सपना देखाएकै हो, यसो नगरेको भए हुन्थ्यो

सपना देखाएकै हो, यसो नगरेको भए हुन्थ्यो

तीन वर्षअघि झण्डै दुई तिहाई बहुमतको शक्तिशाली कम्युनिष्ट प्रधानमन्त्री बनेपछि केपी शर्मा ओलीले राष्ट्रसंघलाई संबोधन गर्ने क्रममा राख्नुभएका तथ्यले अरु देशका नेतालाई पनि सोच्न बाध्य पार्‍यो । त्यसैगरी, देश र जनतालाई निरन्तर देखाउनुभएको नयाँ सपनाले पनि सबैलाई तरङ्गित बनाएकै हो । पानीजहाजदेखि रेल्वेसम्मको सपनाले भूपरिवेष्ठित र विकट पहाडी भूभागका जनतालाई अर्कै ढंगले तरंगित र रोमाञ्चक बनाइदिएको थियो । टनेल,फाष्ट ट्रयाक र फराकिला सडकदेखि सबै कुरामा जागृत सपना देखाउँदै नेपाली समाजको यथास्थिति विकासको योजनालाई पनि क्रमभंग गर्नुभएकै हो ।

पाँच वर्षअघिको भूकम्पताका विपक्षमा रहेपनि तत्कालीन एमाले कार्यकर्ता परिचालनमा ओलीले राम्रै अग्रसरता लिनुभएको थियो । त्यसले एमालेको उचाई बढाउने काम गर्‍यो । एमाले कार्यकर्ताले गरेको अतुलनीय मानवीय सहयोगले भूकम्प पीडितको मन साँच्चिकै जितेको थियो । अहिले नेपाल राष्ट्र बैंकमा वरिष्ठ डेपुटी गभर्नर रहेका चिन्तामणि सिवाकोटी पार्टी निर्देशनअनुसार खटिँदा ठूलो दुर्घटनामा पर्नुभएको थियो । उद्धारको लागि स्वयम्भू नजिकै भूकम्पले थिलथिलो भएको घरको छानोमा सिवाकोटी उक्लिँदा छानो गर्लम्म झरेको थियो । छानोसहित झरेका उहाँलाई धन्न ठूलो चोट लागेन । त्यस्तो दुर्घटना मुलुकका धेरै ठाउँमा एमाले कार्यकर्ताले भोगेका छन् ।
मन्त्री रहिसकेका लालबाबु पण्डित पनि त्यसैगरी उद्धार र राहतमा दिनरात खट्नुभयो । निर्वाचनपछि एमालेमा माओवादी मिसियो । उसका वाईसीएललगायत जनवर्गीय संगठनहरु पनि एकीकरणपछि समाहित भए भनियो तर दश महिनादेखि व्याप्त विश्वव्यापी कोभिड–१९ महामारीमा विगतमा एमालेझैँ नेकपा परिचालन भएको देखिएन । सरकार र स्थानीय तहका वडालाई देखाइयो । तर पार्टी पंक्तिलाई खट्न भूकम्पमा जस्तो कतै निर्देशन पनि भएन, कार्यकर्ता परिचालन भएको समेत देखिएन ।

नेपाली जनता अशिक्षित छन् । तिनलाई नयाँ रोग र महामारीको बारेमा बुझाउने काम पार्टीले गर्नुपर्छ भनेर कहिँ कतै छिसिक्कसमेत गरेको देखिएन । कम्तिमा माइकिङ्ग र मास्क वितरण गरेर भएपनि जनताप्रति उत्तरदायी बनेको सन्देश दिनुपर्नेमा माखो मारेको पाइएन । प्रधानमन्त्री ओलीले सयौंदेखिको अकण्टक भित्रिया सम्बन्धलाई चिर्दै भारतले लगाएको नाकाबन्दीमा लिनुभएको अडान राष्ट्रहितको लागि दूरगामी महत्वपूर्ण थियो ।

हुन त बालुवाटारले कोटेश्वरलाई सबैभन्दा बढी दपेटैको हो, त्यसमा शंका छैन । सत्ताले वामपन्थी विचार राख्ने र जनताको भावना मुखरित गर्ने जो कोहिलाई राणाकालदेखि नै खेद्ने र पेल्ने गरेको नेपालको राजनीतिक इतिहासमा ध्रुवसत्य हो । तर,हालै बबरमहलस्थित एउटा ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनमा बलिदान गरेका सहीदहरुलाई स्मरण गरेको मात्र भन्नुले त्यसअघिका वामपन्थी र अन्य राजनीतिक सहीदको अपमान भएन र ? त्यसबारेमा नबोल्दा वामपन्थी घेरालाई साँघुरो बनाइएको पो हो कि भन्ने भान धेरैलाई परेको छ । नेपालमा सत्ताधारीहरुले वामपन्थीहरुलाई २००६ सालदेखि नै सहीद बनाउने क्रम शुरु गरेको सत्य हो ।

उता,गृहमन्त्री बादलले बालुवाटारमा सरकारी सुरक्षा घेराभित्र बसेर ठोकेको भाषण दुई दशकअघि रोल्पामा जनसेनाको बीचमा रहेर गरेकोभन्दा कम थिएन । अढाई दशकदेखि अत्यधिक लोकतान्त्रिक पद्धतिबाट आएको एमाले र अझैसम्म जनयुद्धको धङधङी बोकेको माओवादीका नेताहरु जताको ग्रुपमा बसे पनि पुरानो बानी हटेको चाँहि देखिएन है ?

– नेकपामा आएको फुटपछि विरक्तिएको एमाले कार्यकर्ता

टिप्पणीहरू