गायक ठूलो कि प्रोड्युसर ?

गायक ठूलो कि प्रोड्युसर ?

अहिले सांगीतिक क्षेत्रका दुई हस्ती झापाली र स्याङ्जालीबीचको लडाइँले यो प्रश्न जोडतोडका साथ उठेको छ । महिनौँदेखि चलिरहेको द्वन्द्वबीचको लडाइँमा पेशागत संगठनचाहिँ झापालीको पक्षमा उभिएको छ ।

चार महिनादेखि विन्ध्यवासिनी म्युजिक कम्पनीका मालिक सुवास रेग्मी र गायक प्रमोद खरेलबीचको लफडामा पेशागत संगठन (प्रस्तोता समाज नेपाल) गायक प्रमोद खरेलको पक्षमा खडा भएको हो । प्रणय नामक एल्बमको १२ वर्षअघिको लफडा निकालेर सुवासले प्रमोदसँग एक करोड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेपछि सम्बन्धमा चिसोपना आएको थियो । विन्ध्यवासिनी म्युजिक र प्रमोद खरेलबीच प्रतिलिपि अधिकारको विषयमा लफडा चल्न थालेको लकडाउनपछि हो ।

सो एल्बममा याद गर्न पनि त कोही न कोही चाहिँदो रहेछ बोलको गीत चर्चित मात्र भएन, त्यही गीतको आडमा प्रमोदले करोडौं उठाएर खाएको तर लगानीकर्ताले केही नपाएको सुवासको आरोप छ । सुवासले केही अघि प्रमोदसँग करोडौं मागदाबी गर्दै प्रतिलिपि रजिष्ट्रारको कार्यालयमा उजुरी दर्ज गरेका थिए । प्रमोदले बिनाअनुमति आफूले तयार पारेको गीत÷संगीत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेजमा प्रयोग गरिरहेको सुवासहरूको चार्ज थियो । सोही विषयमा प्रस्तोता समाज प्रमोदकै पक्षमा उभिएको हो ।

प्रस्तोता समाजको बैठकले प्रतिलिपि अधिकार गायकमा रहने निर्णय गरेको छ । अध्यक्ष शिव हमालका अनुसार विन्ध्यबासिनी म्युजिकसँग चार लाख १० हजार रुपैयाँ ८ वटा गीत निर्माणका क्रममा लिए पनि प्रतिलिपि अधिकार दोस्रो पक्ष (प्रस्तोता) प्रमोदसँग रहेको सम्झौतापत्रको प्रकरण नं.४,५,६ र ७ नम्बर बुँदामा उल्लेख छ ।

यता, शिव हमालले नेतृत्व गरेको प्रस्तोता समाज गायक प्रमोद खरेलकै पक्षमा उभिएपछि विन्ध्यबासिनी म्युजिक कम्पनीका साहु सुवासले फैसला एक पाखे भएको भन्दै टिप्पणी गर्न भ्याएका छन्– बुद्धिबुंगो रोइलो गरेर जग हँसाउने काम नगर केटा हो । उनले लगानीकर्ता ठूलो कि गायक भन्ने प्रश्न तेस्र्याएका छन् ?

टिप्पणीहरू