मिलिजुली गरौं संविधानको दाहसंस्कार ! « janaaastha.com
२ माघ २०७७, शुक्रबार

मिलिजुली गरौं संविधानको दाहसंस्कार !



जयप्रकाशप्रसाद गुप्ता

पौष २७ गते “राष्ट्रिय एकता दिवस” को धुमधाम छ। त्यसदिन काठमाण्डुतिर ठूलै दुन्दुभी बज्ने छ। यसको कुनै दु:ख छैन।

संविधान त खतम भयो नै ! ऊ बेला “गोरू ब्याउँदैन” भन्ने कुरा हामीलाई लखेटी लखेटी लाश बनाइँदा पनि भनेकै हौं । अब यो संविधान हरामी हुँदा हामी किन रूनु ! सधैं संविधान मरोस् भनी कामना गर्ने “जसपा बहादुर” हरू अहिले यसको पुनर्जीवनको बेहुदा नाटक मन्चन गर्दैछन् । यो निष्ठाविहीन नाटकमा “कालोवर्ण” ले किन आत्मरति गर्नु?

पृथ्वीनारायण शाह इतिहासका आदरणीय पात्र हुन् । यिनलाई प्रतिगमनको मुखुण्डो किन बनाउने? ज्ञानेन्द्र शाह पन्चायतको बत्तिस बर्ष र आफ्नो अधिनायकत्वको दुई बर्ष भित्र भए-गरिएका जनहत्या तथा नागरिक हक अपहरणको जिम्मेवारी लिन तयार छैनन् । वर्तमान शासकीय बेथितिको तुवाँलोमा राष्ट्रवादी जलप चम्काउन चाहन्छन् । पटकपटक भारत पुगेर योगी आदित्यनाथ जस्ता पाखण्डीहरू र त्यहाँ आठ दशकअघि “राज्य र प्रिभिपर्स” गुमाएका पूर्व सामन्तीहरूकोमा आशिर्वाद थाप्दै नेपालमा कुन जनपक्षीय शासन जन्माउन चाहन्छन्-भन्न सक्छन् जनतालाई ?

दिन सक्छन् उनले सोचेको शासकीय संरचनाको स्वरूप ? त्यसमा उनी कहाँ हुनेछन् र दलहरू कहाँ हुनेछन् ! बत्तिस बर्षसम्म दाह्रा नंग्रा भएको राजतन्त्र थियो र राज्यपोषित धर्मान्ध शासन पनि थियो। नारायणहिटी फोड्नका लागि जनता उम्लिंदा किन स्पष्टिकरण दिन सकेनन् ? यदि भारतले नै राजा फालेको हो भने डा. कर्ण सिंहले राजा र संसदको “टु पिलर” प्रस्ताव “साउथ ब्लक” बाट ल्याएका थिए कि शंकराचार्यको कांचिकामाकोटी पीठबाट? त्यस बेला सात दलका नेताहरूले डा. कर्ण सिंहको प्रस्ताव मानेको भए तिनीहरूले सबै २०४७ सालमा टेकुमा कुटीकुटी मारिएका ८/९ जना प्रहरीको हविगत भोग्नुपर्ने थिएन ? के गिरिजाप्रसाद कोइरालासमेत सबै सामुहिक सँहारको अपहरणमा पर्ने थिएनन् ? अहिलेका बिभ्रमित जनता त्यसबेला शक्तिहीन थिए ?

यसर्थ,पूर्व राजा तथा उनको पक्षपोषण गर्ने सबैले भावी राजनीतिक संरचनाको खाकाका साथ,शासकीय संरचनाको चरित्रका साथ आए हुन्छ। पृथ्वीनारायण शाहलाई आन्दोलनको झण्डा बनाइनु हुन्न । बरु सके विवादबाट अक्षुण्ण राख्दा हुन्छ।

म फेरि पनि भन्छु-यो संविधान समाप्त भयो । अब यसको रक्षा हुन सक्दैन। म यस संविधानको रक्षा गर्छु भन्नेहरू इतिहासमा बाराणसी वा काशीका ती पण्डा सरह हुन्-जो दालमण्डीमा रण्डीसंग देहसुख भोग्दथे र बिश्वनाथको दर्शन गरेर घर पुग्दथे । त्यो नृशंस पाखण्ड थियो।

संसद विघटनपछि मुलुकमा केही नयाँ विमर्श जन्मेको छ। के अब संविधान पूर्वरूपमा कायम रहन सक्छ ? के अब यस संविधानको संवैधानिक शक्ति वा कौमार्य जोगिन सक्छ? के यस संविधानको फेससेभका लागि संघीयताको समाप्तीलाई स्केपगोट बनाइँदैछ ? आज राष्ट्रवाद थिलथिलो पारिएको अवस्थामा मुलुकका राष्ट्रवादी अभियन्ताहरूले भावी सरकारको निर्माणमा खुला बैदेशिक दखलअन्दाजीलाई रोक्न सक्ने हैसियत राख्दछन् ? के आजको थुतुनोबाट मधेस,आदिवासी जनजाति,दलित तथा अन्य बहिष्कृतहरूले आफ्नो आवाज पनि निकाल्न सक्नेछन् ? यद्यपि,यसका लेखनबाज जवाफको बावजुद पनि यो संविधान जोगिने छैन।

तसर्थ,समय रहदै सोचौं! चार प्रश्नको जवाफ विचारी राखौँ :

१) संविधान समाप्तिको विधिसम्मत बाटो के हुने हो?
२) अब फेरि नयाँ संविधान बन्ने बाटो कुन हुने हो?
३) कुन शासकीय संरचनामा सहमति बन्नेछ/हुनेछ ? र,
४) संघीयता समाप्त पारेपछि स्टेक होल्डरहरूलाई मथ्थर पार्न सत्ताबाट पुन: दमनकै पुनरावृत्ति गर्ने कि कुनै अरू बाटो छ?

अनि गर्नोस्-संविधानको दाह संस्कार!!
(पूर्व मन्त्री,मधेशका प्रखर बुध्दिजीवी)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

समन्वय प्रमुख रंगेहात पक्राउ
अदालतलाई हेपेको कि जालझेल गरेको ?
प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा संवैधानिक इजलासले नै हेर्ने
जमलमा विघटनविरुद्ध सबै जुटे