपमा परिचय दिनुपर्ने । सर्तमुताबिक अघिल्लो दिन बेलुका श्रीमान्कै मोटरसाइकलमा बसेर त्यहाँ पुगेँ तर भोलिपल्ट दाजुसँग सोही ठाउँमा जाँदा कोठा सरिसकेछन् ।

जब श्रीमान्को मन परस्त्रीमा रम्न थाल्छ तब श्रीमतीको मन श्रीमान्प्रति रमिरहन सक्ने अवस्था रहेन । दुई छोराहरूसँगै काठमाडौं छोडेँ । लक्ष्य थिएन । गन्तव्य थिएन । केवल थियो मनभरि तनाव ।

दुई छोरालाई काखी च्यापेर झरेँ विराटनगरतिर । त्यो समयसम्म दुई छोराहरू कलंकीस्थित एलआरआई स्कुलमा अध्ययन गर्दै थिए । सानोतिनो व्यापार कलंकी चोकमा थियो । राम्रै कमाइ हुन्थ्यो । दुई छोरा हुँदाहुँदै तिनैमाथि सौतेनी आमा हालेपछि मेरो मन त्यो घरमा रम्न सकेन । काठमाडौं खाल्डोमा पनि बसिरहन मन लागेन । ती असत्तीको मुखै हेर्न नपर्ने स्थानमा जान्छु भनेर पूर्वतिर झरें । त्यो समय खाई नखाई बचाएको १ लाख हाराहारी नगद र साथमा केही गरगहना थिए । त्यही पैसा पोको पारेर दुई छोरा काखी च्यापी झरें तराईतिर । यो कुरा दाजुले चाल पाएछन् । उनले पटक–पटक फोन गरेर माइती फर्कन भने । तर, मेरो मन मानेन ।

लाग्थ्यो, आफ्नो टेन्सन अरू आफन्तलाई किन बोकाउनु ? यही सोचेर म फर्किनँ । तर, त्यहाँ पुगेको सात महिनामै मसँग भएको पैसा सकियो । बीचमा भाइले पटक–पटक फोन सम्पर्क गरेर घर आइज भनेको पनि हो । मेरो भाग अंश तेरो नाममा गरिदिन्छु नभनेको होइन । तैपनि म माइत फर्किनँ । काठमाडौं फर्कने पैसा थिएन, भाइले पैसा पठाइदियो । खै पछाडि कहाँबाट थाहा पाएर हो श्रीमान् उतै पुगे । म त्यतै कोठा लिएर बसेको थिएँ । दुईवटा छोरालाई त्यतै पठाएको थिएँ । उनैले गएर फकाए । श्रीमान् नै खोज्दै त्यहाँ पुगे । एक मन लाग्यो बिगे्रकै भए पनि त लोग्ने हुन् । मैले माया र स्नेह बर्साएँ भने सप्रन सक्छन् । काठमाडौं फर्किएँ । तर, तिनको व्यवहार सुध्रिएन । हिजो जस्तो थिए, उस्तै । तिनका अनुहार पनि हेर्न मन लाग्न छाड्यो । माइती गएर बस्न थालेँ । झण्डै एक वर्षसम्म माइतीमा बसेर दिन गुजारिरहेकी थिएँ । यस्तैमा एक दिन जेठो छोरा घर छाडेर हिँड्यो । ऊ त्यहाँबाट भागेर नैकापस्थित घरमै आउन खोजेको रहेछ । पछाडि भेटियो र थाहा पाइयो । त्यही कारण छोराकै खुशीका लागि म नैकापस्थित घरमा आएँ । तर, श्रीमान् त्यहाँ थिएनन् । उनी कोठा लिएर बालाजु हाइटतिर कान्छी श्रीमतीको साथमा बस्दै आएका थिए । उनलाई खोज्दै गएँ । त्यहाँबाट उनले नैकापस्थित घरमा लिएर गए । नैकापमा हाम्रो दुईवटा घर थियो । एउटा पुरानो र अर्काे नयाँ । नयाँ घर आफैंले बनाएको । त्यो घरमा बस्न दिएनन् । मलाई पुरानो घरभित्र हुलेर लोग्ने कान्छी श्रीमतीकै पछि लागी गए ।
श्रीमान्ले घरपरिवारको सम्पत्ति उडाएर उनको नाममा रहेको जग्गा नै अरूले बन्दकी राखेको थियो । सो जग्गाको बन्दकी रकम चुक्ता गरेर त्यो जग्गा मेरी दिदीले आफ्नो नाममा पारेकी थिइन् । साढे तीन आना जग्गा थियो । यो जग्गा केही समय नाताले देवर पर्ने प्रवीण दाहालले कमाउँदै आएका थिए । अहिले यो जग्गासमेत गाउँपालिकाका कार्यकारीहरूले रोकिराखेका छन् । म यहाँ छउन्जेलसम्म तैंले यो जग्गा कुनै हालतमा पनि पाउँदिनस् भन्छन् ।

