भगवानको भजन गाउँदै, पत्नी बटुल्दै

भगवानको भजन गाउँदै, पत्नी बटुल्दै

भारतका ६५ बर्षीय भजन सम्राट अनुप जलोटाले हालै चौथो बिबाह गरेका छन् । ३७ वर्ष कान्छी ‘गर्लफ्रेण्ड’ लाई औपचारिक रूपमा  घर भित्र्याएपछि अनुप फेरि चर्चामा आएका हुन् । नेपालसङ्ग सिमाना जोडिएको उत्तराखण्ड राज्यको नैनितालमा जन्मेका अनुपको पहिलो बिबाह गुजराती युवती सोनालीसँग भएको थियो । उनले त्यतिबेला पनि परिवारको असहमतिका बावजुद आफ्नै भजन शिष्यसँग लगनगाँठो कसेका थिए ।

बिबाहको केही समयपछि नै उनीहरुबीच सम्बन्धविच्छेद भयो र दोस्रो विवाहचाँहि पारिवारिक सहमतिमा ‘अरेञ्ज म्यारिज’ रहेको बताइन्छ । दोस्री श्रीमती विना भाटिया थिइन् । भाटियासँगको वैवाहिक सम्बन्ध पनि लामो समयसम्म टिक्न सकेन । त्यसपछि तेस्री श्रीमतीको रुपमा भारतका भूतपूर्व प्रधानमन्त्री आईके गुजरालकी भतिजी तथा शेखर कपुरकी पहिलो श्रीमती मेघा गुजरालसँग बिहे गरे । मेघाको तर्फबाट अनुपका एक छोरा छन् ।

छ वर्षअघि मिर्गौला बिग्रेर मेघाको निधन भयो । तेस्री श्रीमतीको निधनपश्चात् केही महिनाअघि उनले चौथो श्रीमतीको रुपमा २८ बर्षकी जस्लिन मथारुलाई भित्र्याएका छन् । दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुको गोप्यताको रहस्य स्वयम् जस्लिनले भारतीय टेलिभिजन कार्यक्रम बिग बोसमार्फत् खुलासा गरेकी थिइन् ।

हजारौं गीत, भजन र गजल गाएका अनुपले आफ्नो करियर अल इण्डिया रेडियोबाट शुरु गरेका थिए । अनुपको पछिल्लो बिबाहपछि एकजना भारतीय फ्यानले सामाजिक सञ्जालमा लेखेका छन् ‘भगवानके भजन गाया करो, इसमेँ बहुत ताकत होती है ।’

टिप्पणीहरू