प्रधानमन्त्रीको पक्षमा साइबर सेना गठन

प्रधानमन्त्रीको पक्षमा साइबर सेना गठन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आएको फुटले प्रधानमन्त्री केपी ओली पक्षका कार्यकर्तालाई फाइदा नै फाइदा हुने भएको छ । संसद विघटनपछि विभाजनमा पुगेको नेकपाका दुवै पक्ष यतिबेला आफ्नो शक्ति सुदृढ बनाउन जुटेका छन् । प्रचण्ड—नेपाल पक्षभन्दा रक्षात्मक देखिएको ओली पक्षले नेता—कार्यकर्ता तान्न जम्बो केन्द्रीय कमिटी बनाएको थियो ।

सरकारमा भ्एकाले ओली पक्षसंग अहिले अफरै अफर छ । संघमा मन्त्रीको अफर,प्रदेशमा मुख्यमन्त्री र मन्त्रीको अफर,केन्द्रीय सदस्यको अफर । यो समूहले पद बाँड्ने दायरा केन्द्र र प्रदेशमा मात्र सीमित बनाएको छैन ।

अफरै अफरको चांग लिएर बसेको सो समूहले साइबर सेना बनाउनेलाई प्रदेश कमिटीमा मनोनयन पनि गरेको छ । साइबर सेना बनाएर सरकार विरोधीलाई तह लगाउने घोषित अभियानमा लागेको सो समूहले ‘क. केपी ओली समर्थक साइबर सेना’ नामको प्रम समर्थक ग्रुप बनाएर अभियान छेडेको छ ।

उक्त ग्रुपमा साइबर सेना बन्न चाहिने योग्यता र शर्तहरु पनि राखिएको छ । सरकारविरोधी पोष्टहरु गर्न नपाउने, कम्तिमा ५०० जना आफ्ना साथीलाई ग्रुपमा जोड्नुपर्ने जस्ता शर्त राखिएको छ।

ग्रुपमा गरिएको एउटा पोष्टमा भनिएको छ,‘यस ग्रुपका एडमिन क. तीर्थ भट्टराईज्यू नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको चौंथो बैठकबाट प्रदेश कमिटी सदस्यमा मनोनित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।’यो समूहमा अहिले ७.५ के अर्थात ७५ हजार जना जोडिइसकेका छन् ।

टिप्पणीहरू