न्याय दिएर समाजको घटना मिलाउनुपर्ने मान्छे नै घरका आफन्तले चेपेको थाहा पाएर हाकाहाकी भन्छन्, ‘तँलाई घरकै मान्छेले पेलेका छन्, मैले तँलाई किन न्याय दिने ?’ मलाई अरू केही चाहिएन । सबै प्रमाण छन् । दिदीको नाममा भएको जग्गाको लालपुर्जा छ । तैपनि, गाउँपालिकाको सचिव दाहालले सो जग्गा हडपेर बसेका छन् । म यहाँ छउन्जेल त्यो जग्गामा आँखै नलगा भन्छन् । धम्क्याउँछन्÷थर्काउँछन् । न्यायको खोजीमा दर्जनाँैपटक नगरपालिका धाएँ । स्थानीय नेतालाई गुहारें । तैपनि, यो चेलीको आँसु अरूका लागि हाँसोको माध्यम बनिरहेको छ । शहरका तारे होटलमा महिला हिंसाविरुद्धको अभियान चल्छ । तर, मजस्ता महिला आफ्नै घरको सासूबाट अपहेलना र बुहार्तन खेपिरहेको छु । कुनै दूरदराजमा होइन राजधानी छिर्ने नाकामा हरेक दिन पिटिन्छु, चुटिन्छु । मेरो घरपरिवारले हेँला र टोकसो गरेको थाहा पाएर दिदीले गरिखा भनी एक टुक्रा जग्गा दिएकी थिइन् । त्यही जग्गामा पनि गाउँपालिकाका सचिवले गिद्धे दृष्टि लगाए । धेरै हाकिमहरूको कार्यकक्षमा पुगेर पीडा पोखे्र, आँशु बहाएँ, धेरै नेताहरूलाई नमस्कार टक्र्याएँ । तैपनि, मेरो पीडा कसैले सुन्दैन । कसैले सुन्यो भने उल्टै उडाउँछन् । एक्लै छु, नितान्त एक्लै । कसैले साथ दिँदैन । कहाँ जाऊँ न्याय खोज्न ?

भन्छन्, सासू भनेको आमासमान हुन् तर उनको ज्यादती भनिसाध्य छैन । कुट्न आउने, झम्टन आउने, भाँडाकुँडा फालिदिने दैनिकी नै भएको छ । उनीहरूको नाममा भएको पुख्र्यौली सम्पत्तिसमेत अंशबापत मैले पाउन सकेको छैन । यो सम्पत्ति सासू र देवरले आफ्नो नाममा गरेका छन् । ठूलाबडाका लागि मुद्दा लडिदिने धेरै वकिल भेटिन्छन् तर हाम्रालागि बोलिदिने कोही भेटिँदैन । लोग्ने उस्तो हुन् वा केटी मान्छे नै उस्तो । १४ वर्षसम्म सेनामा जागिर खाए । छाउनीस्थित ब्यारेकमा कार्यरत थिए । जब शान्ति सेनामा नाम निस्किएको थियो । सोही समयमा जागिर छाडे । यसरी जागिर छाड्नुको कारण त्यही कान्छी श्रीमती । उनले सबै चिज छाड्न सके बुवा आमा, आफ्ना दुई सन्तान । जग्गा जमिन, जागिर । त्यही एउटा स्त्रीका लागि । बाबुआमाको झगडाले छोराहरूको पढाइ बिग्रियो । उनीहरूलाई एलआरआई स्कुलमा राखेर पढाउन सक्ने हैसियत थिएन । त्यहाँबाट निकालेर कंकाली सरकारी स्कुलमा पढाउन थालें । त्यहींबाट दुई जना छोराले एसएलसीसम्मको अध्ययन पूरा गरी हाल प्लस टुमा पढ्दै छन् । यद्यपि, सम्पत्तिको नाममा केही चिज पाउन सकेको छैन । धनाढ्य र अकुत सम्पत्ति आर्जन गरेका भ्रष्टहरूको जस्तै म पीडित महिलाको पक्षमा वकालत गर्ने कोही श्रीमान् किन भेटिँदैनन् ?

– प्रमिला शर्मा

टिप्पणीहरू